Tuesday, August 16, 2016

पार्टीमा कसैको वास्ता नगरी एकलौटी अघि बढ्दै प्रचण्ड

काठमाडौं । पार्टी एकताका बेला भएको सहमति लत्याउँदै नेकपा माओवादी केन्द्रमा विवाद बढेको छ ।
उनी पार्टी र सरकार सञ्चालनमा पनि पार्टीकै नेताहरूलाई बेवास्ता गर्दै एकलौटी अघि बढेको भन्दै पार्टीकै प्रभावशाली नेताहरू प्रचण्डसँग रूष्ट बनेका छन् ।
जेठ ६ गते तत्कालीन एनेकपा माओवादीसँँग एकतामा आएका नेताहरुले पार्टी नेतृत्व एकताको भावना अनुरूप अघि नबढेको आरोप लगाएका छन् । एकतामा सहभागी भएकाहरु मातृका यादव, तिलक परियार र बादल समूहका थुप्रै नेताहरू प्रचण्डको कार्यशैलीप्रति असन्तुष्ट रहेको माओवादी केन्द्रका नेताहरूले जनाएका छन् ।
एकता हुने दिनमात्र १३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर एकतामा सहभागी भएका मातृका यादव नेतृत्वको नेकपा (माओवादी) ले साउन २७ गते नेता यादवलाई उपाध्यक्ष बनाउन पार्टी अध्यक्ष प्रचण्ड र बादललाई पत्र बुझाएको छ । “हामीले गोपाल ठाकुरलाई कार्यालय सदस्य, ७ जनालाई सचिवालय, १० जनालाई पोलिट्व्यूरो र २ सय २० जनालाई केन्द्रीय सदस्य बनाउन भन्दै पार्टी अध्यक्ष र बादललाई पत्र बुझाएको छौं,” मातृका यादव निकटका एक नेताले बाह्रखरीसँग भने “पार्टी एकीकरण हुने दिन नयाँ बन्ने पार्टी बहुपदीय हुने र माओवादी केन्द्रको उपाध्यक्ष यादवलाई बनाउने सहमति भएको थियो । पार्टी एकीकरणको दिन सोही पार्टीका नेता गोपाल ठाकुरलाई मञ्चमा राखिएको थियो र उहाँलाई कार्यालय सदस्य बनाउने सहमति पनि भएको थियो तर ठाकुरलाई सहमति विपरित सचिवालयमा मात्र राखिएको छ । यसबारेमा अध्यक्षले अहिले कुरै गर्न चाहँदैनन् ।”
एकता हुँदा सबै पार्टीका नेताहरु जुन पदमा छन् त्यही पदमा रहने सहमति भई एकता भएको थियो । तत्कालीन एमाओवादीको हकमा भने केही ‘सिनियर’ नेताहरूलाई माथि ल्याउने सहमति भएको बादल समूहका एक नेताले बताए । “तर उहाँहरुले त्यही सहमतिको बहानामा धेरै जनालाई केन्द्रीय कार्यालय, सचिवालय, पोलिट्व्यूरो र केन्द्रीय सदस्य बनाउनुभयो,” उनले असन्तुष्टि पोख्दै बाह्रखरीसँग भने । 
मातृका यादव निकटका नेताहरू भने सहमति भंग गर्ने काम बादलबाट भएको बताउँछन् । उनले एकतामा आउने अघिल्लो दिन हुँदै नभएका १ सय जनालाई केन्द्रीय सदस्य बनाएर ल्याएको आरोप उनीहरूको छ ।
“यो सबै विवाद देखे नदेखेजस्तो गरेर अध्यक्ष एकलौटी रूपमा अघि बढेका छन्,” एक नेताले भने,“अहिले सरकार सञ्चालन र मन्त्री छनोटका बेला पनि उहाँले एकलौटी निर्णय गर्नुभएको छ ।”
नयाँ सरकार बनाउने बेला यादवलाई दाहालले भारत पठाएका थिए । यादवले भारतमा कांग्रेस आईका नेता करण सिंह, जनता दलका नेता शरद यादव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नजिकका व्यक्तिलाई भेट गरेर आएको स्रोतले बतायो ।
“दाहालले यी सब कुरा यति चाँडो बिर्सनुभयो, मन्त्री छान्ने प्रस्ताव गरिएको व्यक्तिलाई उहाँले लिस्टबाट हटाइदिनुभयो,” माओवादी केन्द्रका नेताले भने ।
प्रचण्ड एकलौटी रूपमा अघि बढेको भन्दै असन्तुष्ट समूहले साउन २५ गते देशभरका आफू निकटका नेताहरूको भेला यादवले गरेका थिए ।
भेलाले अध्यक्ष प्रचण्ड एकताको भावना अनुसार अघि नबढेको र केही समय अझै उनको व्यवहारलाई पर्खने निष्कर्ष निकालेको थियो ।
“उहाँ एकताको भावनाअनुसार अघि बढ्नु भएन,” माओवादी केन्द्रका नेता सन्तोष विष्टले भने,“केही समय उहाँको व्यवहारलाई हामीले पर्खेर बसेका छौं ।”
भेलापछि प्रचण्डले यादवलाई किन भेला गरेको भनि प्रष्टिकरण समेत लिएका थिए । 
प्रचण्ड निकट ती सदस्यले भने, “मातृका यादवजी असन्तुष्ट हुनुहुन्छ भन्ने थाहा पाएर नै प्रधानमन्त्रीको सचिवालयमा यादवका एक जना मान्छे पठाउन भन्नुभएको छ ।” यादवका नजिक मानिएका सन्तोष विष्टले पनि प्रधानमन्त्रीको सचिवालयमा एक जना पठाउन भनेको तर आफूहरुले नपठाएको बताए । 
नेकपा माओवादी केन्द्र पार्टीमा मात्र नभई भ्रातृ संगठनहरुमा पनि विवाद देखिएको छ । विद्यार्थी संगठन, शिक्षक संगठन, पत्रकार संगठन सबै तिर विवाद देखिएको छ । विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीमा पदाधिकारी चयन र कार्यविभाजनलाई क्रान्तिकारीले साउन २६ गते गरेको पत्रकार सम्मेलन मातृका यादव, तिलका परियार, विप्लव पक्षबाट आएका विद्यार्थीहरूले बहिस्कार गरेका थिए ।
“प्रचण्ड पहिलेदेखि नै अर्काको अन्तरविरोधमा खेल्न सिपालु छन्,” मातृका निकटका एक नेताले भने,“एकताको अघिल्लो दिन आएका तिलक परियारलाई समेटेर शिक्षकहरुको एकता गरियो तर अरुलाई जानकारी पनि दिइएन । सरकारमा पनि त्यस्तै अवस्था देखिएको छ । यो माओवादी केन्द्र पार्टी होइन, विभिन्न गुटहरूको केन्द्र र समूहहरूको महासंघ भएको छ ।” 
 

No comments:

Post a Comment