चिनियाँ राष्ट्रपतिको भ्रमण रद्ध हुनुले सरकारको कूटनीतिक अयोग्यतालाई प्रमाणित गरेको एमाले नेता योगेश भट्टराईले बताएका छन्।
सुनसरीको इटहरीमा बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार
सम्मेलनमा बोल्दै उनले सरकार देशभित्रका साथै बाहिर पनि अलोकप्रिय रहेको
पुष्टि भएको समेत आरोप लगाएका छन्। ‘उहाँहरूको लबिङ गर्ने क्षमता नै कमजोर
छ,’ उनले भने, ‘हामीले बनाइदिएको आधारलाई टेकेर पनि काम गर्न सक्नुभएन।’
उनले छिमेकीलाई चित्त नबुझेका आधारमा संविधान संशोधन नहुने बताउँदै
नरेन्द्र मोदीलाई पत्र लेखिएकोप्रति पनि रोष प्रकट गरे। ‘नरेन्द्र मोदीलाई
पत्र लेखेर हुँदैन,’ उनले भने, ‘संविधान संशोधन गर्नु छ भने प्रमुख
प्रतिपक्षी दलको नेता केपी ओलीलाई पत्र लेख्नुपर्छ।’ नेता भट्टराईले दुई
तिहाइ पुर्याउनका लागि पनि विपक्षीलाई चित्त बुझाउनुपर्ने जिकिर गरे।
भट्टराईले सीमांकन फेरबदल नहुने र झापा, मोरङ र सुनसरी नटुक्रिने पनि
स्पष्ट पारे। संशोधन प्रदेशसभाको सहमतिमा मात्र हुने बताउँदै व्यवस्थापिका
संसदबाट कुनै हालतमा सीमांकन हेरफेर नहुने बताए। उनले आफैंले लेखेको
संविधान पढ्न पनि कांग्रेस र एमाओवादीलाई आग्रह गरे। उनले सीमांकनको लागि
जनमत संग्रहमार्फत् निर्णय गर्न सकिने बताए।
नेता भट्टराईले वर्तमान सरकारलाई पन्चर भएको टायरको उपमा दिएका छन्। ‘पन्चर
भएको टायर कति दिन घिसार्नुहुन्छ, हामी पनि हेर्छौं,’ उनले भने, ‘सरकारलाई
केही समय मौका दिएर हेरिरहेका छौं, संसदबाट खबरदारी गरिरहेका छौं, आवश्यक
परे सडकबाट पनि खबरदारी गर्छौं।’
No comments:
Post a Comment