Thursday, July 21, 2016

दलहरुबीच कुरा मिलेन, संसद बैठक भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौ, ६ साउन । सभामुख ओनसरी घर्ती र प्रमुख दलका शीर्ष नेताहरुबीचको बैठक बिना निष्कर्ष सकिएको छ । बजेट आश्रित विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमा भन्ने विषयमा दलहरुबीच सहमति हुन नसकेपछि बैठक निष्कर्षविहीन भएको हो । बैठक बिना निष्कर्ष सकिएपछि आज २ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइए पनि दलहरुबीच छलफल जारी रहेकाले २ बजेसम्मका लागि सारिएको थियो । तर, दुई बजेपछि पनि कुनै सहमति जुट्न नसकेपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । सभामुख सहित शीर्ष नेताहरुको बैठकमा विभिन्न चार एजेण्डामा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको बताइएको छ। दलहरुबीच विधेयक पारित गरेर अघि बढ्नुपर्ने, अविश्वासको प्रस्ताव फिर्ता र प्रधानमन्त्रीको राजीनामा एकसाथ हुनुपर्ने, नयाँ सरकार गठन प्रक्रिया र संविधान कार्यान्वयनमा दलहरुबीच सामूहिक प्रतिवद्धता जनाउनुपर्ने विषयमा छलफल भएको थियो । तर, यो विषयमा कुनै ठोस निष्कर्ष निष्कन नसकेपछि दलहरु आन्तरिक, द्विपक्षीय र त्रिपक्षीय छलफलमा भने लागिरहेका छन् । 

No comments:

Post a Comment