Thursday, August 18, 2016

ऐतिहासिक सिम्रौनगढ मासिँदै : ११४ बिघा अतिक्रमण

पुरातात्त्विक महत्त्वको सिम्रौनगढ क्षेत्रको १ सय १४ बिघा जमिन अतिक्रमणमा परेको छ । पर्यटकीय सम्भावनाको ऐतिहासिक क्षेत्र अतिक्रमण गरेर बसोवास र खेती गरिएको हो ।
गुठी संस्थान वीरगन्जका अनुसार कंकालीमाई र रामजानकी मन्दिरको तैनाथी (गुठीको सम्पूर्ण अधिकार) अन्तर्गतको दुई सय ८४ बिघामध्ये उक्त जग्गा स्थानीयवासी तथा भारतीयले कब्जा गरेका हुन् । जग्गामा ६ सयभन्दा बढी घर निर्माण भएको संस्थानले जनाएको छ ।
चौतर्फी माटोको ठूलो डिललाई कटान गरी खेती लगाउने प्रतिस्पर्धा नै चलेको छ । यो क्रम बर्सेनि बढ्दै गए पनि सरोकारवाला निकायले ध्यान दिएका छैनन् । अतिक्रमण गरेर बसोबास र व्यापारका लागि उपयोग गरिरहेका छन् । अहिले घरेलु कागजात बनाएर किनबेचसमेत हुने गरेको छ ।
स्थानीय प्रशासन र गुठी मूकदर्शक बनेको स्थानीयको गुनासो छ ।
संस्थानका अनुसार नयका टोलमा ४८ मध्ये १५ बिघा, ननसगरा ढाटको ३४, अमृतगन्जमा ५० बिघामध्ये आधा अतिक्रमण गरिएको छ । श्रीनगर बैरिया, गंगानगर, हरिहरपुरलगायत ठाउँमा घर बनाउन र खेतीपातीका लागि कब्जा
गरिएको छ ।
‘जबर्जस्ती कब्जा गराउनेमा राजनीतिक तत्त्व हावी भएकाले व्यवस्थापन गर्न चुनौती छ,’ वीरगन्जस्थित गुठी प्रमुख वासुदेव पौडेलले भने, ‘चाहेर पनि अतिक्रमित जग्गा फर्काउन सकेका छैनौं ।’ पटकपटक पहल गर्दासमेत सफलता नमिलेको उनले बताए । स्थानीय प्रशासन, राजनीतिक दल र समुदायलाई गुहार्दागुहार्दै थाकेको उनले दुखेसो गरे । सदरमुकाम कलैयाबाट २२ किमि पूर्व–दक्षिणस्थित भारतीय सिमानासित जोडिएको २५ बिघा क्षेत्रफल भएको सिम्रौनगढ बजारमा तीन सय हाराहारी पक्की घर, टहरा र पसल सञ्चालनमा छन् ।
दुई वर्षअघि सिम्रौनगढ नगरपालिका घोषणा भएको थियो । उक्त अतिक्रमणले पूर्वाधार निर्माणका लागि जग्गा अभाव देखिएको नगरपालिकाका प्रमुख रामचन्द्र यादवले बताए । ‘अतिक्रमणले सिम्रौनगढ खुला संग्रहालयको अस्तित्व संकटमा परेको देखिन्छ,’ तत्कालीन अमृतगन्ज गाविस अध्यक्ष गगनदेव कुशवाहाले भने, ‘स्थानीय पनि भगवान्को ‘प्रसाद’ झैं सम्झेर जग्गा बाँडीचुँडीमा लागेका छन् ।’
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले बसोवास गरिसकेकालाई पुन:स्थापना जरुरी छ भन्दै अतिक्रमण हटाउन राजनीतिक दलको सहयोग आवश्यक भएको बताए । उचित व्यवस्थापन अभावमा यहाँका पर्यटकीय, पुरातात्त्विक र धार्मिक दृश्य ओझेलमा पर्दै गएका छन् । सरकारी उदासीनताले ऐतिहासिक र पुरातात्त्विक स्थल सिम्रौनगढ ओझेलमा परेको भगवानपुर गाविसका पूर्व गाविस अध्यक्ष उपेन्द्र जयसवालले बताए ।
ऐतिहासिक क्षेत्र अतिक्रमण चपेटामा मात्र परेको छैन, जीर्णसमेत बन्दै गएको छ । सरकारी बेवास्ताले संरक्षणविहीन छ । कंकाली र रानीबास मन्दिर वरिपरिका पुरानो संरचना भत्किएका छन् । वरिपरिका भवन र मन्दिरमा बिरुवा उम्रेका छन् । शिलालेख मेटिँदै छन् । परापूर्वकालका कलात्मक, दुर्लभ र बहुमूल्य मूर्ति चोरिने क्रम समेत बढेको छ ।
