Tuesday, November 1, 2016

सत्ताका लागि हुने संविधान संशोधनमा एमालेले साथ दिँदैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता प्राप्तिका लागि हुने संविधान संशोधनमा एमालेले साथ दिन नसक्ने बताएका छन्। निवास बालकोटमा रिपोटर्स क्लबले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशका लागि आवश्यक परेमा मात्रै संविधान संशोधन गर्न एमाले तयार रहेको बताए। ‘देश र जनताको हितमा मात्रै संविधान संशोधन हुन्छ,’ उनले भने,‘सकरात्मक संशोधनका पक्षमा एमाले रहेको छ।’

संविधान संशोधन जरुरी भएमा संशोधन गर्न सकिने उनले बताए। कुनै प्रकारको दबाब र प्रयासबाट देशलाई अहित हुने गरि संविधान संशोधन नहुने उनले बताए।दलहरु मिलेर अघि बढेमा तीन वर्षमा नै देश सम्पन्न हुन सक्ने भन्दै उनले भने,‘त्यसका लागि दलहरुबीच उच्चस्तरको समझदारी हुन जरुरी छ। जात जातका नाममा क्षेत्रका नाममा हाम्रो विविधतालाई फुटाएर हुँदैन।’ 
जातको पहिचान, भूगोलको पहिचानका नाममा अनेक प्रकारका इन्जेक्सन दिएर मुलुकलाई प्रयोगको थलो बनाउन नहुने उनले बताए। उनले अहिलेसम्म सत्तापक्षसँग संविधान संशाेधनबारे छलफल नै नभएको बताए।
 
भारतबाट राजा जोगाउन खोज्ने जोगी आए
अध्यक्ष ओलीले पशुपतिको बनाकालीमा भएको हिन्दु सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्रलाई महाराज भनिएकोमा आपत्ति जनाए। ‘नेपाली जनताले फालेको राजतन्त्रलाई भारतबाट जोगीहरु आएर जोगाउन सकिन्छ?’ उनले भने, ‘रामनाम जपेर खरानी धसेर धर्म र संस्कृतिका नाममा राजतन्त्र फर्काउने प्रयास भइरहेको छ।’

आफूलाई निकै ठुला गणतन्त्रवादी ठान्नेहरुको सरकारले समेत यसबारेमा कुनै प्रतिक्रिया नदिएको भन्दै उनले आपत्ति जनाए। ‘विभिन्न नाउमा हाम्रो संस्कृती माथी हमला भएको छ,’उनले भने,‘परम्परा र संस्कृतिका नाममा प्रतिगामी कामलाई समेत छुट दिन सकिन्न।’

धर्म र संस्कृतिलाई राजनीतिमा प्रयोग गर्ने प्रवृत्तिलाई रोक्न पर्ने उनले बताए।  लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा कांग्रेसलाई कसरी मनाउदै हुनुहुन्छ? भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘तपाईँहरु देउसी खेल्नुस् त्यसपछि माहोल बन्छ। तपाईँहरुको देउसी शक्तिशाली छ।’

मुखर्जी एकैदिन जनकपुर र पोखरा जाने

भारतका राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षालाई हामीले मुख्य प्राथमिकता भएकाले त्यसको जिम्मेवारीका साथ सम्पूर्ण तयारी पूरा गरिएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। उनको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो। यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेका थिए।
भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ। उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन्। राष्ट्रपति मुखर्जीको स्वागतका लागि सबै प्रबन्ध पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछन्। परराष्ट्रमन्त्री डा महतका अनुसार राष्ट्रपति मुखर्जीको पुग्ने तथा सहभागी हुने सबै कार्यक्रम व्यवस्थित गरिएको छ। त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन्। उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।
भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ। भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ। उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन्।
राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उनीसँग शिष्टाचार भेट गर्नेछन्। भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ। सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानेछन्। राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

