Saturday, July 30, 2016

देउवाद्वारा डिना उपाध्यायलाई केन्द्रीय सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृ महालक्ष्मी (डिना) उपाध्यायलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन्।
पार्टी विधानको दफा २२ को उपदफा ठ बमोजिम सभापति देउवाले मनोनित गर्ने १६ जना सदस्यमध्ये पूर्व केन्द्रीय सदस्य एवं सांसद उपाध्यायलाई आइतबार मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
पार्टीको विधान अनुसार ८५ सदस्यीय केन्द्रीय समितिमा सभापतिले महिला, दलित, जनजाति, मधेसी मुस्लिम समुदायबाट एकएक जना र १६ जना महाधिवेशन प्रतिनिधिमध्येबाट गरी २१ जना मनोनित गर्नसक्ने व्यवस्था रहेको छ।
जसअनुसार अहिलेसम्म देउवाले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत सुरूमा सात जना र पछि तीन जना गरी दस जना मनोनित गरिसकेका छन्। उपाध्यायको मनोनयनपश्चात देउवाले विधान अनुसार अब दलित, जनजाति र मुस्लिम कोटाबाट एक–एक जनासहित १० जनाको मनोनय गर्न बाँकी रहेको छ।
पार्टीको ११औं महाधिवेशन पश्चात महिलातर्फको केन्द्रीय सदस्य पदमा निर्वाचित भएर उपाध्यायले दुई कार्यकाल क्रियाशिल रहेकी थिइन्। समावेशी कोटा कुनै व्यक्तिका लागि नभई समुदायका लागि भएको भन्दै एकै व्यक्ति पटक–पटक महिला कोटामा उठ्न नहुने भन्दै गत फागुनमा सम्पन्न महाधिवेशनमा महिलाको प्रतिनिधित्व बढाउन र  खुला २५ सदस्य पदमा प्रतिस्पर्धा गरेकी थिइन्।
उक्त प्रतिस्पर्धामा थोरै मतअन्तरले उपाध्याय पराजित भएकी थिइन्। उनीसँगै थारु नेता पद्मनारायण चौधरीको पराजयलाई पार्टीभित्रका दुबै पक्षका कतिपय नेता कार्यकर्ताले समेत अन्याय भएको भन्दै उनीहरुलाई मनोनित गर्नु पर्ने सुझाव सभापति देउवालाई दिँदै आएका थिए।
अरु नेताहरूसँगको अनौपचारिक छलफलका क्रममा सभापति देउवाले उपाध्याय र चौधरी दुबैलाई केन्द्रीय कार्यसमितिमा मनोनित गर्ने कुरामा आफू सकारात्मक रहको जानकारी गराउँदै आएका थिए।

No comments:

Post a Comment