Thursday, August 11, 2016

पत्रकारको दक्षता परीक्षासम्बन्धी प्रस्तावमा सञ्चार क्षेत्र विभाजित

सञ्चार क्षेत्रको नियामक निकाय प्रेस काउन्सिलले पत्रकार बन्नका लागि अनिवार्य रुपमा दक्षताको परीक्षा दिनुपर्ने व्यवस्थाको तयारी थालेसँगै त्यसबारे बहस शुरु भएको छ । पत्रकारितालाई मर्यादित बनाउन परीक्षा आवश्यक रहेको तर्कसँगै यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्छ भन्ने दलील पनि पेश भएका छन् । सधैं राजनीतिक ध्रुवीकरणको समाचार सङ्कलन गर्ने पत्रकारहरु पनि ध्रुवीकृत भएको प्रसङ्ग कम रोचक छैन । प्रेस काउन्सिलले गत साल २०७२ फागुन १९ मा पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल गठन गरी यसबारे अध्ययन गराएको थियो । कार्यदलले पत्रकारको योग्यता, उत्तीर्ण गर्नुपर्ने परीक्षाको मापदण्ड तथा परीक्षण कार्यविधि तयार गरी काउन्सिललाई बुझाइसकेको छ । लिखित र अन्तर्वार्ता गरी २ तहमा परीक्षा लिने योजनामा काउन्सिल छ । तर यो योजनासंग पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ सन्तुष्ट छैन । दक्ष र योग्य व्यक्ति पत्रकारितामा आउनुपर्ने भावना सही भएपनि यस्ता योजनाले प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतामाथि अंकुश लाग्ने जोखिम बढाउने महासंघका अध्यक्ष महेन्द्र बिष्ट बताउनुहुन्छ । संविधानको प्रस्तावनामै वाक तथा अभिव्यक्ति स्वतन्त्रता बारे उल्लेख भइसकेकाले कुनै पनि निकायले स्वतन्त्र पत्रकारिताको निम्ति प्रमाणपत्र दिने भन्ने नीति सर्वथा गलत भएको तर्क गर्नेहरु पनि कम छैनन् । हरेक समाचार उत्पादन गर्दा पत्रकारले आफ्नो दक्षता र क्षमताको परीक्षा दिनुपर्ने पत्रकारिताकाको सर्वमान्य सिद्धान्त विपरीत काउन्सिलको प्रस्ताव आएको धेरैको बुझाइछ । सेन्टर फर मिडिया रिसर्चका कार्यकारी निर्देशक उज्वल आचार्य पनि पत्रकारको क्षमता जाँच्ने अधिकार पाठक, श्रोता र दर्शकमा हुने तर्क गर्नुहुन्छ । पत्रकारितालाई समयानुकुल मर्यादित, पारदर्शी र जनउत्तरदायी बनाउन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने बनाउनका लागि पत्रकारको परीक्षा लिन आवश्यक रहेको कार्यदलको निष्कर्ष छ । बिगतमा पत्रकारका पेशाागत हकहितको वकालत गर्ने, र पत्रकारितालाई मर्यादित बनाउनुपर्छ भन्ने जो कोहीले पनि यो कार्यविधिलाई नकारात्मक रुपमा व्याख्या गर्न नहुने कार्यदलका सदस्य कुन्दन अर्यालको भनाई छ । पत्रकारिता र आमसञ्चारमा समयानुकुल परिवर्तन आ।वश्यक ठानेर यस्तो प्रस्ताव सारिएको अर्यालले बताउनुभयो । स्वतन्त्र र निश्पक्ष पत्रकारिताको अभ्यासमा संख्यात्मक र गुणात्मक कमी आएकाले पनि पत्रकारिताप्रति सामाजिक दृष्टिकोण पछिल्लो समय बदलिएको छ । पेशागत दक्षताको माग समाज सापेक्ष परिवर्तन र जनचाहना भएपनि राजनीतिकरणको लेप लाग्ने खतरा पनि उत्तिकै रहेको समाजशास्त्रीहरु बताउँछन् । पत्रकारको दक्षता अभिबृद्धि पनि सिधै समाजमा उनीहरुले पुर्‍याउने सूचना र सेवासँग प्रत्यक्ष जोडिनुपर्छ । तर, सम्बन्धित पक्षसंग कुनै सल्लाह बिनै गरिने निर्णयले सामाजिक रुपमा समेत प्रभाव पार्ने बताउनुहुन्छ समाजशास्त्री सुरेश ढकाल । नेपालमा पत्रकार बन्न चाहनेले कम्तीमा एसएलसी परिक्षा पास गरेको हुनु पर्ने व्यवस्था छ । तर त्यति शैक्षिक योग्यता पनि नभएका धेरै व्यक्तिहरु पत्रकारितामा लागेको आम बुझाइ छ । सूचना विभागका अनुसार प्रेस प्रतिनिधि पत्र लिने सञ्चारकर्मीको संख्या १० हजारको हाराहारीमा छ । ती सबै संख्याका सञ्चारकर्मी र आफ्नै संस्थाको पास बोक्ने पत्रकारहरु पनि पत्रकारिताका सद्भावना दूतहरु हुन् । तर, पछिल्लो समय बहुआयामिक बन्दै गएको पत्रकारितमा पनि विश्रृंखलता र मूल्य मान्यतालाई आत्मसात नगर्ने प्रवृति बढेको छ । लाइसेन्स लिंदैमा यस्ता विकृतिहरु कम हुने हैन । तर, लाइसेन्स कसले, किन र कुन प्रयोजनका लागि लिन खोज्दैछन् भन्ने कुराको जानकारी कमसे कम सूचनाको हकको उपभोग गर्ने पत्रकारलाई हुन जरुरी छ ।

No comments:

Post a Comment