दाजुभाई–दिदीवहिनी सद्भावपूर्वक ‘भाईटीका’ मनाइँदै

नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि पाचाैं अर्थात् अन्तिम दिन भाईटीका। विशेषगरी दाजुभाई र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाईटीका लगाएर मनाउने दिन।
तिहारको पाँचौं दिन मंगलबार भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठापुर्वक सुखशान्ति दिर्घायु तथा श्रद्धा र ऐश्वर्यको कामना गर्दै चितवनमा पनि मनाईएको छ।धादिंङ गजुरीबाट चितवनमा भाईटीकाका लागि आउनुभएकी पार्वती अर्याल मुख्यगरी दाजुभाई र दिदी बहिनीको सम्बन्धको प्रतिक भाईटीका भएको बताए। परम्पराअनुसार दिदिवहिनीहरुले भाईलाई पूजा गरी सप्तरंगी टीका लगाएर मिष्ठान्न भोजन गराई भाईटीका मनाईन्छ ।यस्तै, दाजुभाईले पनि दिदी वहिनीलाई यसैगरी टीका लगाएर गच्छेअनुपार दक्षिणा तथा उपहार दिने र आपसी सौहार्द र खुसी साटेर भाइटीका मनाउने गरिन्छ।पंडित हरिप्रसाद शर्मा दाजुभाई दिदीवहिनीको सम्बन्धको प्रतिक नै भाईटीका भएको बताउँदै तिहारले सुखशान्ति, समृद्धि र भाईचाराको विकासको कामना गरेर मनाईने बताउँछन्। चितवनमा कतिपयले भाइटीकाको उत्तम समय ११ बजेर ५२ मिनेटमै लगाएका छन् भने कतिपय दिदीवहिनीहरुले केही अघि र केहीपछि पनि टीका लगाएका छन् । समयमै टीका लगाएको बताउनु हुने गोमा न्यौपाने दिदी बहिनी र दाजुभाईका लागि दर्शैं भन्दा पनि महत्वपूर्ण चाड तिहार भएको बताउँछन्।‘टाढा गएका दाईभाईहरु घरमा आउँछन्, दिदीवहिनीहरुको भेट हुन्छ, बर्षदिनभरीको सुखदुःख साट्ने दिन पनि तिहार हो,’ न्यौपाने भन्छन्, ‘दाजुभाईले दिदीवहिनी र दिदीवहिनीले दाजुभाईलाई टिका लगाएर पुज्ने दिन भएकाले भाइटिकाको महत्व ठूलो छ ।’बुधबार टीकाका बेला दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर पुजा गर्छन् । सप्तरंगी टीका लगाई मखमली, सयपत्री तथा गोदावरीको माला लगाइदिन्छन् । त्यसपछि मिष्ठान्नहरु विभिन्न प्रकारका मसला ओखर, कटुस, रोटी, चकलेट, फलफूल, नरिवल, मकैफूला तथा अन्य खानेकुराहरु दिईन्छ। चितवन शक्तिखोरमा पाँच दाजुभाईलाई टिका लगाउन आउनुभएकी अम्बिका घिमिरे अरु बेला माईत आउन नपाएपनि तिहारमा नियमित आउने गरेको बताउँछन्। यो पटक पनि उहाँले भाईलाई सप्तरंगी टीकाले रंग्याए। मखमली र सयपत्री माला लगाई दीर्घायु तथा सुस्वास्थ्यको कामना गरिएको घिमिरेले बताउनुभयो । दाजुभाईले पनि टिका लगाई गच्छे अनुसारको दक्षिणा दिएर शुभकामना साटासाट भएको उनी बताउँछन्। स्थानीय लोकनाथ ढुंगाना विहे गरेर टाढा गएका दिदीबहिनीहरु समेत आउने र दाजुभाई समेत कामको सिलसिलामा बाहिर भएपनि यो बेला आउने हुँदा तिहार आफैंमा सौहार्दताको चाडको रुपमा आफुले लिने गरेको बताउँछन्।

