Saturday, August 6, 2016
रिबन काट्नेभन्दा जनताको काममा लाग्छु: प्रधानमन्त्री दाहाल
काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई
एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई
एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताएका छन्।
गोरखा–काठमाडौँ सम्पर्क मञ्च, पाँचौँ एकता भेलालाई सम्बोधन गर्दै उनले भने–
‘‘संविधान घोषणा भएको छ, त्यसलाई परिमार्जन गर्दै कार्यान्वयन गर्ने
ऐतिहासिक चुनौती छ, भूकम्पबाट क्षति भएका भवन तथा ऐतिहासिक सम्पदाको
यथाशीघ्र पुनःनिर्माण गर्नुपर्ने चुनौती छ ।’’
आगामी २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गर्न
सकिएन भने मुलुक ठूलो राजनीतिक र संवैधानिक दुर्घटनामा पर्नसक्ने खतरा
रहेको बताउँदै उनले जनताको भावना र अपेक्षालाई पूरा गर्न आफू अठोटका साथ
अघि बढेको उल्लेख गरे।
उद्घाटन र रिबन काट्ने कार्यक्रममा बढी हिँडियो भने जनताको अपेक्षा र
राष्ट्रको आवश्यकता पूरा नहुने हुन् कि भनेर आफू डराइरहेको बताउँदै
प्रधानमन्त्री दाहालले भने – “कुरा कम गरौँ, काम केही गरौं भन्नेमा छु,
अपवादबाहेक उद्घाटन र रिबन काट्नेजस्ता कामभन्दा राष्ट्र र जनताको अपेक्षा
पूरा गर्नेमा केन्द्रित हुन सकूँ भन्नेमा छु, यसमा तपाईंहरुको सहयोग
चाहिएको छ ।”
टुक्रिएर १० वटा बन्न पुगेका माओवादी एक भएपछि अब हामीले आफूलाई तेस्रो
पार्टीका रुपमा नहेरी एक नम्बर भइसक्यौँ भन्ने मनोबल र भावनाका साथ उभिन
कार्यकर्तालाई निर्देशन दिँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले
भने – “समृद्धिको खाका कोर्न र एकताबद्ध हुने सङ्कल्प गर्न सकेनौं भने
जोखिम बढ्न गई दुर्घटनातर्फ जाने खतरा हुन्छ ।”
सबैको उत्साहपूर्ण सहभागितामा जोखिमलाई निकास दिन आवश्यक रहेको बताउँदै
उनले माओवादीहरु सधैँ जोखिममा काम गर्न रुचाउने भए पनि सधैंभरि प्रत्येक
जोखिमबाट सहजरुपबाट बाहिर निस्कन चुनौती हुन सक्नेतर्फ सचेत हुन आवश्यक छ
भने।
छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सन्तुलित ढङ्गबाट नयाँ उचाइमा
पुर्याउने अठोट व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सन्तुलितरुपमा सम्बन्ध
अघि बढाउनु पर्ने चुनौती छ, तर पनि नेपाल र नेपाली जनताको हित, विकास र
समृद्धिमा सम्बन्ध सन्तुलित ढङ्गले परिचालनको सम्भावना बढेको छ भने।
दुई देशबीचको सम्बन्धलाई भौगोलिक अवस्था, विगतदेखिका राजनीतिक विकासको
प्रक्रिया तथा इतिहासले हामीलाई जसरी दिशानिर्देश गरेको छ, त्यसैको आधारमा
सम्बन्ध नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकता छ – प्रधानमन्त्री दाहालले
भने।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment