Wednesday, August 24, 2016
किन जानकी मन्दिरलाई बनाइदै छ कुरुप
प्राचीन मिथिलाको राजधानीको रुपमा रहेको जनकपुरको प्रसिद्ध जानकी मन्दिर अहिले जथाभावि पोस्टर र होर्डिंग बोर्डको कारणले कुरुप देखिन थालेको छ।
मन्दिरको प्रांगणमा जथाभावि रुपमा टासिने गरिएको पोष्टरको कारणले मन्दिर नै कुरुप देखिने गरिएको छ। कतिपय सिनेमा हलका संचालकहरुले समेत मन्दिरको परिसर परिवरि टासिने गरिएको पोष्टको कारणले गर्दा समेत मन्दिर कुरुप बन्ने गरिएको छ। सार्वजनिक स्थानहरुमा कुनैपनि पोेष्ट टासिनेमा रोक लगाइएको भएपनि तर त्यसलाई लत्याउदै जानकी मन्दिरको वरिपरि जथभावि रुपमा पोष्टहरु टासिने गरिएको छ। मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेको सो मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको छ ।
सो मन्दिरमा बेलाबेलामा पुरातात्विक किसिमले रङरोगन नगरिँदा मन्दिरको चारैतिर विभिन्न रङका रङ्गीचङ्गी कला नष्ट हुने अवस्थामा पुगेको छ भने मन्दिरमा प्रयोग भएको सुर्खी र इँटालाई पनि प्रभावित गरेको छ । पुरातात्विक परामर्श्बिना रङरोगनले यसको विलक्षणतालाई नै समाप्त हुने स्थिति आउन सकिने देखिएको छ । सो मन्दिरमा वास्तुकलाकारिताको विलक्षण नमुना रहेको छ । टाढाबाट हेर्दा मन्दिरै मन्दिरको सङ्गालो जस्तो देखिने सो मन्दिर परिसरमा साठी वटा कोठा रहेका छन् ।
सोमध्ये अधिकांश कोठाका पर्खाल कालो भइसकेको छ भने मन्दिर बाहिर आधुनिक किसिमले विश्राम कक्ष निर्माण गराई यसको प्राचीन स्वरूपलाई कुरुप बनाइएको छ । भगवान् रामकी अर्धा्ङ्गिनी सीताको सम्झनामा बनाइएको सो मन्दिरको सुन्दरता र भव्यता आफैँमा विशिष्ट रहेको छ । कसै–कसैले यसलाई भारतको ताजमहलसँग तुलना गरेर पनि हेर्ने गरेका छन् । सो मन्दिरमा मुगल, राजपुताना, मैथिल र हिन्दू शैलीको प्रभाव रहेको छ ।
मिथिला स्वयम् नै मन्दिररूपी पवित्र विशाल घर हो, जुन माटोमा माता जानकी उत्पन्न हुनु, यहाँको माटोको कणकणमा जानकीले लडीबुडी गरी बालक्रीडा गर्नु, भगवान् राम यहाँ आई शिवधनुष भङ्ग गर्नु वैदिककालदेखि नै मिथिलालाई दर्शनीयस्थल बनाएको प्रसङ्गलाई जीवन्त तुल्याउने मौलिक सम्पदाका रूपमा सो मन्दिर प्रख्यात रहेको छ ।
सो मन्दिरको निर्माणमा ब्रिटिस महारानी भिक्टोरियाको चाँदीका सिक्काहरू खर्च भएको थियो, जसको लागत रु नौ लाखभन्दा अधिक थियो । त्यसैले यस मन्दिरलाई नौलाखा पनि भनिन्छ । हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवन, इमारतलाई सबभन्दा उत्तम दर्जाको एकाइमा भन्नुपर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरेकाले पनि नौ लाखा भनिएको हुनसक्ने संस्कृतिविद् डा रेवतीरमण लाल बताउछन् ।
उनका अनुसार अद्भूत र आकर्षक मन्दिरको राज्यले इमान्दारीपूर्वक संरक्षण नगरेका कारण मन्दिरका जग्गा र बहुमूल्य गरगहनाको अवस्था अज्ञात रहेको छ । संरक्षणको अभावका कारण मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि पत्थरको बनेका सिंहका मूर्तिको हीराजडित आँखा चोरिएको बताइन्छ । मन्दिरको करोडौँ मूल्यको गरगहना संरक्षणका नाममा सरकारले लगेको वर्षौं भइसकेको र ताकेता गर्दा आशाजनक उत्तर नआएको महन्त रामतपेश्वर दास बताउछन् । गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ मन्दिरको वरिपरि मन्दिरभन्दा पनि अग्लो भवन बनाउने कार्य तीव्र भइरहेकाले मन्दिरको अस्तित्व सङ्कटमा परेको छ भन्छन् ।जानकी मन्दिर ५० फिट अग्लो भएको तथ्यलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले सो क्षेत्रमा ३२ फिटभन्दा अग्लो भवन बनाउन नहुने प्रावधान राखेको छ तर सो प्रावधानलाई बेवास्ता गर्दै सो क्षेत्रमा निजी भवन, होटल र विद्यालय निर्माण भइरहेको छ । संस्कृतिविद् रामभरोस कापडी भ्रमर जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन भोर नामक संस्थाले ५५ हजार हस्ताक्षर सङ्लित गरी अभियान सञ्चालन गरेको अवस्थामा यसको संरक्षणमा सबैको ध्यान जानु आवश्यक भएको खाँचो औँल्याउछन् ।
