Saturday, July 30, 2016

आधा दर्जन सङ्घसंस्थाद्वारा बाढीपीडितलाई राहत



राजविराज, । सप्तरीका बाढीपीडितलाई आज छुट्टाछुट्टै नेपाली सेना, चिकित्सकलगायत आधा दर्जन सङ्घसंस्थाले राहत वितरण गरेको छ ।
सैनिक श्रीमती सङ्घ (नेपाली सेना)को सहयोग र श्रीकृष्ण दल गण राजविराजको संयोजनमा बाढीपीडित २५० दलित परिवारलाई राहत वितरण गरिएको छ ।
१८ नं बाहिनीका बाहिनीपति एवम् सहायक रथी सुवर्णबहादुर शाह र कृष्ण दलका गणपति भुवनेश्वर आचार्यले बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गर्नुभएको बताइएको छ ।
बाढीपीडितलाई प्रत्येक परिवार पाँच केजी च्युरा, दुई केजी दाल, एक केजी सख्खर, १० प्याकेट जीवनजल र लत्ताकपडा गरी करिब रु १५ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको छ ।
यस्तै आजै मधेसी मोर्चा सप्तरीको संयोजनमा लायन्स क्लब, शुभम क्लब र यङ हर्ट लायन्स क्लब विराटनगरको सहयोगमा जिल्लाको सकरपुरा गाविस–४ का बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ ।
सो वडाका ४०० बाढीपीडित परिवारलाई खाद्य तथा लत्ताकपडा, त्रिपालसहितका सामान वितरण गरिएको छ ।
त्यस्तै जिल्लाको सकरपुरा गाविसका चार सय दलित परिवारलाई स्थानीयवासी गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संयुक्त रुपमा राहत वितरण गरेका छन् ।
सो अस्पतालमा कार्यरत डा दीप यादव, अमित साह, सरोज यादव, सुनिल सिंह तथा स्वास्थ्यकर्मी र कर्मचारीहरुको सहयोगमा बाढीपीडितलाई प्रतिपरिवारमा च्युरा, भुजिया चामल, खाने तेल, नुन चाउचाउ र बिस्कुट वितरण गरिएको अस्पताल स्रोतले जनाएको छ ।
मोर्चाद्वारा फलफूल वितरण
मधेसी मोर्चा सप्तरीले आफ्ना स्थापना दिवस एक वर्ष पूरा गरेको अवसरमा आज यहाँ फलफूल वितरण गरेका छन् ।
राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा रहेका बिरामीलाई मोर्चाले फलफूल वितरण गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले बताउनुभयो ।
सो अस्पतालमा रहेका करिब २०० बिरामीलाई फलफूल वितरण गरेको बताइएको छ । साथै सप्तरीको राजविराजमै रहेको बाल गृहमा समेत बालबालिकालाई फलफूल वितरण गरेको बताइएको छ ।

No comments:

Post a Comment