Monday, August 1, 2016

पक्राउ परेका अाराेपीलाई सार्वजनिक नगर्न प्रहरी प्रधानकार्यालयकाे निर्देशन

प्रहरी प्रधान कार्यालयले पक्राउ परेलगत्तै आरोपीलाई सार्वजनिक नगर्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ। अनुसन्धानको प्रारम्भिक चरणमै पक्राउ परेका आरोपीको तस्बिर (दृश्य सार्वजनिक गर्दा मानवअधिकार उल्लंघन हुने भन्दै कार्यालयले सोमबार यस्तो निर्देशन दिएको हो। 
पक्राउ परेको आरोपी दोषी हो या निर्दोष अदालतले मात्रै निक्र्योल गर्न सक्ने भन्दै कार्यालयले मानवअधिकारको सम्मान गर्दै पक्राउ आरोपीलाई सञ्चारमाध्यममा सार्वजनिक नगर्न परिपत्र गरेको हो। क्षेत्रीय प्रहरी कार्यालयमार्फत अञ्चल र जिल्ला प्रहरी कार्यालयलाई प्रधान कार्यालयले सोमबार पठाएको पत्रमा ‘कोही कसैलाई सार्वजनिक गर्नुपर्ने अवस्था आए कारणसहित केन्द्रीय प्रवक्तासँग अनुमति लिन’ निर्देशन दिइएको छ।
पक्राउ आरोपीलाई सार्वजनिक गर्दा प्रहरी र आरोपी पक्षबीच पटक(पटक विवाद हुने गरे पनि प्रहरीले पत्रकार सम्मेलनमार्फत आरोपीलाई हत्कडीसहित सार्वजनिक गर्दै आएको छ। गम्भीर अपराधका मात्रै नभई सार्वजनिक अपराध, गेस्ट हाउस–रेस्टुरेन्टमा छापा मार्दा पक्राउ परेकालाई समेत हत्कडीसहित सार्वजनिक गर्ने प्रहरीको व्यवहारको आलोचना हुँदै आएको थियो। पत्रकार सम्मेलन नगरेको बखतमा प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दा तस्बिर समेत राख्ने गरेको छ। मानव अधिकारवादी संस्थाहरूले पटक पटक ध्यानाकर्षण गराउँदासमेत प्रहरीले यो पद्धतिमा सुधार गरेको थिएन।प्रहरी प्रवक्ता माधव जोशीले संविधानमा नै व्यक्तिगत अधिकार संरक्षणबारे उल्लेख भएको र कुनै ब्यक्ति पक्राउ परेलगत्तै अपराधी प्रमाणित नहुने भएकाले तस्बिर सार्वजनिक नगर्ने निर्णय भएको जानकारी दिए। ‘पक्राउ आरोपी अपराधमा संलग्न हो या होइन त्यसको फैसला अदालतबाट मात्रै हुने, पक्राउ परेका व्यक्ति प्रहरी अनुसन्धानमै पछि निर्दोष देखिन सक्ने, सरकारी वकिलले मुद्दा नचलाउन सक्ने र अदालत पुगेपछि पनि निर्दोष प्रमाणित हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको हो,’ जोशीले भने। जोशीका अनुसार गम्भीर प्रकृतिको अपराधमा संलग्न, पटके आरोपी वा सार्वजनिक गर्दा समाजमा सकारात्मक प्रभाव पर्ने भए अनुमति लिएर सार्वजनिक गर्न सकिनेछ। यसरी सार्वजनिक गर्दा पनि मुहारभने छोप्नुपर्नेछ।

No comments:

Post a Comment