सो मन्दिरको साविक ५ सय ९८ बिगाहा १० कट्ठा ४ धुर जग्गामध्ये गुठी अधीनस्थ २४ बिगाहा १४ कट्ठा, गुठी रैतान नम्बरी ३ सय ७३ बिगाहा ८ कट्ठा ८ धुर र गुठी तैनाथी ९८ बिगाहा १९ कट्ठा १० धुर गरी ४ सय ७२ बिगाहा १६ कट्ठा जग्गा गुठीमा दर्ता रहेकामा अधिकांश जग्गा भू–माफियामार्फत बिक्री भइसकेको बताइन्छ । प्राध्यापक डा. पशुपतिनाथ झा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक भएको १० वटै आधार जानकी मन्दिरमा विद्यमान रहेकाले नौ लाखा धरोहरलाई जोगाउन जागरूकताको आवश्यकता रहेको धारणा राख्छन् । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ ्र सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधिअनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन(भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् । प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमा रहेको छ जानकीधाम ।
धनुषाको जनकपुर नगरपालिकाभित्र मात्रै १४ वटा राजगुठीहरु छन् । जानकी मन्दिर, सीताकुण्ड र वीरपुर गुठी भने छुटगुठी अन्तरगत राखिएका छन् । यहाँका सबै गुठीहरु अतिक्रमणमा परेका छन् । प्रशिद्ध जानकी मन्दिरको जमीनमा सबैभन्दा बढी अतिक्रमण भएको छ ।
जनकपुर नगरपालिका क्षेत्रको गुठीको जमीनमा कतिसम्म अतिक्रमण भएको छ भने राममन्दिरको साविक २ हजार ८ सय ६७ विगाहा जग्गामध्ये २५ सय विगाहा अतिक्रमणमा परिसकेको छ ।
जानकी मन्दिरको ६ सय विगाहमध्ये ५ सय ३० विगाह, लक्ष्मण मन्दिरको ४ सय १० विगाहामध्ये ३ सय ९० विगाहा र रत्नसागरको ६५ विगाहामध्ये ४२ विगाहा जमीन अतिक्रमणमा परेको छ ।
त्यस्तै कुवा मठको ४ सय ८५ विगाहामध्ये ४ सय ६० विगाहा र हनुमान मठको १ सय ४३ विगाहा मध्ये १ सय ३० विगाहा जमीन अतिक्रमणमा परेको छ ।
जनकपुरधाममा ७२ तलाउ, १५ कूप (कुवा), १५ शिवालय, २४ देवीपीठ, ५ उपवन, २६ ऋषि आश्रम बनेको तथ्यांकमा देखिन्छ । तर, ती मठमन्दिर, कुटी, सरोवर र कुण्ड आदि अतिक्रमणमा परेर लोपोन्मुख छन् ।
रामानन्द सम्प्रदायका उन्नायक सन्त रामानन्दको गुठी जमीनसमेत भूमाफियाको हातबाट बेचिइसकेको छ । वैष्णव सन्त रामानन्दका नाममा अहिले सार्वजनिक चोकमात्रै बाँकी छ ।
जानकी माताका लागि बनेको पवित्रतम् पयश्विनी सर (पोखरी) मासेर निरन्जन साहले मानकी होटल खडा गरेका छन् ।
पवित्र जनक सरोवरलाई वकिल टोलका वासिन्दाले लोप गराइसकेका छन् ।
अमृतकुण्ड, बलदेवसर र गोपालसरलगायतको जमीन व्यापारीहरुले कब्जा गरेर मांस मदिरा बेच्ने बजार बनाएका छन् ।त्यस्तै जनकपुरका प्रशिद्ध तैलघृतिकासर, मण्डनसर, चन्द्रकुप, रामसागर, मुरली(सर, पादप्रक्षालन (गोडधोई)सर, पुरन्दरसर, पाकवतीसर, दीर्घिकासर, लक्ष्मणसर, सेवामन्तकसर, धूतपापसर, सीताकुण्ड, पापमोचनीसर आदिले पनि निरन्तर अतिक्रमण झेल्दैछन् ।मन्दिरको संरक्षणका लागि धनुषा र महोत्तरी जिल्लामा विभिन्न २३ गुठी खडा भई ६ हजार विगाहाभन्दा बढी जमीनको देवगुठी स्थापित भएको थियो । यी गुठीको ५ हजार विगाहा भन्दा बढी जमिन व्यक्तिको भोगचलनमा पुगिसकेको छ ।वि.सं. १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम–जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै छ ।
जनकपुरको धार्मिक सम्पाद मध्ये एक रहेको जनकपुरको प्रसिद्ध जानकी मन्दिरलाई कुरुप बनाउनेहरुमाथि स्थानिय प्रशासनले कारवाही गर्नुपर्ने आवश्यकता रहेको छ ।मन्दिरको अवस्था देखेर बाहिरबाट आउने गरिएको पर्यटकहरुले समेत आफनो नाक खुम्चयाउने गरेका छन।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment