Thursday, August 18, 2016

अभियुक्तकाे इन्कारी बयानले सिंघानिया हत्याकाण्ड झन् रहस्यमय

सिंघानिया हत्याकाण्डका एक अभियुक्त रामविनोद यादव गत मंगलबार धनुषास्थित जिल्ला अदालतमा हाजिर भए । उनले निलम्बित सभासद सञ्जयकुमार साहबाहेक अन्य आरोपीलाई चिन्न इन्कार गरे । उनको यस्तो इन्कारीले सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्ड झन् रहस्यमय बनेको छ ।
सिंघानियालाई हत्या गराउन स्थानीय केही व्यवसायीले मोटो रकम खर्च गरेको आशंका गरिँदै आएको थियो । यो प्रकरणमा रामविनोदले ‘पैसा तथा सुटर’ को व्यवस्था गरेको ठहर अनुसन्धानमा संलग्न प्रहरीले गरिसकेको छ । उनी पक्राउ परेपछि सिंघानियालाई हत्यामा संलग्नहरूको खुलासा हुने आशा गरिएको थियो । तर, उनी अदालतमा हाजिर भएपछि प्रहरी अनुसन्धानको पाटो बन्द भएको कानुनका जानकारको टिप्पणी छ ।
जाहेरवाला पक्षका कानुन व्यवसायी अधिवक्ता हेम कार्कीले भने, ‘रामविनोद अदालतमा हाजिर भइसकेपछि सिंघानियाको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा प्रहरीले औपचारिक बयान लिने वा बोलाएर अनुसन्धान गर्ने च्याप्टर क्लोज भएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको भए यो सुविधा (थप बयान लिन) भने पाउने थिए ।’ सञ्चार उद्यमी सिंघानियाका छोरा राहुलले रामविनोद अदालतमा बयान दिन आएसँगै आफ्नो परिवारमा निराशा छाएको बताए । ‘उनले घटना पछाडिका पात्रहरूका बारेमा खुलासा गर्लान् भन्ने लागेको थियो तर त्यसो हुन पाएन,’ उनले भने ।
  • अधिकांश अभियुक्तको अदालतमा इन्कारी बयान
  • प्रहरीले औपचारिक बयान लिने पाटो बन्द
  • हत्या अनुसन्धानमा बेवास्ता गरिएको परिवारको आरोप
मारवाडी सेवा समिति जनकपुरका अध्यक्ष ललित बजावले घटना अनुसन्धानप्रति असन्तुष्टी जनाएका छन् । ‘घटनाको पछाडि अन्य व्यक्तिहरूको पनि संलग्नता होला भने हाम्रो आशंका छ । दोषी जो कोही भए पनि कारबाहीको दायरामा आउनुपर्छ भने हाम्रो ठहर हो,’ उनले भने । समितिका पदाधिकारीले शुक्रबार एसपी रामदत्त जोशीसँग भेटेर आफ्नो असन्तुष्टि राख्ने भएका छन् ।
एसपी जोशीले समेत रामविनोद अदालत हाजिर भएपछि थप अनुसन्धान गर्न गाह्रो भएको स्विकार गरेका छन् । २०६६ फागुन १७ गते फागु पूर्णिमाका दिन उद्योगी नवल मुरारकाको घरमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भई फिर्ता जाँदै गरेका बेला शिवचोकमा सिंघानियालाई टाउकोमा गोली प्रहार गरी हत्या गरिएको थियो ।
जनकपुर टुडेका तत्कालीन प्रकाशक सिंघानिया हत्याको जिम्मेवारी तत्कालीन सशस्त्र समूहका नाइके मुकेश चौधरीले लिएका थिए । चौधरी पक्राउ परेपछि उनकै बयानको आधारमा चन्द्रदीप यादव र रामविनोदको नाम घटनासँग जोडिएको थियो । गत चैत पहिलो साता जनकपुर १ वकिल टोलबाट चन्द्रदीप यादव आफ्ना ६ सहयोगीका साथ पक्राउ परेका थिए ।
