Tuesday, August 16, 2016

नेविसंघ महाधिवेशन : १२९ पदका लागि झण्डै ७ सयको उम्मेद्वारी

नेपाल बिद्यार्थी संघको नयाँ नेतृत्वका लागि भोली हुने निर्वाचनमा अध्यक्षका लागि ८, महामन्त्रीका लागि ६ र कोषाध्यक्षका लागि ८ जनाको उम्मेद्वारी परेको छ । ११ औं महाधिवेशन अन्तरगत आज सम्पन्न उम्मेद्वारी मनोनयन दर्तामा निर्वाचन प्रक्रियाबाट चुनिने केन्द्रीय कमिटिका १ सय २९ पदाधिकारीका लागि झण्डै ७ सय जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । १ सय ५१ सदस्यीय कार्यसमितिमा बाँकी पदाधिकारी केन्द्रीय कमिटीले मनोनयन गर्नेछ । अध्यक्षका लागि पार्टी सभापति शेरबहादुर देउवा प्यानलका नैनसिंह महर, बरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका मनोजमणी आचार्य र आनन्द त्रिपाठी्र तथा नेता खुमबहादुर खड्का प्यानलका शुभराम बस्नेतले उम्मेद्वारी दिएका छन् । यस्तै नगेन्द्रसिंह ठकुरी, बचन कार्की, लक्ष्मण आचार्य र पदमराज पन्तले पनि अध्यक्षमा आफ्नो उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिका संयोजक भरत खरेलले जानकारी दिनुभयो । महाधिवेशन उद्घाटनको समय गत साउन २३ गतेसम्म अध्यक्षका लागि १६ जना आकांक्षी देखिएपनि अन्तिम समयमा भने ८ जनाले मात्रै नाम दर्ता गराएका हुन् । महामन्त्रीका लागि उम्मेद्वारी दिएकामा देउवा प्यानलका कुन्दनराज काफ्ले र सरोज थापा तथा पौडेल प्यानलका दिपक भट्टराई छन् । त्यस्तै राजेश ज्ञवाली, हिमालदत्त श्रेष्ठ र शंकर पौड्यालको पनि महामन्त्रीमा उम्मेद्वारी परेको छ । १ कोषाध्यक्ष पदका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् । जसमा अन्जना अर्याल, उमेश भट्टराई, कमला न्यौपाने, केदार खनाल, टीका श्रेष्ठ, निमा गिरी, विश्वामित्र रिजाल र शिव रिमाल छन् । ११ जना उपाध्यक्षका लागि ७ प्रदेशबाट ४९ र विभिन्न संरक्षित कोटामा २२ जनाको उम्मेद्वारी परेको छ भने १३ सहमहामन्त्रीको पदका लागि प्रदेशबाट ४१ तथा विभिन्न संरक्षित कोटामा ४० जनाले उम्मेद्वारी दिएका छन् । १ सय १ केन्द्रीय सदस्यकालागि सबै प्रदेश र संरक्षित कोटामा झण्डै ५ सय जनाको उम्मेद्वारी परेको छ । सबै पदका लागि मतदान कार्यक्रम भोली बिहान ७ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

No comments:

Post a Comment