Wednesday, August 17, 2016

आइतबारभित्र कांग्रेस मन्त्रीको टुंगो

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने भएको छ ।
पार्टीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिइ शनिबारसम्म बुझाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तिब्र पारेका छन् ।
कांग्रेसले भातृ संगठन नेविसंघ अधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको थियो । नेविसंघमा निर्वाचनबाट नयाँ नेतृत्व छनोट सुरू गरिसकेकाले सभापति देउवाले मन्त्रीहरूको सूची बनाउन लागेका  समाचार छ । स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिनमा पनि देउवा तयार भइसकेका छन् ।
मन्त्री छनोटको सूचीमा परेकाले उनले फोन गरेर संकेत दिएको उनी निकट एक नेताले बताए । स्रोतका अनुसार पौडेल पक्षलाई चारदेखि पाँच मन्त्री दिने निष्कर्षमा उनी पुगेका छन् । पौडेल पक्षले कम्तिमा ५ मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ ।
पौडेल पक्षबाट पठाइने नाम पनि लभगभ तयार भइसकेको छ । पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवि यादव, डा. शेखर कोइराला मन्त्री बन्ने निश्चित भइसकेको छ ।
स्रोतका अनुसार गृह नपाएपछि चिढिएका अर्जुननरसिंह केसीलाई शिक्षा मन्त्रालय दिएर फकाउने प्रयास भइरहेको छ ।
केसी स्वंयले शिक्षा पाए मन्त्री बन्ने संकेत सभापति देउवालाई दिइसकेका छन् । सुरुमा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय केसीकै कारण कांग्रेसले लिन खोजेको हो ।
केसीले शिक्षा रोजेका कारण सभापति देउवाले माओवादी मन्त्रीले सपथ ग्रहण गर्नु केहीबेरअघि प्रधानमन्त्री दाहाललाई फोन गरेर शिक्षा कांग्रेसलाई राख्न आग्रह गरेका थिए ।
शिक्षाको ठाउँमा माओवादीले स्वास्थ्य मन्त्रालय पाउने भएको छ । सभापति देउवाले केसीलाई रक्षा मन्त्रालय दिने मानसिकता बनाएको भए पनि उनले अस्वीकार गरेका कारण सो मन्त्रालयको जिम्मेवारी अब बालकृष्ण खाँणलाई दिने तयारी भइरहेको छ । देउवाले यसको संकेत खाँणलाई दिइसकेका छन् ।

No comments:

Post a Comment