Thursday, August 11, 2016

पार्टी एकताका नाममा राप्रपा नेपालसँग निरिह हुन्नौं: राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमसेर राणाले आफ्नो पार्टी राप्रपा नेपालसँग निरिह भएर एकता गर्न नजाने बताएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राणाकै कारण दुई पार्टीको एकता भाँडिएको र एकिकरणको अध्याय समेत सकिएको भनी प्रतिक्रिया दिएका थिए ।
त्यसको पर्सिपल्ट बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरी राणाले आफ्नो पार्टीले एकिकरणको ढोका खुला राखेको भन्दै तर एकताका लागि निरिह भने नहुने बताएका हुन् । 'राप्रपाले आफ्नो स्वाभिमान र आत्मसम्मानलाई बन्धक राखेर राप्रपा नेपालसँग निरिह भएर शरण माग्न जानु एकता हो कि हाम्रो अस्तित्वको विलिनिकरण ?', राणाको प्रश्न थियो ।
उनले दुई पार्टीबीच अन्तरिम विधानमा अधिकारको बाँडफाँड असन्तुलित भएको र राप्रपा अध्यक्षलाई राष्ट्रिय अध्यक्षको नाममात्र दिइएको दावी गरे । 'विधानमा सुधार गर्न हामीले ठोस प्रस्ताव गरेका छौं । राप्रपा नेपालले यसबारे छलफल गर्नुको साटो गाली गर्नु जायज छ र ?' उनले प्रश्न गरे ।
राणाले एकले अर्कोलाई धारे हात लगाएर गालीमा नउत्रन राप्रपा नेपाललाई भनेका छन् । 'जनताले हामी बीच एकता देख्न चाहेका छन् । एकताको जगले दुवै दलको आत्मसम्मान र स्वाभिमानलाई बोकेर गएको तथ्य अन्तरिम विधानको सन्तुलनमा देखिनुपर्छ' उनले भने ।
दुई पार्टीबीच गत मंगलबार गर्ने भनिएको एकिकरण घोषणा सभा राप्रपाले आफ्ना पार्टीका दुई सांसदलाई वर्तमान सरकारमा सहभागी गराएपछि रोकिएको थियो । 

No comments:

Post a Comment