नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्न लागेको
नयाँ सरकारमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिककलाई तत्काल सहभागी गराउने
विषयमा नयाँ गठबन्धनभित्र समस्या देखिएको छ।
सरकारको नेतृत्व चयन प्रक्रियामा बढीभन्दा बढी दल र सांसदको समर्थन
जुटाउँदै सरकारलाई अधिकतम सहमतिको सरकारको स्वरुप दिन कांग्रेस र माओवादी
गठबन्धन चाहिरहेको छ।
त्यसका लागि कांग्रेस र माओवादी नेताहरुले संसदमा रहेका सबै दलहरुलाई सहयोग र समर्थनका लागि आग्रह गर्दै आएका छन्।
अर्कोतर्फ ओली नेतृत्वको सरकार ढलाउने अभियानमा कुनै लिखित सम्झौता बिना
समर्थन दिँदै झन्डै १० महिना लामो आन्दोलन टुंग्याउने आशामा रहेको मधेसी
मोर्चाले नयाँ सरकारमा फोरम लोकतान्त्रिकलाई तत्काल सहभागी नगराउन नयाँ
गठबन्धनलाई दबाब दिँदै आएका छन्।
मोर्चाका नेता तथा कार्यकर्ताले मधेसको राजनीतिक दलका रुपमा फोरम
लोकतान्त्रिकले मत ल्याए पनि मधेसको अधिकारका सन्दर्भमा चलेको आन्दोलन
बीचमा नै छाडी सत्ताका लागि एमाले नेतृत्वको सरकारमा गएर मधेसी दल र
जनतालाई धोका दिएको आरोप लगाउँदै आएका छन्।
यो कुरा मधेसी मोर्चाका नेताहरुले कांग्रेस माओवादीका शीर्ष नेताहरुसँगको
वार्ताका क्रममा मात्रै होइन, ओलीविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलका
क्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संसदमा नै सांकेतिक
रुपमा भनेका थिए, ‘मुसाहरूलाई नयाँ सरकारको जहाजमा नराख्नुहोस् यसले फेरि
जहाज डुबाउँछ र डुब्न लागेपछि भाग्छ।’
जुन कुरामा कांग्रेसभित्रैका कतिपय तराई मधेसबाट प्रतिनिधित्व गर्ने नेता तथा सांसदहरूको पनि समान धारणा रहेको छ।
गच्छदारप्रति उनीहरुको मुख्य गुनासो भनेको उनी विगत २५ वर्षको समयमा
अधिकांश समय कांग्रेसको नाम सधै सत्ता र शक्तिमा रहँदै राष्ट्रिय राजनीतिमा
एउटा हैसियत बनाएपछि पार्टीबाट अलग्गिदै मधेसी दलमा गएर आफूहरुलाई धोका
दिएको आरोप छ।
सधैं सत्ता र शक्तिका लागि जुनसुकै बेला जोसुकै दल र दलको नेतालाई धोका
दिने चरित्र नै गच्छदारको सबैभन्दा ठूलो कमजोरी भएको उनीहरूको आरोप छ।
गच्छदार र उनको दललाई सरकारमा ल्याउनैपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न
भएमा मधेसी मोर्चा र कांग्रेसकै मधेसी सांसदहरु पहिलो चरणमा नभई केही समय
पछाडि मात्रै सरकारमा सहभागी गराउनु पर्ने सुझाव नेताहरुलाई दिँदै आएका पनि
छन्।
तर, कतिपय नयाँ गठबन्धनका नेताहरु संविधानको कार्यान्वयनका लागि सबै
राजनीतिक दलबीच सहमति र सहकार्यको आवश्यकता रहेका अवस्थामा कुनै पनि दल वा
सांसद जो सहमतिमा आउन तयार छन् उनीहरुलाई साथै नहिँडाई सम्भव नहुने
बताउँछन्।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन कसरतको अन्तिम
समयमा असफलता हातलाग्ने निश्चित भएपछि ओलीलाई दिएको समर्थन फिर्ता लिँदै
कांग्रेस माओवादीले दर्ता गरेको अविश्वास प्रस्तावको समर्थनमा गच्छदार
उभिएपछि सदनमा उनको चर्को आलोचना भएको थियो।
एमाले सरकारबाट फिर्ता हुनुपूर्व गच्छदारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल
र कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक-पटक भेटवार्ता गरी नयाँ सरकारमा
पनि आफू र आफ्नो पार्टीबाट उपप्रधानमन्त्रीसहित दुई मन्त्री बनाउन आग्रह
गर्दै आएका थिए।
No comments:
Post a Comment