Tuesday, August 9, 2016

नेविसंघ महाधिवेशनको प्रत्यक्ष प्रभाव मन्त्रीमण्डल बिस्तारमा पनि

कंग्रेसको भ्रातृसंगठन नेविसंघको महाधिवेशन लम्विएसंगै त्यसको प्रभाव मन्त्रीमण्डल बिस्तारमा समेत परेको छ । सरकार गठन भएको एकसाता हुँदा समेत सत्तानेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र प्रमुख साझेदार नेपाली कांग्रेसले थप मन्त्री चयन गर्न सकेका छैनन् । गत बिहीवार सथप लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दल माओवादी केन्द्रबाट तीन र कांग्रेसबाट २ जनालाई सहभागी गराउदै ६ सदस्यीय मन्त्रीमण्डल गठन गर्नुभएको थियो । गत सोमवार राप्रपाबाट २ र नेकपा संयुक्तबाट एक जना मन्त्रीमण्डलमा सहभागी भएपनि अन्य साना दलको प्रतिनिधित्व समेत टुंगो लाग्न सकेको छैन । माओवादी केन्द्रले आफ्नो भागमा परेको थप ५ मन्त्रालयमा पठाउने नेताको नामबारे छलफल तिब्र बनाएपनि कांग्रेस भने नेविसंघको विवाद समाधानमा नै केन्द्रित भएको छ । माओवादीले अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई नै महिला र क्षेत्रगत रुपमा मन्त्री चयन गर्ने गरी जिम्मेवारी दिएको छ । बिगतका सरकारमा रहेर प्रभावकारी काम गरेका तथा नयाँ अनुहारलाई समेटेर मन्त्रीको नाम टुंगो लगाउने तयारी अध्यक्ष दाहालले गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । उता, सभापति शेरबहादुर देउवा भने कांग्रेसमा देखिएको तीन धारको ब्यवस्थापन गर्दै मन्त्रीको चयनका लागि प्रयासरत रहेपनि तत्कालका लागि ब्यवस्थापनको अप्ठ्यारो झेल्दै हुनुहुन्छ । मन्त्रीका लागि नाम चयन भएर पनि अर्जुननरसिंह केसी र शेखर कोईराला सपथमा सहभागी नभएपछि सभापति देउवा बढी दवावमा पर्नुभएको उहाँका निकटहरु बताउँछन् । बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षका नेतालाई मिलाएर अघि बढ्ने मात्र हैन सभापति देउवालाई आफु निकटबाट मन्त्रीबन्ने आकांक्षीको ब्यवस्थापन समेत चुनौतीपूर्ण देखिएको छ ।

No comments:

Post a Comment