काठमाडौं, ३० साउन- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय
गठबन्धनले मधेस/जनजाति आन्दोलनमा मारिएका ६८ मृतकको सूची गृहमन्त्री
विमलेन्द्र निधिलाई बुझाउँदै सहिद घोषणा गर्न माग गरेको छ । यसबारे सरकारले
केही दिनमा नै निर्णय गर्ने बताएको छ ।
गृह मन्त्रालयको सूचीमा रहेका ६२ मृतकको सूचीमा छ जना आन्दोलनकारीको नाम
छुटेको भन्दै मोर्चाले नामावली उपलब्ध गराएको हो । गृहमन्त्री विमलेन्द्र
निधिसँग आइतबार गृह मन्त्रालयमा भएको संयुक्त बैठकमा मोर्चा नेताले नाम
बुझाएका थप ६ जनामा सप्तरीका बालकृष्ण राय, श्रीचन्द्र दास, धनुषाका रोशन
ठाकुर, महोत्तरीका उमेश कापड, रामप्रदीप महतो र रुपन्देहीका शैलेन्द्र
श्रीवास्तव छन् ।
जसमा वीरगञ्जमा मारिएका भारतीय नागरिक आशिष रामको नाम पनि समावेश गरिएको
छ । यस्तै टीकापुर झडपमा मारिएका र महोत्तरीका समेत गरी १२ प्रहरी पनि यो
सूचीमा राखिएको छ ।
सुर्खेत, जुम्ला, कैलालीलगायत क्षेत्रमा मारिएका सुरक्षाकर्मी,
सर्वसाधारणको नामसमेत सहिद सूचीमा राखिएको वार्तामा सहभागी संघीय समाजवादी
फोरम उपाध्यक्ष लालबाबु राउतले बताए । उनले आन्दोलनका क्रममा लागेका मुद्दा
फिर्ता, घाइतेको उपचार खर्चलगायत विषयमा वार्ता सकारात्मक भएको भन्दै केही
दिनभित्रै शीर्षवार्ता हुने जानकारी दिए ।
बैठकमा गृहमन्त्री निधिले मधेस आन्दोलनमा ६ सय ५० घाइते, ४८ अंगभंग र ३
सय ५० लाई मुद्दा लागेको सरकारी रेकर्डमा देखिएको भन्दै प्रक्रिया विचार
गर्दै निर्णय गरिने आश्वासन दिएका थिए । स्रोतका अनुसार उनले कांग्रेस र
माओवादीको शीर्ष नेतृत्वसँग पनि परामर्श गरी अबको बैठकमा आउने बताएका थिए ।
‘अनुसन्धान गर्न बाँकी मुद्दा खारेज गर्ने र अदालतमा गइसकेका मुद्दालाई
प्रक्रिया पूरा गरी फिर्ता लिने वातावरण बनाइनेछ,’ निधिलाई उद्धृत गर्दै
बैठक स्रोतले भन्यो, ‘राजनीतिक समस्या समाधानका लागि विश्वासको वातावरण
बनाऔं, सहमतिबाट केही दिनभित्रै निर्णयमा पुग्नुपर्छ ।’
बैठकबारे जानकारी गराउँदै रामसपा महासचिव केशव झाले आन्दोलनका क्रममा
भएको अतिरिक्त बल प्रयोगलगायत हिंसात्मक घटनाबारे ५ सदस्यीय न्यायिक छानबिन
आयोग बनाउने तयारी भएको खुलाए । सर्वोच्च अदालतका पूर्वन्यायाधीशको
संयोजत्वमा बन्ने उक्त आयोगमा नायब महान्यायाधिवक्ता, अनुसन्धान विभागका
एआईजी, प्रहरीका एआईजी सदस्य रहने र अवकाशप्राप्त सहसचिव आयोगको सदस्य–सचिव
रहने समझदारी भएको समेत झाले जानकारी दिए । ‘अब यसैको सेरोफेरोमा तत्कालै
शीर्ष नेतृत्व बसेर समझदारी हुनेछ,’ उनले भने ।
मधेसी मोर्चा र संघीय गठबन्धनका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर,
सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम उपाध्यक्ष
लालबाबु राउत, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना
पार्टी अध्यक्ष अनिलकुमार झा, रामसपा महासचिव केशव झा, थरुहटका भानुराम
चौधरीलगायत वार्तामा सहभागी थिए । गृहमन्त्री निधिलाई भेट्नुअघि मोर्चाले
तमलोपा कार्यालयमा छुट्टै बैठक गर्दै सुरक्षाकर्मीसहित ६८ सहिदको उक्त सूची
अनुमोदन गरेको थियो । गत वर्ष मधेसलगायत देशका अन्य भागमा भएका आन्दोलनका
मृतक सर्वसाधारण, सुरक्षाकर्मी उक्त सूचीमा समेटिएका छन् । आन्दोलनका
क्रममा अङ्गभङ्ग भएका ४८ जनालाई राहत र जीवनयापनका लागि सरकारले उचित
निर्णय छिट्टै गर्ने सहमति पनि भएको छ ।
दोस्रो बुँदामा पछिल्लो मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा, परिवारलाई
क्षतिपूर्ति, घाइतेको उपचार खर्च, कैदी रिहाइ, आरोपीका मुद्दा फिर्ता
गर्ने, सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक
छानबिन गर्नेलगायत विषय समेटिएका थिए ।
छानविन आयोग केही दिनमै बन्ने
बैठकमा आन्दोलनरत पक्षले माग गर्दै आएको स्वतन्त्र छानविन आयोग छिट्टै
गठन गर्ने सहमति भएको छ । सरकार गठनका क्रममा तीन पक्षबीच भएको सहमतिमा पनि
यो उल्लेख छ ।
आइतबारको वार्तामा आयोग गठनको मापदण्ड तय भएको छ । जस अनुसार पूर्व
न्यायाधीशको अध्यक्षमा बन्ने आयोगमा राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीका
पूर्व एआईजी रहनेछन् भने नायव महान्यायाधिवक्ता र एक पूर्व सचिव रहने
समझदारी भएको छ ।
यसबारे मन्त्रिपरिषद्बाट छिट्टै निर्णय गराउने गृहमन्त्री निधिले बैठकमा
बताएका छन् । तराई मधेसमा भएका हिंसाको छानविन गर्ने यो आयोगको कार्यकाल
तीन महिनाको हुनेछ ।
संशोधन छिट्टै दर्ता गर्न चाहन्छु
नेताहरुका अनुसार बैठकको सुरुमा नै गृहमन्त्री निधिले मधेसी मोर्चाका
नेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश सुनाएका थिए ।
प्रचण्डले सहिद घोषणा लगायतका विषय एकदुई दिनमै टुंगो लगाएर संविधान
संशोधनबारे छलफल गर्न चाहेको उनले बताए ।
निधिले बैठकमा बताए अनुसार प्रधानमन्त्री प्रचण्ड संविधान संशोधन विधेयक
छिट्टै संसदमा दर्ता गर्नर् चाहन्छन् । आइतबार भएको सहमति कार्यान्वयन
भएपछि यसबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड स्वयंमले संघीय गठवन्धनलाई
बोलाउने नेताहरुले बताएका छन् ।
No comments:
Post a Comment