काठमाडौँ, १८ साउन । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठनलगायत विषयमा निर्णायक छलफल
हुँदैछ ।
तीनपक्षबाट गठित कार्यदलबीच भएको वार्तामा मस्यौदाको अधिकांश बुँदामा
सहमति भएको र बिहान शीर्ष नेताको उपस्थितिमा अन्तिम टुङ्गो लगाइने
कार्यदलका सदस्य एवम् काँगे्रस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
उनले भने, “तीनबुँदे सहमतिको आधारमा छलफल भइरहेको छ, केही शब्दावलीमा छलफल
चलिरहेको छ । बिहान अन्तिम प्रस्ताव तयार हुन्छ ।” मोर्चाका तर्फबाट
कार्यदलका सदस्य एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले
सहमतिको खाका तयार भएको र केही शब्दावलीमा छलफल जारी रहेको बताए । तीन
पक्षबीच कुरा नमिलेको भन्ने प्रचार गलत भएको र बिहान सहमतिमा हस्ताक्षर
हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीका उम्मेदवार रहनुभएका
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मोर्चाका शीर्ष नेतासहितको बैठक
बस्दैछ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको कार्यदलको
बैठकले मधेस आन्दोलनको क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्ने, घाइतेको
उपचार र उचित क्षतिपुर्ति दिने, संविधान संशोधन प्रक्रिया अगाडि
बढाउनेलगायत मोर्चाले उठाउँदै आएका माग सम्बोधन गर्ने र मोर्चाले माओवादी
केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन
सघाउने प्रमुख तीन विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
No comments:
Post a Comment