वीरगन्जः वीरगन्जमा एक वर्षको अवधिमा
मात्रै १५ करोड रुपैया भन्दा बढिको अवैध भारतीय गुटखा खपत हुने गरेको छ ।
गत आर्थिक वर्ष २०७२/०७३ मा भारतबाट अवैध रुपमा भित्रयाइएको करिब १५ करोड
४९ लाख रुपैया मुल्य बराबरको सात सय २० क्वीन्टल भारतीय गुटखा खपत भएको छ ।
वीरगन्जमा रजनीगन्धा, राजनीवास , तुलसी र
अन्य ब्राण्डका गरि दैनिक दुइ सय केजी भारतीय गुटखा खपत चार लाख ३० हजार
चार सय रुपैया बराबरको भारतीय गुटखा खपत हुने गरेको नेपाल राष्ट्रिय पान
व्यवसायी संघका केन्द्रिय अध्यक्ष लाल बहादुर बरैले बताए ।
वीरगन्जको बजारमा पानपसलमा मात्र नभइ
किराना , कस्मेटिक, कोल्ड स्टोर्स , चिया पसल , होटल , पत्रिका पसल ,
ठेलामा पनि भारतीय गुटखाको विक्रि वितरण हुदै आएको छ ।
भारत सरकारले विहार राज्यमा गत अप्रिल १
तारिख देखि गुटखाको उत्पादन , विक्रीवतरण र सेवनमा प्रतिबन्ध लगाएपछि
कारोबारीहरुले उत्तर प्रदेशको लखनउ र गोरखपुर तथा महाराष्ट्र राज्यबाट
आयतकर्ताहरुले वीरगन्जमा भारतीय गुटखा र पान मसाला आयात गर्दै आएका छन् ।
वीरगन्जमा गत आर्थिक वर्षमा १५ करोडको
भारतीय गुटखा खपत भएको भएपनि वीरगन्ज भन्सार कार्यालयमा राजश्व तिरेर ४३
हजार ४९ रुपैया मुल्यको २० केजी भारतीय गुटखा आयातकर्ताले भित्रयाएको
भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले बताए । गत आर्थिक
वर्षमा भारतबाट वीरगन्ज नाका हुदै भित्रिएको भारतीय गुटखाबाट २८ हजार ६ सय
६६ रुपैया मात्र राजश्व संकलन भएको पोखरेलले बताए ।
भारतबाट एक किलो गुटखा आयात गर्दा तीन सय
७५ रुपैया अन्त शुल्क, ३० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मुल्य
अभिवृद्धि कर (भ्याट ) गरी कुल एक हजार ४ सय ३३ रुपैया राजश्व लाग्ने गरेको
वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा भारतबाट वीरगन्ज नाका
हुदै अवैध रुपमा आयात भएका भारतीय गुटखाबाट मात्रै १५ करोड ४९ लाख रुपैया
राजश्व चुहावट भएको छ ।
आयातकर्ता र व्यपारीहरुले पर्साको ग्रामीण
भेगका सिर्सिया, छपकैया, भकुवा, इनर्व, अलौं तथा बाराको मटिअर्वा,
बलिरामपुर र सिम्रौनगढ नाकाबाट अवैध रुपमा गुटखा आयात गर्ने गरेका छन् ।
वीरगन्जमा वार्षिक रुपमा सात सय २०
क्वीन्टल भारतीय गुटखा खपत हुदै आएको भएपनि भन्सार राजश्व तिरेर २० केजी
मात्र आयात भएको तथ्यांकले सिमा क्षेत्रका नाकबाट अबैध रुपमा गुटखाको चोरी
निकासी भइरहेको तथ्य पुष्टि भएको भन्सार कार्यालय प्रमुख पोखरेलले बताए ।
यसैबिच गत आर्थिक वर्षमा वीरगन्जबाट मात्रै प्रहरीले करिब एक करोड ७५ लाख रुपैया मुल्यको अवैध भारतीय गुटखा बरामद गरेको छ ।
गत आर्थिक वर्षमा पानमण्डीबाट ७० लाखको,
रजतययन्ती र कुम्हाल टोलबाट ५५ लाखको र आदर्शनगरबाट ५० लाख रुपैया बराबरको
भारतीय गुटखा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
No comments:
Post a Comment