सञ्चार क्षेत्रको नियामक निकाय प्रेस
काउन्सिलले पत्रकार बन्नका लागि अनिवार्य रुपमा दक्षताको परीक्षा दिनुपर्ने
व्यवस्थाको तयारी थालेसँगै त्यसबारे बहस शुरु भएको छ । पत्रकारितालाई
मर्यादित बनाउन परीक्षा आवश्यक रहेको तर्कसँगै यसले प्रेस तथा अभिव्यक्ति
स्वतन्त्रता हनन् गर्छ भन्ने दलील पनि पेश भएका छन् । सधैं राजनीतिक
ध्रुवीकरणको समाचार सङ्कलन गर्ने पत्रकारहरु पनि ध्रुवीकृत भएको प्रसङ्ग कम
रोचक छैन ।
प्रेस काउन्सिलले गत साल २०७२ फागुन १९ मा पत्रकार आचारसंहिता योग्यता
परीक्षण कार्यदल गठन गरी यसबारे अध्ययन गराएको थियो । कार्यदलले पत्रकारको
योग्यता, उत्तीर्ण गर्नुपर्ने परीक्षाको मापदण्ड तथा परीक्षण कार्यविधि
तयार गरी काउन्सिललाई बुझाइसकेको छ । लिखित र अन्तर्वार्ता गरी २ तहमा
परीक्षा लिने योजनामा काउन्सिल छ । तर यो योजनासंग पत्रकारहरुको छाता संगठन
पत्रकार महासंघ सन्तुष्ट छैन । दक्ष र योग्य व्यक्ति पत्रकारितामा
आउनुपर्ने भावना सही भएपनि यस्ता योजनाले प्रेस तथा अभिव्यक्तिको
स्वतन्त्रतामाथि अंकुश लाग्ने जोखिम बढाउने महासंघका अध्यक्ष महेन्द्र
बिष्ट बताउनुहुन्छ ।
संविधानको प्रस्तावनामै वाक तथा अभिव्यक्ति स्वतन्त्रता बारे उल्लेख
भइसकेकाले कुनै पनि निकायले स्वतन्त्र पत्रकारिताको निम्ति प्रमाणपत्र दिने
भन्ने नीति सर्वथा गलत भएको तर्क गर्नेहरु पनि कम छैनन् । हरेक समाचार
उत्पादन गर्दा पत्रकारले आफ्नो दक्षता र क्षमताको परीक्षा दिनुपर्ने
पत्रकारिताकाको सर्वमान्य सिद्धान्त विपरीत काउन्सिलको प्रस्ताव आएको
धेरैको बुझाइछ । सेन्टर फर मिडिया रिसर्चका कार्यकारी निर्देशक उज्वल
आचार्य पनि पत्रकारको क्षमता जाँच्ने अधिकार पाठक, श्रोता र दर्शकमा हुने
तर्क गर्नुहुन्छ ।
पत्रकारितालाई समयानुकुल मर्यादित, पारदर्शी र जनउत्तरदायी बनाउन र
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने बनाउनका लागि पत्रकारको
परीक्षा लिन आवश्यक रहेको कार्यदलको निष्कर्ष छ । बिगतमा पत्रकारका पेशाागत
हकहितको वकालत गर्ने, र पत्रकारितालाई मर्यादित बनाउनुपर्छ भन्ने जो
कोहीले पनि यो कार्यविधिलाई नकारात्मक रुपमा व्याख्या गर्न नहुने कार्यदलका
सदस्य कुन्दन अर्यालको भनाई छ । पत्रकारिता र आमसञ्चारमा समयानुकुल
परिवर्तन आ।वश्यक ठानेर यस्तो प्रस्ताव सारिएको अर्यालले बताउनुभयो ।
स्वतन्त्र र निश्पक्ष पत्रकारिताको अभ्यासमा संख्यात्मक र गुणात्मक कमी
आएकाले पनि पत्रकारिताप्रति सामाजिक दृष्टिकोण पछिल्लो समय बदलिएको छ ।
पेशागत दक्षताको माग समाज सापेक्ष परिवर्तन र जनचाहना भएपनि राजनीतिकरणको
लेप लाग्ने खतरा पनि उत्तिकै रहेको समाजशास्त्रीहरु बताउँछन् । पत्रकारको
दक्षता अभिबृद्धि पनि सिधै समाजमा उनीहरुले पुर्याउने सूचना र सेवासँग
प्रत्यक्ष जोडिनुपर्छ । तर, सम्बन्धित पक्षसंग कुनै सल्लाह बिनै गरिने
निर्णयले सामाजिक रुपमा समेत प्रभाव पार्ने बताउनुहुन्छ समाजशास्त्री सुरेश
ढकाल ।
नेपालमा पत्रकार बन्न चाहनेले कम्तीमा एसएलसी परिक्षा पास गरेको हुनु पर्ने
व्यवस्था छ । तर त्यति शैक्षिक योग्यता पनि नभएका धेरै व्यक्तिहरु
पत्रकारितामा लागेको आम बुझाइ छ । सूचना विभागका अनुसार प्रेस प्रतिनिधि
पत्र लिने सञ्चारकर्मीको संख्या १० हजारको हाराहारीमा छ । ती सबै संख्याका
सञ्चारकर्मी र आफ्नै संस्थाको पास बोक्ने पत्रकारहरु पनि पत्रकारिताका
सद्भावना दूतहरु हुन् । तर, पछिल्लो समय बहुआयामिक बन्दै गएको पत्रकारितमा
पनि विश्रृंखलता र मूल्य मान्यतालाई आत्मसात नगर्ने प्रवृति बढेको छ ।
लाइसेन्स लिंदैमा यस्ता विकृतिहरु कम हुने हैन । तर, लाइसेन्स कसले, किन र
कुन प्रयोजनका लागि लिन खोज्दैछन् भन्ने कुराको जानकारी कमसे कम सूचनाको
हकको उपभोग गर्ने पत्रकारलाई हुन जरुरी छ ।
No comments:
Post a Comment