प्रत्येक वर्ष श्रावण कृष्णपक्ष ९मौना० पञ्चमी तिथिदेखि शुक्ल तृतीयासम्म
मनाइने मधुश्रावणी पर्व आजदेखि मिथिलाञ्चल क्षेत्रमा सुरु भएको छ ।
मिथिलाञ्चल प्राचीनकालदेखि नै समृद्ध संस्कृतिका रुपमा विशिष्ट स्थान
ओगटेको क्षेत्र हो । मिथिला क्षेत्रको प्रारम्भ राजर्षि जनकबाट भएको हो ।
करिब चार हजार वर्ष पुरानो मानिने हिन्दूको पवित्र ग्रन्थ महाभारतमा समेत
मिथिला संस्कृतिबारे स्पष्ट रुपमा उल्लेख गरिएको पाइन्छ भने अर्कोतिर करिब
अढाइ हजार वर्ष पूर्वको वाल्मिकी रामायणमा पनि मिथिला संस्कृतिबारे उल्लेख
गरिएको भेटिन्छ ।
महाभारत र वाल्मिकी रामायणले विशेषगरी राजा जनकको धार्मिक, ऐतिहासिक तथा
पवित्र नगरी मिथिलाञ्चल क्षेत्रलाई प्रतिनिधित्व गर्ने भएकाले यहाँका
सहरदेखि गाउँसम्म फैलिएको मैथिली भाषाभाषीको परिवारमा धार्मिक तथा सामाजिक
अनुष्ठानका रुपमा नवविवाहित महिलाले मधुश्रावणी पर्व मनाउने परम्परा
रहिआएको छ ।
मिथिला संस्कृतिको आफ्नै किसिमको विशिष्टता, आदर्श र वैभवता छ । मिथिला
नारीको जीवन पद्धतिसँग जोडिएको मधुश्रावणी पर्वलाई यहाँ महत्वपूर्ण पर्वका
रुपमा मनाउने परम्परा कायम छ । आर्य समाजको आगमनदेखि पूर्वकालसम्म
चलिआइरहेको यो पर्वलाई आफ्नो धर्म, संस्कृति, परम्परा तथा सुखद दाम्पत्य
जीवनप्रति समर्पित हुने अवसरका रुपमा लिने गरिन्छ ।
मिथिला समाजमा प्रचलित पर्व र व्रत केवल हर्ष र उल्लासका लागि मात्र मनाइने
गरिँदैन । यी पर्व मानिसको जीवन पद्धति र अस्तित्वसँग कुनै न कुनै रुपमा
जोडिएको हुन्छ । प्रत्येक पर्वले सांस्कृतिक स्थितिलाई बलियो बनाउने तथा
जीवनलाई पवित्र पार्ने सन्देश बोकेको हुन्छ । जीवनमा विवाह एकपटक हुन्छ र
पूरै वैवाहिक जीवनमा मधुश्रावणी पर्व विवाहको पहिलो वर्ष बेहुलीका लागि
अग्नि परीक्षाका रुपमा लिइन्छ ।
यो पर्वलाई यहाँका महिलाले भव्यतापूर्वक मनाउने गर्दछन् । यो पर्वले एकातिर
मिथिला संस्कृतिलाई संरक्षण प्रदान गर्दछ भने अर्कोतिर दाम्पत्य जीवनको
आधारशिलालाई बलियो बनाउने गर्दछ । पन्ध्र दिनसम्म मनाइने यो पर्वको प्रमुख
विशेषता भनेको पतिपत्नी बीचमा हुने राग–अनुराग, प्रेम–परिणय तथा दाम्पत्य
जीवनलाई सुुदृढ गर्नु हो ।
यसकारण भनिन्छ कि नवविवाहित वर कन्याका लागि मधुश्रावणी पर्व अति
महत्वपूर्ण र संवेदनशील मानिन्छ । यसमा कन्याको भावनात्मक र शारीरिक
सम्बन्ध दुवैलाई प्रगाढ बनाउने सन्देश हुन्छ । मधुश्रावणी पर्व
पूर्वजद्वारा दिइएको एउटा अनुपम उपहार हो । यो पर्वको महत्वपूर्ण पक्ष
भनेको विसहरा तथा शिवपार्वतीको पूजा गर्ने क्रममा वृद्ध महिलाद्वारा कथा
वाचन गरिन्छ ।
कथाद्वारा शिवपार्वतीको जीवनसँग जोडिएको घटनालाई रोमाञ्चकारी रुपमा
प्रस्तुत गरिन्छ । यस पर्वमा नवविवाहित स्त्री खुलेरै घुमफिर गर्नुका साथै
आफ्नो सखीहरुलाई मुक्तकण्ठले आफ्नो पतिको खुलेर प्रशंसा गर्ने गर्दछन् । यो
पर्व कायस्थ ब्राह्मण जातिको मुख्य पर्व भए पनि कालान्तरमा आएर सोनार, देव
जस्ता जातिका महिलाले समेत मनाउने गरेको पाइन्छ । यो पर्वको अन्तिम दिन
नवविवाहित कन्यालाई टेमी दिने चलन छ ।
बेहुलीको घुँडामाथि पानको पात राखेर बलिरहेको बत्तीले डाम्ने गर्दछ । यो
प्रथा आफ्नो धर्म, संस्कृति र परम्पराप्रति समर्पित हुनु हो । यो प्रथालाई
कहीँ कहीँ प्रताडनाका रुपमा महिला अधिकारवादीले लिए गरेपनि यो नवविवाहित
महिलाका लागि अग्निपरीक्षा हो । कालान्तरमा आएर टेमी दिने परम्परालाई गलत
तरिकाले परिभाषित गरिए पनि यो एउटा सुख अनुभूत गर्ने परम्परा हो भन्न
सकिन्छ ।
टेमीमा हुने पीडाको विषयमा व्रती सुधा कर्ण भन्छिन, “मैले त आजसम्म टेमी
दिँदा खेरि पीडाले तड्पेको देखेको छुइनँ, यो प्रथा महिला प्रतिको हिंसा
नभएर आफ्नो संस्कृतिलाई निरन्तरता दिने परम्परा मात्र हो ।” यो पर्वको
अर्को विशेषता भनेको व्रती महिलाले एकचोटि मात्र खाना खानु हो । यो एउटा
मैथिली संस्कृतिको विशिष्टता नै मान्नुपर्दछ ।
आमोदप्रमोद, हासपरिहास र उन्मादले भरिएको यो पर्वमा नव वरवधुलाई आनन्द लिने
मौका दिइन्छ । प्रेम, उन्माद र विशिष्ट संस्कृतिका रुपमा रहेको
मधुश्रावणीलाई गलत रुपमा व्याख्या नगरी यसको संरक्षण गर्न आवश्यक रहेको
मैथिली साहित्यकारहरु बताउँछन् ।
No comments:
Post a Comment