Wednesday, July 20, 2016

प्रधानमन्त्रीको चेतावनी, ‘संसदमा बलजफ्ती गरे राम्रो हुन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आर्थिक विधेयक रोक्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।
‘निर्णयार्थ प्रस्तुत हुन लागेको आर्थिक विधेयकलाई रोकेर, संस्थाको दुरुपयोग गर्दै अविश्वासको प्रस्ताव संसदमा ल्याउनै मिल्दैन,’ प्रधानमन्त्रीले काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा भने, ‘स्वाभाविक रुपमा हामीले भोलि ११ बजे त्यो हराएको प्रस्ताव कहाँ गयो भनेर खोज्ने काम गर्छौं । बलजफती गरेर अगाडी बढ्न नखोज्नु राम्रो हुन्छ ।’
प्रधानमन्त्रीले कसैले आधारभूत नियम र कानुन अन्तर्गत नचल्ने हो र मनलागी गर्ने भए घरबाट संविधान ल्याएर देश चलाउन सुझाव दिए । ‘आधारभूत नियम र कानुन अन्तर्गत चलौं । संविधान अन्तर्गत नचल्ने हो भने घरबाट संविधान ल्याए हुन्छ,’ उनले भने ।
प्रधानमन्त्रीले अहिले तीव्र गतिको विकास आवश्यकता रहेको बेला केही देश विरोधी पक्ष आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को छैटौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै उनले जनताले आफूलाई राम्रो काम गर्नका लागि सरकारमा पठाएको र आफूले दृढताका साथ काम गरेको दाबी गर्दै केही तत्व त्यसैलाई रोक्न लागि परेको बताए ।
आफूलाई प्रधानमन्त्री बनाउँदै नबनाउने खेल हुँदा पनि आफू प्रधानमन्त्री भएको जिकिर गर्दै उनले भने, ‘कस्ता साथीहरुले लिएर सरकार बनाइयो र नौ महिना चलाइयो सबैलाई थाहै छ ।’ प्रधानमन्त्री भएको दिनदेखि नै आफूलाई हटाउने खेल सुरु भएको दाबी प्रधानमन्त्री ओलीको थियो ।
आफूसँग बहुमत नभएकैले आफूले सोचे अनुसारको काम गर्न नपाएको बताउँदै ओलीले भने, ‘आफूसँग बहुमत नभएकैले स–सानो थुम्का र देउरालीमा पनि फुलपाति राख्दै अगरबत्ती बाल्दै हिँड्नु पर्‍यो ।’
बहुमतको सरकार भएपछि सधैं सरकारमा रहन नसकिने भएको हुँदा सहमति गरेर अगाडि बढ्नु पर्ने उनको तर्क थियो । ‘संविधानले व्यवस्था गरे अनुसार नै सरकार जाने र आउने काम हुनुपर्छ,’ उनले भने ।


No comments:

Post a Comment