राजदेवी, कृष्ण, विष्णुको मूर्ति चोरी भइसकेका छन् । यसबाहेक पाँच बहुमूल्य मूर्ति संग्रह गरेर पुरातत्त्व विभागले एक दशकअघि कंकाली मन्दिर छेउकै घरमा ताला लगाएर राखेको थियो । ती फोहोर देखिन थालेका छन् । संरक्षण नभएर कतिपय मूर्तिहरू राष्ट्रिय संग्रहालयमा लगिएको यहाँका जानकार बताउँछन् ।
पुरातात्त्विक मानसा बाबास्थल बेवारिसे छ । ऐतिहासिक बाकसस्थल पुरिने क्रममा छ । रमणीय बगंैचा मासिँदै छन् । १३ सय इस्वीताका तत्कालीन राजा ग्यासुदिनले राजधानी सिम्रौनगढमा आक्रमण गर्दा धानको भण्डार जलेर त्यसबाट अवशेषको रूपमा रहेको कालो चामल नष्ट हुँदै गएको छ । यसैगरी कचोर्वास्थित पुरातात्त्विक पारसनाथ भनिने दुई बहुमूल्य पत्थरमध्ये एउटा चोरी भइसकेको छ । यहाँका २१ पोखरी फोहोरले पुरिँदै गएका छन् ।
मुलुककै सबभन्दा ठूलो मानव निर्मित झडोखर इसारा पोखरी फोहोर छ । पोखरीका डिलहरू कटानसँगै अतिक्रमणको चपेटामा पर्दै गएका छन् । मन्दिरका ठूला–ठूला घण्टी हराएका छन् । मर्मत अभावमा मन्दिरको आकर्षण घटदै गएको छ । सिम्रौनगढ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रामबाबु कुशवाहा भन्छन्, ‘सरकारले संरक्षणमा ध्यान दिएकै छैन । पूर्वाधार विकासका लागि सरकारले त्यस अनुसारको बजेट छुट्याउँदैन । त्यसैले पछाडि परेको छ ।’
पर्यटकीय स्म्भावना बोकेको ठाउँको विकास एवं संरक्षणका लागि कयांैं ठाउँमा आग्रह भए पनि आश्वासनबाहेक केही नपाएको उनले बताए । ‘वर्षौंदेखि विकासका लागि समिति बनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट अध्ययन अवलोकन हुने गरेका छन्,’ उनले भने, ‘विकास र संरक्षण गर्छौं भनेर चुनावी मुद्दा बनाइने गरिएको छ ।’
यस्तो छ इतिहास
इतिहास, पुरातत्त्वविद् र अनुसन्धानकर्ताका लागि महत्त्वपूर्ण मानिने सिम्रौनगढको इतिहास ईशाको ११औं शताब्दीतिरबाट सुरु भएको पाइन्छ । सन् १०९७ मा कर्णाटवंशीय राजा नान्यदेवको पालामा स्थापित ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र पर्यटकीय स्थल सिम्रौनगढको स्थापना भएको पाइन्छ । सन् १९९१ देखि १९९४ सम्म पुरातत्त्व विभागले इटलीको ‘आईएसएमईओ’ नामक संस्थाको सहयोग र पुरातत्त्वविदको सहभागितामा स्थलगत अध्ययन र उत्खनन गरेको थियो । पछि तत्कालीन राजा वीरेन्द्रले २०४४ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई त्यस क्षेत्रको संरक्षण र पर्यटन विकासका लागि नक्सा तयार गर्न निर्देशन दिएका थिए । तर त्यो कागजमा सीमित बन्यो ।
अध्ययनअनुसार पौराणिक सुन्दर नेपालको परिचय दिने क्रममा सिम्रौनगढ भक्तपुरभन्दा प्राचीन, कान्तिपुर नगरभन्दा सुन्दर र ललितपुरभन्दा पुरातात्त्विक महत्त्वको रहेको इतिहासविद्हरूले बताएका छन् । यहाँ ईशाको चौथो शताब्दीतिरका दुर्लभ मूर्तिहरू छन् । सिम्रौनगढ आसपासको कचोर्वा, कोतवाली, हरिहरपुर, अमृतगन्ज, उचिडिह, गोलागन्ज लगायतका गाउँ, घर वा खेतमा अहिले पनि खनजोत गर्दा पुरातात्त्विक वस्तुहरू भेटिने गरेको स्थानीयहरू बताउँछन् ।

No comments:

Post a Comment