Monday, August 22, 2016

महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि, एक सातामा तीनको मृत्यु

खेतमा काम गर्ने क्रममा बिहीबार बिहान गोमन सर्पले टोक्दा महोत्तरीको एकडारा १ का ५५ वर्षीय हरिनारायण मण्डलको मृत्यु भएको छ। जलेश्वर अस्पताल ल्याइएका मण्डललाई उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। 
 
त्यस्तै घरमै सुतिरहेका अवस्थामा धमौरा १ अध्ययानपुरकी २२ वर्षीया महबुदा खातुनलाई विषालु सर्पले डसेपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । खातुन गर्भवती रहेको बताइएको छ ।
 
त्यस्तै शुक्रबार सर्पको टोकाईबाट बेलगाछी २ की ४५ वर्षिया शान्तिदेवी कर्णको मृत्यु भएको छ। आफ्नै घरमा बसिरहेकी कर्णलाई करेत सर्पले टोकको थियो।  
 
सर्पको टोकाईबाट गम्भीर घाईते भएकी कर्णलाई उपचारका लागि बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। 
 
सर्पको टोकाईबाट महोत्तरीमा एक सातामा तीन जनाको मृत्यु भएको छ।
 
 पछिल्लो समय गर्मीको प्रकोपसंगै चुरे र भावर क्षेत्रमा सर्पदंशको घटना बढेका छन्। जिल्लामा सर्पले डसेका विरामी बढ्न थालेका छन्। यहाँका स्वास्थ्य संस्थामा यस्ता विरामीको चाप बढेको छ। 
 
नेपाली सेनाको फष्ट राइफल गण जलेश्वरको प्राविधिक सहयोगमा  सञ्चालित सर्पदंश उपचार केन्द्र बर्दिवास तथा जिल्ला अस्पताल जलेश्वरले सार्वजनिक गरेको प्रतिवेदनमा महोत्तरी, सिन्धुली, धनुषा र सर्लाहीमा बढ्दो गर्मीसंगै सर्पदंशका घटना बढेको उल्लेख गरिएको छ। 
महोत्तरीको बर्दिबासस्थित गौरीडाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आएका कूल ४ सय ७७ बिरामी मध्ये गोमन सर्पको टोकाइबाट ४९ जना, करेतको टोकाईबाट २ सय ७ जना, भाइपर (हरियो जंगली सर्प) बाट ४२ जना, विच्छीबाट १ सय ४८ जना, खजुरोबाट ३१ जना घाईते भएका थिए। 
त्यस्तै जिल्ला अस्पताल जलेश्वरमा सर्पको टोकाईबाट घाईते भएका ८४ र अन्य प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जनाको उपचार गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर मनिष पाण्डेले प्रकोप बढे पनि जिल्लामा सर्पदंशको औषधी पर्याप्त रहेको बताए। जलेश्वरस्थित जिल्ला अस्पतालमा मात्रै अहिले १ सय २५ भाइल सर्पदंशको औषधी जगेडा रहेको उनले बताए। 
तर ग्रामिण भेगमा सर्पले टोकेका विरामीलाई झारफुक र ‘क्वैक’ को विश्वासमा परी समयमै असपताल पु¥याउन नसक्दा मृतकको संख्या बढेको हो। केहीको भने सर्पले टोके पनि समयमै यकिन हुन नसक्दा ज्यान गएका घटनासमेत पाइएका छन्। यस्ता मृतकको संख्या स्वास्थ्य संस्थाको जानकारीमा रहेको पाइदैन। यसकारण अस्पतालले दिने र वास्तविक मृतकको संख्यामा फरक पर्ने गरेको छ।

No comments:

Post a Comment