Saturday, August 13, 2016

छिमेकी देशमा रोकिएका विकास परियोजनाहरु अगाडि बढ्दै छन् : भारतीय विदेशमन्त्री स्वराज

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल लगायतका नजिकका छिमेकी मुलुकहरुमा लामो समयदेखि रोकिएका परियोजनाहरु अगाडि बढ्दै गएकोले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नेवरहुड फस्ट पोलिसी’ सफल हुँदै गएको दाबी गरेकी छन् ।
दी मोदी डक्ट्रिन नामक पुस्तकको लोकार्पण गर्दै स्वराजले नेपाल लगायतका नजिकका छिमेकी देशमा विगत दुई वर्षमा सम्पन्न भएका परियोजनाहरुको नाम नै उल्लेख गरिन् । उनले नेपालमा ट्रमा सेन्टर, अफगानिस्तानमा सल्मा ड्याम, श्रीलंकामा दुरियापाड स्टेडियम र बंगालादेशको पेट्रापोल इन्टिग्रटेड चेक प्वाइन्ट सम्पन्न भएको बताइन् ।
यी परियोजनाहरु उल्लेख गर्न लायक कोसेढुंगाहरु हुन,' स्वराजले भनिन् । स्वराजले नेवरहुड फस्ट पोलिसीले छिमेकी मुलुकहबीचमा सहकार्य, कनेक्टीभिटी तथा जनता-जनताको बीचमा बृहत अन्तर्क्रियामा जोड दिएको समेत बताइन् ।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै मोदीले नेवरहुड फस्ट पोलिसीलाई अगाडि बढाएका थिए । मोदीले आफ्नो सपथ समारोहमा सार्क देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरुलाई आमन्त्रण गरेका थिए । तर नेपाल, पाकिस्तान लगायतका मुलुकहरुसँगको सम्बन्ध बिग्रको भन्दै मोदी सरकारको आलोचना भइरहेको छ ।
मोदीले क्षेत्रीय समृद्धीलाई अहिले पनि प्राथमिकताका राखेको स्वराजले बताइन् । 'तर यि उदेश्यहरु प्राप्त गर्न केही चुनौतीहरु रहेका छन् । ति चुनौतीहरुमध्ये सिमापार आतंकवाद एक महत्वपूर्ण हो,' स्वराजले भनिन्, 'तर हाम्रो बुद्धिमत्तापूर्वक एप्रोच र गम्भीर पहलका कारण हामीले यसमा बृहत समर्थन प्राप्त गरिरहेका छौं ।'  स्वराजले मोदी प्रधानमन्त्री भएपछि परराष्ट्र नीति निकै अगाडि बढेको दाबी गरेकी छन् ।
एकहप्ता अगाडि मात्र मोदीले आफ्नो विदेश नीतिको सार इन्डिया फस्ट भनेका थिए । विगत दुई वर्षमा मोदी सरकारले घरेलु परियोजनाहरु मेक इन्डिया, डिजिटल इन्डिया, स्किल इन्डिया र स्मार्ट सिटीलाई  सफल पार्न अन्तर्राष्ट्रिय साझेदारीलाई अगाडि बढाउँदै लगेको छ ।
त्यसैगरी भारतमा अन्य देशका लगानीकर्तालाई सहज वातावरण बनाउने रणनीति पनि मोदी सरकारले लिएको छ भने विदेशमा रहेका भारतीय समुदायहरुलाई पनि मोदीले विशेष प्राथमिकता दिएका छन् । घरेलु र परराष्ट्र नीतिलाई जोडेर अगाडि बढाउनु नै मोदी डक्ट्रिनको महत्वपूर्ण पक्ष भएको उनले बताएकी छन् ।
स्वराजले विगत दुई वर्षमा उनी र भारतीय मन्त्र मण्डलका सदस्यहरुले झण्डै १४० देशको भ्रमण गरेको भन्दै भारत ग्लोबल पावरको रुपमा अगाडि बढेको समेत दाबी गरिन् । उनी मोदी डक्ट्रिन भिजनमा आधारित भएको बताइन् ।

No comments:

Post a Comment