काठमाडौं— विशेष अदालतले विवादास्पद तथा निलम्वित माओवादी केन्द्रका
सांसद ल्हारक्याल लामासँग १ करोड धरौटी माग गरेको छ। गैरकानुनी रुपमा अकुत
सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर
गरेको मुद्दामा पहिलो सुनुवाई गर्दै बुधबार विशेषले उक्त रकम धरौटी माग
गरेको हो।
विशेष अदालतका न्यायाधीशहरु मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र
प्रभा बस्नेतको इजालशले लामासँग उक्त रकम धरौटी माग गरेको हो। लामाले
विभिन्न पटक सार्वजनिक पद धारण गरी ९ करोड २४ लाख बराबर सम्पत्ति गैरकानुनी
रुपमा संकलन गरेको भन्दै अख्तियारले वैशाख ३० गते मुद्दा दायर गरेको थियो।
गुम्बा व्यवस्थापन समितिको अध्यक्ष, पूर्व अर्थ राज्यमन्त्री र माओवादी
केन्द्रका सांसदसमेत रहेका लामा विभिन्न समयमा विवादमा आइरहेका छन्। लामाले
सार्वजनिक पद धारण गरेदेखि २९ करोड ७९ लाख १४ हजार रुपैयाँबराबरको
सम्पत्ति आर्जन गरको अख्तियारको अनुसन्धानले देखाएको थियो।
त्यसमध्ये लामाले दाबी गरेको स्रोत हेर्दा २० करोड ३४ लाख ४९ हजार
रुपैयाँ बराबरको सम्पत्तिको मात्र स्रोत खुलेको देखिएको अख्तियारको
आरोपपत्रमा दावी गरिएको थियो। बाँकी चलअचल सम्पत्ति सार्वजनिक पदको
दुरुपयोग गरी आर्जन गरेको अख्तियारको अभियोग पत्रमा दाबी थियो। लामाले आजै
बैंक ग्यारेन्टीमार्फत आफ्नो धरौटी वुझाउने तयारीसमेत गरेका छन्।
No comments:
Post a Comment