Monday, August 22, 2016

सप्तरीमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण

सप्तरी जिल्लामा पछिल्लो समय जापानिज इन्सेफ्लाइटिसको संक्रमण फैलिएको छ । सदरमुकाम राजविराज नगरपालिका सहित केही गाविसमा यसको संक्रमण फैलिएको हो । जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण आइतबार साझ राजविराजका एक १५ वर्षीय बालकको मृत्यु भएको छ ।
१५ दिन अघि जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट पीडित भएका राजविराज नगरपालिका-९ का १५ वर्षीय निश्चल देबको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ जन स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । झाका अनुसार १५ दिन अघि जापानिज इन्सेफ्लाइटिसको संक्रमणपछि ज्वरोले थलिएका बालक देबलाई विराटनगर हुँदै थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । ८ कक्षामा अध्ययनरत बालक देबलाई जापानिज इन्सेफ्लाइटिस भएको धरानमै पुष्टि भएको र उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको झाले जानकारी दिए । उपचारका क्रममा गम्भीर भएका उनलाई भेन्टिलेटरमा राखिएपनि बचाउन नसकिएको उनले जनाए ।
सुगुर,बंगुर,हास लगायतका जलचरमा पाइने यसका भाइरस लामखुट्टेका माध्यमबाट मानिसमा सर्ने गरेको उनले बताए । वर्षैदेखि राजविराज सहित जिल्लाका ग्रामीण क्षेत्रमा लामखुट्टे मार्ने औषधि छर्किइएको छैन भने सदरमुकाममै सुगुरको नियन्त्रण हुन सकेको छैन । जापानिज इन्सेफ्लाइटिसका कारण बालकको मृत्यु भएपछि थप कहाँ-कहाँ र क-कसलाई उक्त भाइरसको संक्रमण भएको हो भन्ने विषयमा जानकारी लिने कार्य भईरहेको जनस्वास्थ्य प्रशासक झाले बताए ।
ज्वरो लगायतका समस्या हुने बितिकै उपचारका लागि विराटनगर र धरान जाने गरेका कारण यस किसिमका गम्भिर रोगको संक्रमणबारे आफूहरु कहाँ जानकारी नआउने गरेको उनले बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेब गौतमले सुगुरबाट मुख्य रुपमा जापानिज इन्सेफ्लाइटिसको भाइरस सर्ने भएकोले सुगुर नियन्त्रणका लागि अभियान सञ्चालन गर्न मंगलबार सर्वपक्षीय बैठक राखिएको बताए । ‘राजविराजमा धेरै छाडा सुगुर रहेको जानकारी आएको छ,जापानिज इन्सेफ्लाइटिस सहितका रोगको संक्रमण देखिन थालेको छ,’ प्रजिअ गौतमले भने, ‘जापानिज इन्सेफ्लाइटिसको भाइरस सार्ने सुगुर जसरी पनि नियन्त्रण गर्नुपर्छ, त्यसका लागि मंगलबार बैठक बोलाएका छौं ।’
सदरमुकाम राजविराज नगरपालिकाका सडकमा बिहानदेखि बेलुकासम्म सुगुरकै रजाई रहने गरेको छ । विगतमा पटक-पटक नियन्त्रण गरिने प्रयास थालिएपनि प्रभावकारी हुन सकेको छैन ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले मंगलबार बैठकपछि जिल्लामा जापानिज इन्सेफ्लाइटिसको भाइरसलाई फैलिन नदिन आवश्यक प्रयास थालिने बताए ।

No comments:

Post a Comment