Monday, September 5, 2016

आधा दर्जन हत्याका आरोपी मियाँ पक्राउ

राजविराज, भदौ २० गते । सप्तरी र सुनसरीमा रकम लुटपाट गर्दै शृङ्खलाबद्ध रुपमा आधा दर्जन भन्दा बढी व्यक्तिको हत्या गरी फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
भारत विहार राज्य अन्र्तगत जिल्ला मधुवनी लौकहा बगमरिया ग्राम पंचायत घर भई हाल सप्तरीको सारस्वर–७ मा बसोबास गर्दै आएका मो. मस्तकिम भन्ने रईस मियाँलाई प्रहरीले बैदेशिक रोजगारका लागि जान लागेको अवस्थामा आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
अभियुक्त मियाँ माथि सप्तरीका चार व्यक्तिसँग मोटो रकम लुटी हत्या गरेर खाल्डोमा पुरेको आरोप रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । मियाँले सुनसरीमा पनि तीन जनाको हत्या गरिएको सूचना प्राप्त भएको उहाँले बताउनुभयो ।
पक्राउ परेका उपर २०६९ असोज १० गते सप्तरीको कल्याणपुरका सहबुँद मियाँ र बुहारी सगिरा खातुनसँग रु. दुई लाख ७६ हजार लुटेर हत्या गरी खाल्डोमा पुरिएको आरोप छ । यस्तै मिति २०७० मंसिरमा जण्डौल गाविस–६ बस्ने दुलारीदेवी साहसँग रु. छ लाख, र मिति २०७० चैत १ गते त्रिकौल गाविस–५ बस्ने निर्मलादेवी साहसँग रु.तीन लाख लुटेर हत्या गरी खाल्डोमा पुरिएको आरोप छ ।
२०७२ जेठ ६ गते सबुद मियाँ, २०७२ असार ४ गते सगिरा खातुन, २०७२ बैशाख २७ गते दुलारीदेवी साहलाई गाडिएको स्थानमा प्रहरीले उत्खनन गरी मानव कंकाल फेला पारिएको बताएको छ । मानव कंकालको डिएन परीक्षण पछि मृतकको पहिचान भएको बताएको छ ।
यस घटनामा संलग्न मुख्य आरोपति सकिल मियाँ दुई वर्षदेखि साउदीमा रहेको पत्रकार सम्मेलनमा बताउँदै प्रहरी प्रवक्ता दानबहादुर कार्कीले घटनामा संलग्न आरोपितहरु मध्ये अलाउद्धिन, हजरुन खातुन, नसरुल मियाँ पक्राउ परी पूर्पक्षका लागि कारागारमा रहेका छन ।

No comments:

Post a Comment