Friday, August 5, 2016

मधुश्रावनी पर्व सम्पन्न

नव विवाहिता महिलाहरुको रोमाञ्चक मधुश्रावणी पर्व शुक्रवार सम्पन्न भएको छ । दुई साता अघि आईतवारदेखि विधिवत सुरु भएको उक्त पर्वको समापन नव विवाहित जोडीले गौरी,महादेव तथा विषहरा(सर्प)को विधिवत पूजा गरेर सम्पन्न गरेका हुन् ।यस पर्वको मुख्य आयोजन भनेको फुललोढी(फूलवारीबाट फुल संकलन गर्नु) विहीवार सन्ध्या नै सम्पन्न भएको थियो । समापनका दिन नव विवाहिताको घुंडामा जल्दो दियोले पोल्ने चलन छ । श्रीमान्ले आखा छोप्छन् अनि घर परिवारका अन्य महिलाहरु दुबै घुंडामा पानको पात राखी जल्दो दियोले पोल्ने गर्छ ।
भनिन्छ नव ववाहिताको घुंडामा जति ठुलो फोंका उठ्छ,उसको भाग्य त्यतिकै राम्रो हुन्छ । उसको श्रीमान त्यतिकै दीर्घायु हुन्छन् । यद्यपि यो उपक्रम कष्टशाध्य छ तर नवविवाहिताहरु वडो उत्साहका साथ यस विधिमा सहभागी हुन्छिन् । डाम्ने वेला परिवारका अन्य महिलाहरु मधुर गीत गाएर दुःख घटाउने प्रयाश गर्छन
कमल नयनपर पानक पटदय
नागर जखन हे झाँपय ।
बद्ध करी हाथ कमल कर वाती,
देखि सगर तन कापय ।
आजु सुहागिनी सहमलि बैसलि
मुख किए पडलि उदासे ।
बड अजगुत थिक मधुश्रावणी विधि
परम कठिन ईहो रिते ।।
    अर्थात मधुश्रावणी पर्वको यो विधि अत्यन्त कठिन छ । अचम्म लाग्दो छ । यस वर्ष मधुश्रावणी पर्व मनाई रहेकी स्नातक प्रथम वर्ष पूजा झा टेमी दाम्ने विधिसंग भयभीत थिईन तर आज शुक्रवार यो विधि सम्पन्न गरे पछि तिनको प्रतिक्रृया थियो-' कस्तो होलो के होला भनेर डराएको पनि थिए अनि यस क्षणको  जिज्ञासा पनि थियो । तर अलिकति कष्ट सहेर जीवनमा सुख हुन्छ भने किन न गर्ने ? '  
केही महिला अधिकारकर्मीहरुलाई यस सांस्कृतिक विधानलाई महिला हिंसासंग जोडेर व्याख्या गरे पनि संस्कृतिविद डा.रेवतीरमण लाल भने यस विधिलाई मिथिला संस्कृतिको उत्कर्ष मान्नु हुन्छ-'यो महिला हिंसा होईन , गृहस्थी जीवनमा प्रवेश गरेकी महिलाको सजिलो परिक्षा हो । परिवारको जिम्मेवारी वहन गर्ने क्रममा जुनसुकै समस्याको पनि सामना गर्न सक्छु भन्ने आत्म विश्वास जागृत गर्न यस पर्वको आयोजन गरिएको हो' कर्णले भने ।मिथिलाञ्चलका ब्राह्मन र कायस्थलगायतका केही जातिका नव विवाहिताहरु प्रत्येक वर्ष श्रावणकृष्ण पञ्चमीदेखि श्रावण शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मनाउँने गर्छन । मधुश्रावणीको प्रारम्भसंगै व्रति महिलाहरु नजिकको वाग वगैचाबाट सन्ध्या फूल बुट्यान संकलन गर्ने अनि त्यसैबाट विहान वेलुका पूजा गर्छन । यस अवधिमा जनकपुरको रामजानकी विवाह मण्डप,राममन्दिर अगाडीको फूलवारी,याज्ञवल्क्य संस्कृत विद्यालय परिसरसहितका फूलवारीहरुमा महिलाहरुको चहल पहल बढेको थियो । यस पर्वको सबभन्दा आकर्षक पक्ष भने 'फूललोढव' अर्थात फूल संकलन गर्नु हो । सोह्र श्रृंगारमा सजिएकी नव विवाहिताहरु अ-आफ्ना साथी सहेलीसंग नित्य अपरान्ह फूल संकलन गर्न जान्छन् । मधुर गीत गाउादै घरबाट निस्किने मैथिलानीहरुको यो टोली नजिकको वाग वगैचा वा फूलवारीमा पुगी विभिन्न जातिका फूल,पात र वुट्यान संकलन गर्छन । संकलित फूल-पातलाई आकर्षक ढंगले डालामा सजाउाछन । यस क्रममा मधुर लोकगीतको अटूट निरझरनी प्रवाहित भई रहन्छ । नवविवाहित जोडीलाई  विषहर(सर्प)को जन्म, विहुलाको कथा, मंगला गौरीको कथा, पृथ्वीको जन्म, समुद्र मंथन, सतीको कथा, महादेव परिवारको कथा, गौरी जन्म, गौरी तपस्या, गौरी विवाह, वाल वसन्त, गणेश जन्मआदिका कथा श्रवण गराईन्छ । कथाहरुको माध्यमले नव विवाहित जोडीलाई घर- गृहस्थीको विषयमा जानकारी गराईन्छ । विधकरी -पूजा विधि सिकाउाने महिला)ले नवजोडीलाई यौन शिक्षा समेत दिन्छन् ।
मिथिला संस्कृतिको जानकार पूनम चौधरीले दिएकी जानकारी अनुसार- व्रतालु महिलाहरुले यस अवधिमा प्रयोग गर्ने लत्ता,कपडा तथा अन्न समेत ससुरालीबाटै आउँछन् । यद्यपि मधुश्रावणी पर्व मैथिल ब्राह्मण,कायस्थलगायतका केही जातिमामात्र सिमीत छ तर यस पर्वको प्रभाव सिंगै समाजमाथि देख्न सकिन्छ । तर अन्तरजातीय विवाह गर्ने केही महिलाहरु पर्व मान्न इन्कार गरेको संस्कृतिविद रेवतीरमण लाल भन्छन् ।

No comments:

Post a Comment