Wednesday, August 17, 2016

ढल्केबर–मुजफ्फरपुरमा ‘मोबाइल सबस्टेसन

आउदो हिउँदमा भारतबाट बिजुली आयात गर्न ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमा ‘मोबाइल सबस्टेसन’ राख्ने तयारी थालिएको छ । समयमै सबस्टेसन निर्माण गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले ‘मोबाइल सबस्टेसन’ को प्रस्ताव अघि बढाएको हो ।
भारतले थप विद्युत् दिने निश्चित भएपछि यो प्रसारण लाइनमा ‘मोबाइल सबस्टेसन’ राख्न छलफल अघि बढाइएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । ‘अहिले यो छलफलकै चरणमा छ,’ उनले भने, ‘भारतले विद्युत् दिने भइसकेकाले हामीले जसरी भए पनि पूर्वधार बनाएर ल्याउनुपर्ने हुँदा सबै विकल्पमा छलफल भएको हो ।’
काफ्लेले ‘मोबाइल सबस्टेसन’ का विषयमा छलफल भइरहेको बताए पनि ऊर्जामन्त्री जनार्दन शर्माले भने यससम्बन्धी प्रस्ताव आफूकहाँ आइसकेको बताएका छन् । ‘म मन्त्री भएको दुई दिन नहुँदै मोबाइल सबस्टेसनको प्रस्ताव आयो,’ बुधबार राजधानीमा आयोजित प्राधिकरणको ३१ आंै वार्षिक साधारणसभामा बोल्दै उनले भने, ‘मलाई त्यसमा केही शंका छ, प्रसारण लाइन क्षेत्र गएर हेरेपछि मात्र म निर्णयमा पुग्छु ।’ उनले केही व्यक्तिहरूले ‘मोबाइल सबस्टेसन’ राख्न ‘लबिङ’ गरिरहेको खुलासा गरे ।
‘यसमा किन लबिङ भइरहेको छ मैले बुझेको छैन,’ उनले भने, ‘तर, कसैले कमिसनका लागि यस्तो गरिरहेको भए मलाई सह्य हुने छैन, बिजुली ल्याउनै समस्या भएर गरिएको भए म आफंै गएर हेरेपछि निर्णय अघि बढाउँछु ।’ प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले भारतबाट थप २ सय ३० मेगावाट बिजुली आयात गर्न २ सय २० केभी प्रसारण लाइनमा लागि ‘मोबाइल सबस्टेसन’ को विकल्प हुन सक्ने बताए । ‘मोबाइल सबस्टेसन’ एक स्थानबाट अर्कोमा सार्न सकिने खालको हुन्छ । यसलाई स्थायी खालको अर्को ‘सब स्टेसन’ बनाएर अर्को स्थानमा लान सकिन्छ । तर, यसको लागत भने बढी पर्ने प्राविधिकहरू बताउँछन् ।
के हो मोबाइल सबस्टेसन ?
आकस्मिक रूपमा विद्युत् प्रसारण सुरु गर्नुपर्ने अवस्थामा यस्तो सबस्टेसनको प्रयोग गरिन्छ । यसलाई सजिलै एक स्थानबाट अर्को स्थानमा सार्न मिल्छ । १ सय ३२ केभी भोल्टेज लेबल सम्मका मोबाइल सबस्टेसनहरू एयर आइसोलेसन (एआइएस) र ग्यास आइसोलेसन (जीआइएस)मा निर्माण हुन्छन् । त्यस माथिका भने जीआईएसमा मात्र निर्माण हुन्छन् । यी सबस्टेसनमा एउटा मात्र ट्रान्सफरमर राख्न मिल्ने हुन्छ र धेरै बढाउन मिल्ने नहुन सक्छ ।

No comments:

Post a Comment