रामविनोदको बयानका आधारमा हत्या प्रकरणमा धनुषा ४ का निलम्बित सभासद सञ्जयकुमार साहको नाम पनि जोडिन आएको थियो । तर, पक्राउ परेका आरोपीहरूले प्रहरी तथा अदालत सामु दिएका बयानहरूबाट सिंघानिया हत्याको कारण भने हालसम्म खुल्न नसकेको हो । प्रहरी अनुसन्धानमा सिंघानियाको हत्या उनी प्रकाशक रहेको जनकपुर टुडेमा प्रकाशित समाचारको कारणले भएको उल्लेख छ । जसलाई सिंघानियाका छोरा राहुल तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र अस्वीकार गर्दै आएका छन् ।
‘कुन समाचार प्रकाशित गर्ने/नगर्ने जिम्मेवारी सम्पादकको हुन्छ, प्रकाशकको होइन । समाचारको कारणले पुरस्कृत हुने वा दण्डित हुने सम्पादक हो, प्रकाशक होइन,’ महासंघ अध्यक्ष मिश्रले भने । हत्याको जिम्मेवारी लिने मुकेश चौधरी, रामविनोद यादव तथा चन्द्रदीप यादवसँग सञ्चार उद्यमी सिंघानियाको कुनै दुस्मनी थिएन । न त उनीहरूबीच व्यावसायिक प्रतिष्पर्धा नै थियो । प्रहरी अनुसन्धानलाई आधार मान्ने हो भन्ने सञ्जय साहसँग पनि ‘समाचार प्रकाशन’ बाहेक अन्य कुनै विवाद थिएन ।
सिंघानियाको हत्या हुनुभन्दा एक दिनपूर्व अर्थात् २०६६ फागुन १६ गते बिहान ३ बजे उनी भारतको धार्मिक यात्रा सकेर जनकपुर फिर्ता आएका थिए । फर्केको कुरा उनका निकटस्थ बाहेक अरूलाई थाहा थिएन । पारिवारिक स्रोतका अनुसार १६ गते बेलुका उनी आफ्नो घरअगाडि कै माडवारी सेवा समितिमा गएका थिए । उनी जनकपुर फर्केको सूचना सुटरलाई कसले दिए ? लगायतका प्रश्न अनुत्तरित छन ।
सिंघानिया, आरोपी तथा उनका नजिकका साथीहरूको मोबाइल कल डिटेल प्रहरीले जिल्ला अदालतमा दायर अभियोगपत्रमा दिएको छैन ? यसप्रति जनकपुरवासीले आश्चर्य व्यक्त गरेका छन् । जिल्ला प्रहरीले सरकारी वकिल कार्यालयमार्फत दर्ता गरेको अभियोगगपत्रमा ११ जनालाई आरोपी ठहर गरेको छ । आरोपीमध्ये निलम्बित सभासद साह, मुकेश चौधरी, एकलाल भन्ने योगेन्द्र सहनी, अंशी राइन, ओमप्रकाश यादव, रामकरण यादव, मनक लामा र रामविनोदसहित ८ जना पक्राउ परिसकेका छन् ।
तीमध्ये हत्याको जिम्मा लिने मुकेशलाई २० रुपैयाँ, रामकरण यादवलाई ५० हजार तथा ओमप्रकाश यादवलाई २ लाख धरौटीमा रिहा गर्ने फैसला जिल्ला अदालतले गरिसकेको छ । अन्य अपराधमा समेत संलग्न रहेकाले उनीहरू सबै जना जेलमै छन् ।
सञ्चार उद्यमी सिंघानिया हत्याका पक्राउ ८ आरोपीमध्ये अधिकांशले प्रहरी अनुसन्धानको क्रममा आरोप सकार गरे पनि अदालतमा भने इन्कारी बयान दिएका थिए । सिंघानियालाई गोली प्रहार गरी हत्या गरेको भनेर आरोपित मनकले अदालतसमक्ष पनि आफ्नो अभियोग स्वीकार गरेका थिए । थुनछेक बहसको क्रममा उनले आफूले रामविनोदको निर्देशनमा सिंघानियालाई गोली प्रहार गरेको सकार गरेका थिए । मंलगबार अदालतमा हाजिर भएका रामविनोदलाई मुद्दा पुर्पक्षका लागि जेल पठाउने आदेश सुनाइएको थियो ।कान्तिपुर

No comments:

Post a Comment