Wednesday, August 17, 2016

नेविसंघको चुनावमा ११ सय मत खस्यो, मतदान जारी

काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन उदघाटन भएको १० औं दिनमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
नेविसंघमा नयाँ नेतृत्व चयनका लागि बुधबार कडा सुरक्षा घेराबीच नेपाली काँग्रेसको मुख्यालयमा मतदान सुरु भएको हो । मतदान विहान ७ बजे सुरु गर्ने पूर्व निर्धारित तालिका रहेकामा उम्मेद्वारको संख्या धेरै भएकाले ती नामलाई विद्युतीय उपकरणमा राख्न समय लागेका कारण अपरान्ह पौने १ बजे मात्र मतदान सुरु भएको हो ।
साँझ साढे ६ बजेसम्म ११ सय मतदाताले मतदान गरिसकेका छन् । निर्वाचन कमिटीले ३ हजारभन्दा बढी मत खस्ने अनुमान गरेको छ । निर्बाचन कमिटीका सदस्य कृष्णप्रसाद पनेरुले जानकारी गराएअनुसार राति १० बजेसम्म लाइनमा आउने प्रतिनिधिले मतदान गर्न पाउनेछन् । आजै मध्यरातसम्म मतदान सकिने र लगत्तै मतगणना सुरु हुने उनले बताए ।
मतदानमा सहभागी विद्यार्थीलाई प्रहरीले कडा सुरक्षा जाँचपछि मात्र मतदानस्थलमा प्रदेश गर्न दिएको छ । मतदान स्थल वरपर सीसी टिभी क्यामराको व्यवस्था गरिएको छ ।
विद्यार्थीको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा कतिपय मतदाता आफ्ना छोराछोरीसहित उपस्थित भएका छन् ।
निर्वाचनमा धेरै मतदाताले भोट दिन सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, खुला केन्द्रीय सदस्य लगायतका पदमा ३२ वटा  विद्युतीय उपकरणमार्फत मतदान गराइएको छ भने थोरै मतदाता रहेका सीटका लागि मतपत्रमार्फत भोट हाल्न लगाइएको छ । मत दिनुपर्ने पद धेरै भएका कारण एउटा मतदातालाई भोट खसाल्न १५ देखि २० मिनेट समय लागेको छ ।
मतदानबाट १ सभापति, ११ उपसभापति, २ महामन्त्री, १२ सहमहामन्त्री र १ जना कोषाध्यक्ष तथा ९६ जना केन्द्रीय सदस्य चुनिनेछन् । मधेसीतर्फका एक सहमहामन्त्री र ५ जना केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।
नेतृत्वमा पुग्नका लागि सभापतिमा ७, उपसभापतिमा ५६, महामन्त्रीमा ५, सहमहामन्त्रीमा ६६, कोषध्यक्षमा ६ र केन्द्रीय सदस्यमा ४ सय ६५ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।

No comments:

Post a Comment