भारतीय राष्ट्रपति भ्रमण सवारी पूर्वाभ्यास

काठमाडौँ– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको मंगलबार पूर्व अभ्यास गरिएको छ।
मंगलबारको सवारी पूर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो।नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पूर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो।राष्ट्रिय सभागृहबाट लैनचौरस्थित भारतीय दूतावास तथा लैनचौरमै रहेको रेडिसन होटल पुगी राष्ट्रपति कार्यालय, शितलनिवासमा पूर्व अभ्यास सवारी चलाइएको थियो।पुर्व अभ्यास सवारी शितलनिवासबाट बत्तिसपुतलीस्थित होटल द्वारीकाज पुगी पशुपति मन्दिरसम्म गएको थियो । पशुपति मन्दिरबाट राष्ट्रपति मुखर्जी बस्ने भनिएको बौद्धस्थित होटल हायात पुगी मंगलबार सवारी पूर्व अभ्यास समापन भएको थियो । सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्सलगायतको व्यवस्था गरिनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले राष्ट्रपति मुखर्जी पुग्ने स्थानहरुमा आज सवारी आवागमनको पूर्व अभ्यास गरिएको जानकारी दिए। सवारी पूर्व अभ्यासका कारण केही समय सवारी अवरोध हुँदा तिहारमा टिका लगाउन हिँडेका सर्वसाधारणले कठिनाई भोग्नु परेको थियो । तिहारका कारण सडकमा कम सवारी गुडेकाले अन्य समयजस्तो लामो जाम भने सर्वसाधारणले भोग्नु परेन। भ्रमणको क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

राष्ट्रपति भण्डारीबाट भाइटीका प्रदान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिन्।भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो। सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई दिएका थिए।साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेलाई टीका तथा माला लगाई पूजा गरेका थिए। भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्। राष्ट्रपति भण्डारीले भनिन्– 'सबैकोे सुखशान्ति भएमात्र देशको समृद्धि हुन्छ ।'
मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्नेमा जोड दिइन्।

