Thursday, August 11, 2016

सबै दलको सहमतिमा मात्र संविधान संशोधन : सभामुख

सभामुख ओनसरी घर्तीमगरले नयाँ संविधानलाई पूर्ण लागू गराउन मुलुकका सबै दलहरुबीच आपसी सहकार्य हुनु आवश्यक भएको बताएकी छन् । आफ्नो गृह जिल्ला रोल्पा आएकी घर्तीमगरले सत्ता सञ्चालनका बेला पक्ष र विपक्षमा विभाजित भएपनि संविधान काार्यान्वयन गराउनमा सबैको सहमति र एकता आवश्यक भएको बताइन् । परिवर्तनलाई संस्थागत बनाउन र संविधान कार्यान्वयन गराउन सबै पक्ष सहमतिमा आउनुपर्नेमा उनले जोड दिइन् ।
सभामुख घर्तीले रोल्पामा बिहीबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा आयोजित एक कार्यक्रममा मुलुकका सबै दलहरुलाई संविधान कार्यान्वयन गर्न र परिवर्तनलाई जोगाउन गम्भीर हुन आग्रह गरिन् । ‘सबै दलहरुको सहमतिमा मात्र संविधान संशोधन गर्न सकिन्छ । संविधान संशोधन गरेर मात्र सबै पक्षका असहमति र असन्तुष्टिलाई न्यून गर्न सकिन्छ,’ सभामुख घर्तीमगरले भनिन् ।
पछिल्लोपटकको सत्ता फेरबदलका सम्बन्धप्रति संकेत गर्दै सभामुख दलहरुलाई सत्ता परिवर्तनको खेलमा मात्र नलाग्न सर्वसाधारणले गुनासो व्यक्त गरेको पाइएको बताइन् । असहमतिका बुँदामा संविधान संशोधन गर्न सकिने बताउँदै उनले भनिन्, ‘एकै पटक फुमनतर गरे जस्तो हुँदैन । सबै दलहरुलाई गम्भीर हुन मैले आव्हान गरिसकेकी छु ।’
उनले विकास निर्माणका सवाललाई समेत विशेष प्राथमिकता दिने सोचाई रहेको बताइन् । रोल्पा घर र निर्वाचन क्षेत्र समेत भएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा अर्थमन्त्री भएकाले जिल्लाको विकास निर्माणमा विशेष पहल हुने विश्वास रहेको उनले बताइन् ।
‘रोल्पाको विकास गर्ने यो दोस्रो अवसर हो । पहिले पनि वर्षमान पुन अर्थमन्त्री भएका बेला यहाँका विकास योजनालाई प्राथमिकता दिइएको थियो । अहिले पनि प्राथमिकता पाउँछन्,’ रोल्पा २ बाट निर्वाचित सभामुख घर्तीमगरले भनिन् । पूर्व अर्थमन्त्री पुन सभामुख घर्तीमगरका श्रीमान हुन् । पुन एमाओवादीका पूर्व सचिव समेत हुन् । यसैबीच जलजला बहुमुखी क्याम्पसले पहिलोपटक महिला सभामुख भएको खुशियालीमा सभामुख ओनसरी घर्तीमगरलाई सम्मान गरेको छ । क्याम्पसले आर्थिक सहयोग गर्न एवं व्यवस्थित उनलाई ज्ञापन पत्र समेत बुझाएको छ ।सभामुख घर्तीमगर जिविसले आयोजना गरेको स्थानीय निकाय पुन:संरचना गर्ने बैठकमा भाग लिन अघिल्लो दिन रोल्पामा आएकी थिइन् । उक्त कार्यक्रममै आएका सांसद एवं एमाले संसदीय दलका सचेतक गोकुल घर्तीमगर समेतले स्थानीय निकायको पुन:संरचना र रोल्पाको विकास निर्माणका सवालमा बोलेका थिए ।

No comments:

Post a Comment