माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
मुलुकको ३९ औं प्रधानमन्त्री बन्दै गर्दा गच्छदार ढुक्कै थिए कि उनी फेरि
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । उनले भनेका पनि
थिए, मलाई सरकारमा जान संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन ।
तर, प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्दा
गच्छदारलाई भाऊ दिएनन् । उनले दाबी गरेको भौतिक पूर्वाधार मन्त्रालय
कांग्रेस नेता रमेश लेखकले पाए ।
प्रचण्डले आफूलाई उपप्रधानमन्त्री बनाउन
नचाहेको छनक सत्ताका चतुर खेलाडी मानिने गच्छदारले सपथग्रहण अगावै पाइसकेका
थिए । त्यसलगत्तै उनले प्रचण्डलाई भेटेर आफूलाई मन्त्री बनाउन ‘प्रेसर’
गरे । अरुमार्फत पनि भन्न लगाए ।
प्रधानमन्त्री प्रचण्ड अर्कोतिरबाट पनि
चर्को दबावमा थिए । मधेसी गठबन्धनका नेता उपेन्द्र यादवले गच्छदारलाई कुनै
पनि हालतमा मन्त्री नबनाउन चेतावनी दिइरहेका थिए । प्रचण्डले उपेन्द्र र
गच्छदारमध्ये एकलाई छनोट गर्नुपर्ने बाध्यता थियो । अन्ततः उनले कमजोर
गच्छदारलाई भन्दा बलिया साटो उपेन्द्र यादवलाई रोजे । भलै, उपेन्द्र
अझैसम्म प्रचण्डको नेतृत्वमा सरकारमा आउन तयार भइसकेका छैनन् ।
महन्थसँग हारगुहार
प्रचण्डले आफूलाई सरकारमा नलगेपछि वियोगको
पीडामा छटपटाएका गच्छदारले तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ
ठाकुरलाई तारन्तार टेलिफोन गरे । तर, महन्थले गच्छदारको फोन रिसिभै गरेनन् ।
म तपाईलाई भेट्न चाहन्छु भन्ने गच्छदारको
आग्रहलाई बेवास्ता गर्दै ठाकुरले सहयोगीमार्फत जवाफ दिए कि म बिमारी छु,
अहिले तपाईसँग भेट गर्न सक्दिँन ।
सूत्रहरुको दाबीअनुसार गच्छदारले महन्थसँग
दुईवटा आग्रह गर्न चाहेका थिएः एक- प्रचण्डसँग भनसुन गरेर/गराएर आफूलाई
सरकारमा पुर्याइदिनुपर्यो भन्ने । र, दोस्रो- आफूलाई अब तराई मधेस
लोकतान्त्रिक पार्टी -तमलोपा)मा मिसाएर डुब्न लागेको डुंगा बचाइदिनुपर्यो
भन्ने ।
स्रोत भन्छ- गच्छदारलाई आफ्नो पार्टीमा
भित्र्याउन कोही पनि तयार छैनन्, न तमलोपा तयार छ, न त उनको मातृपार्टी
नेपाली कांग्रेस नै । गच्छदार मधेसमा र पहाडमा समेत यति बदनाम भइसकेका छन्
कि अब उनको हालत बद्री मण्डलको जस्तै दयनीय बन्ने स्थितिमा पुगेको छ ।
मधेस आन्दोलनका क्रममा सप्तरीलगायतका
जिल्लाहरुबाट गच्छदारको पार्टीका धेरै नेता कार्यकर्ताहरु राजेन्द्र महतोको
सदभावना पार्टीतिर लागिसकेका छन् । सत्तामुखी एवं मुसा प्रवृत्तिका कारण
मधेसी समुदायमा गच्छदारमाथि जनताको विश्वास टुटेको छ । सरकारमा पनि नरहने र
जनताबाट पनि तिरस्कृत हुने निरीह अवस्थामा पुगेका छन् गच्छदार ।
जतिखेर मधेसमा आन्दोलन चलिरहेको थियो,
त्यसबेला गच्छदार केपी ओलीको नेतृत्वमा सरकारमा गए । यदि उनले अन्तिम घडीमा
मुसा प्रवृत्ति नदेखाएको भए भविश्यमा उनलाई एमालेले विश्वास गर्ने
सम्भावना रहन्थ्यो र भावी दिनमा सरकारमा जाने बाटो बाँकी रहने थियो । तर,
अन्तिम घडीमा उनले केपी ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेर एमालेबाट
पनि विश्वास गुमाए ।
अब गच्छदार धागो छिनेको चंगाजस्तै बनेका
छन् । उनलाई सत्तापक्ष, प्रतिपक्ष कसैले पनि नपत्याउने अवस्था आएको छ ।
मधेसमा पनि उनको जनाधार कमजोर भएको छ । एकताका मोरङका मधेसवादी नेता बद्री
मण्डल सत्तामा चहल-पहल गर्ने नेता मानिन्थे । तर, विस्तारै उनी चुनाव
हार्ने स्थितिमा पुगे । अब गच्छदारको नियति पनि त्यस्तै हुन पुगेको छ ।
यद्यपि गच्छदार थारु समुदायको नेता भएकाले
गोपाल दहित वा रुक्मिणी चौधरीले जस्तै सानो पार्टीको नेता बनेर बस्ने
सम्भावना उनीसँग अझै पनि नसकिएको तर्क केही मधेसी नेताले गर्दै आएका छन् ।
तर, पछिल्लो संविधानसभामा १४ सीटको
प्रतिनिधित्व गरिरहेका पावरका भोका गच्छदार रुक्मिणी चौधरीको जस्तो
भूमिकामा खुम्चिएर बस्न मान्लान् ? त्यसो गर्नुभन्दा उनी कांग्रेस वा
तमलोपामा जान सक्ने धेरैको अनुमान छ ।
प्रचण्ड नेतृत्वको सरकारलाई जबसम्म
कांग्रेस र मधेसी मोर्चाले सघाउँछ, त्यतिबेलासम्म गच्छदारको १४ भोट
बार्गेनिङ चिप्सको रुपमा प्रयोगमा नआउने आँकलन सत्तापक्षले गरेका छन् ।
No comments:
Post a Comment