काठमाडौं । चिनियाँ कम्पनीले ढल्केबरमा सवस्टेशन बनाउन ढिलाइ गरेपछि
भारतबाट सुख्खायाममा थप बिजुली आयात गरेर विद्युतभार कटौती (लोडसेडिङ)
आधारभूत रुपमा हटाउने सरकारको योजना प्रभावित हुने देखिएको छ ।
ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन बनाउने जिम्मेबारी पाएको सेन्ट्रल
चाइना पावर ग्रीड कर्पोरेशनले अहिलेसम्म सिभिल निर्माणको काम नै सुरू
नगरेपछि यस्तो समस्या आउने देखिएको हो ।
आगामी मंसिरसम्म ढल्केबरमा सवस्टेशन निर्माण नभए थप बिजुली आयात हुने
सम्भावना कम छ । आगामी हिउँदमा आयात गर्ने भनेको ६ सय मेगावाट बिजुली आयात
गरेर हिउँदमा लोडसेडिङलाई ५ घण्टामा सिमित गर्ने सरकारको योजना रहेको छ ।
उसले सबस्टेशनका लागि सिभिल काम नै सुरू नगरेपछि ढिलाइ हुने सम्भावना
बढेको विद्युत प्राधिकरण प्रसारणलाइन निर्देशनालयका उपकार्यकारी निर्देशक
कनैयाकुमार मानन्धर बताउँछन् । “सेन्ट्रल चाइना र नेपाली सवकन्ट्रयाक्टरबीच
विवाद भएपछि सवस्टेशन बनाउने काम सुरू हुन सक्छ,” उनले भने “हामीले
निर्धारित समय आगामी पुसको दोस्रो साताभित्र प्रसारणलाइनको काम सक्न भनेका
छौं ।”
दुई कम्पनीबीच विवाद देखाएर काम नरोक्न भनेको उनले बताए । “उसले निर्धारित
समयमा काम सकेन भने क्षतिपूर्ति तिराउन सक्छौं,” उनले थपे “यो समस्याको
समधान हैन । उसलाई काम अघि बढाउन भनेका छौं । समस्या समधान गरेर काम सुचारू
गर्न हामी लागिरहेका छौं ।”
सेन्ट्रल चाइनाले चिनियाँ नयाँ सवकन्ट्रयाक्टर नल्याए आगामी डिसेम्बरसम्म
सवस्टेशनको निर्माण सम्पन्न नहुने उनले जानकारी दिए । उसले सवकन्ट्रयाक्टर
ल्याउन लागेको जानकारी पाएको मानन्धरले बताए । ठेकेदारले सवकन्ट्रयाक्टर
आउँदो २ साताभित्र ल्याउने भनेको प्रतिवद्धता जनाएको छ ।
“सेन्ट्रल चाइनाले सवस्टेशन बनाउन विभिन्न सामानको डिजाइन अर्डर गरेपनि
उसले सवस्टेशनस्थलमा सिभिल काम सुरू गरेको छैन”उनले थपे “सेन्ट्रल चाइनाले
अर्को सबकन्ट्रयाक्टर ल्याए मात्र काम सक्ने देखिएको छ । नभए भन्न सक्ने
अवस्था छैन ।”
विद्युत प्राधिकरणले मुजफ्फपुर–ढल्केबर ४ सय केभी क्षमताको प्रसारणलाइनबाट
थप ३ सय मेगावाट आयात गर्दैछ । ठेकेदारले काम नगरेर समस्या भएको ऊर्जा
मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा बताउँछन् । बाह्रखरीसँग कुरा गर्दै सचिव शर्माले भने, “ठेकेदारको प्रगति न्युन भएकाले
समस्या देखिएको छ ।” उनका अनुसार सवस्टेशनको अवस्था जटिल भएको छ ।
सवस्टेशनमा ढिलाइ भयो भने सम्झौता अनुसार भारतबाट थप बिजुली आयात गर्न
समस्या पर्ने उनको तर्क छ ।
१३२ केभीमा चार्ज गरेर ८० मेगावाटसम्म बिजुली आयात भइरहेकोमा थप बिजुली
खरिद गर्न प्राधिकरणले सवस्टेशनको क्षमता बढाउन नयाँ निर्माण गर्न लागेको
हो । २२० केभी सवस्टेशन निर्माणपछि भारतबाट ३ सय मेगावाटसम्म बिजुली सहज
आपूर्ति हुने देखिएको छ । ४ सय केभीमा चार्ज भएपछि यो प्रसारणलाइनबाट १
हजार ५ सय मेगावाटसम्म बिजुली आपूर्ति गर्न सकिने छ । हाल भारतबाट ३ सय
मेगावाट हाराहारीमा बिजुली खरिद भइरहेको छ । थप बिजुली आयातका लागि
कटैया–कुसाह र परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनको क्षमता
अभिवृद्धिको काम भइरहेको छ ।
No comments:
Post a Comment