Monday, October 10, 2016

दसैंमा रम्दै मधेस

मधेसवासीले झरीबीच हर्षोल्लासकासाथ दसैंको स्वागत गरिरहेका छन् । दसैंमा तीन दिन छुट्टि पाएकोमा युवा बुद्धि चौधरी खुशीले गदगद छन् । ‘लुगा किन्छु, आमालाई मठ, मन्दिर र मेला घुमाउँछु,’उनले भने । मोरंग तेतरिया–६ का उनी विराटनगरको हस्पिटल चोकस्थित एक औंषधी पसलमा काम गर्छन् ।
‘सेवामुलक जागिर खाइएकोले अरु बेला फूर्सद हुन्न,’चौधरीले भने,‘लुगाफाटा किन्नलाई पनि दशमी नै आउनुपर्छ ।’अष्टमी, नवमी र दशमीसम्म आमासँग बस्ने र नातागोतालाई भेट्ने चौधरीले बताए ।
पिताको निधन भइसकेको र साख्खै दिदीबहिनी नभएकाले आमाको हेरचाहको जिम्मेबारी उनीमाथि छ । ‘एकादशीको बिहान काममा फर्किहाल्छु,’उनले भने,‘हस्पिटलको मुखमै पसल छ, धेरै दिन छुट्टि बस्नै मिल्दैन ।’
स्थानीय काली मन्दिरमा पुजा गरी फर्किरहेका सिराहा जिरोमाइल गाविस–८, धनगढी टोलका अर्का शैलेस सिंहले विजयादशमीको आगमनले राहत महसुस हुने गरेको बताए । उनी फुलपातीमा मन्दिर अघिल्तिर उभेर भक्तिमय माहौलको आनन्द लिइरहेका थिए ।
विराटनगरको एक प्राईवेट कलेजबाट कम्प्युटर विषयमा ओभरसियर सकेर थप अध्ययनकालागि भारत जाने तयारीमा रहेका उनले अरुबेला वर्षभरी अध्ययनमै व्यस्त हुने गरेको बताए । सिंहले बसबाट शनिबारै सिराहास्थित घर पुगि दसैंसम्म बा, आमा र भाइसँग वरिपरि लाग्ने मेला घुम्ने तथा मिठो परिकारहरुको आनन्द लिने बताए । ‘पढाईका कारणले विदा नमिल्ने हुनाले यस्तै चाँडबाँडमा मात्र बाआमासँग बस्न र उनीहरुको सेवा गर्न पाइन्छ,’उनले भने ।
कक्षा–१० सम्मको पढाई भारतको जयपुरमा गरेका उनले आफ्नो देशमा जस्तो दशहरामा कहि पनि रमाईलो नहुने गरेको सुनाए । ‘यहाँ त टोल र गली पिच्छैं रमझम छ, जहाँ पुगे पनि मजाले समय बित्छ,’ सिंहले भने ।
विराटनगर भानुटोलका बिकी ठाकुर र उनको मित्र मण्डलीले संगीत एवं नृत्यकासाथ दसैंको महत्वपूर्ण उत्सव फुलपातीको स्वागत गरिरहेका भेटिए । उनीहरु झरीमा रुझ्दै विच सडकमै कालीन ओछयाएर नृत्यमा मस्त थिए ।
आफ्नो समूहले दसैंको आगमनमा स्वत: स्फूर्त रुपमा सडकमा नृत्य शो गरिरहेको उनले बताए । एउटा व्यावसायिक नृत्य केन्द्रसँग आवद्ध उनीहरु २०/२५ जनाको समूह बनाएर दसैं, तिहार र छठलगायतका पर्वलाई संगीतमय बनाउँछन् ।
‘गीतसंगीत बिना चाँडपर्व खल्लो हुन्छ,’ठाकुरले भने,‘त्यही भएर निम्तो पाएको ठाउँमा गएर नृत्य कला देखाउँछौं, बोलाउनेको स्थिति हेरेर पैसा लिई वा नलिई कार्यक्रम गर्छौं ।’ यहाँस्थित भूमि प्रसासन चोकवासी व्यवसायी कृष्णपती लाल दास त घटस्थापनादेखि दसमीसम्मको अवधि पुजापाठमै बित्ने गरेको बताए ।
‘दशमीको मुख्य उद्देश्य नै दुर्गाको आराधना गर्नु हो,’उनले भने । नयाँ लुगा किन्न र मिठो खानलाई अचेलको समयमा दसैं नै कुर्नु नपर्ने बताए । ‘तर, नवरात्री पुजन त वर्षमा एक पटक मात्र हुन्छ,’उनले भने । यतिखेर चोरी बढ्ने हुनाले रमाईलोसँगै घरको सुरक्षा गर्नु उतिकै जरुरी भएको दासले बताए । 

छुरा प्रहारबाट सिरहामा एक घाइते

युवाहरुको एक समूहले सन्हैठामा आइतवार राति गरेको छुरा प्रहारबाट कृष्णपुर ७ का २० वर्षीय सञ्जय यादव गम्भीर घाइते भएका छन् । यादवको लहानस्थित डिभाइन हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यादवले आफ्नो घरबाट स७प १२४८ नम्बरको मोटरसाइकलमा सिरहा आउने क्रममा सन्हैठा गाउँमा युवाहरुले छुरा प्रहार गरेको बताए । ६ वटा मोटरसाइकलमा आएका सिरहा १ का पंकज यादव, कृष्णपुर पूर्वटोलका वीरेन्द्र यादव, खजनपुरका रामप्रताप यादव, औरहीका रविन्द्र दासलगायतका १३ जना युवाहरुले घेरा हाली निर्घात कुटपिट गरेको उनले दाबी गरे ।
कुटपिट गर्ने क्रममा पंकजले पछाडिबाट छुरा प्रहार गरेको उनले बताए ।
कृष्णपुर पूर्वटोलका वीरेन्द्र यादवलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहनुभएका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
यादवकी छोरी अनिता यादवले भनिन्, ‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।’
अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा  भनिन्, ‘अब बुबा क्यान्सरको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।’
गत अक्टोबर २ तारिखको दिन डा मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेको थियो ।
रोवोटिक सर्जरी प्रविधिमा आधारित उक्त शल्यक्रिया करिब चार घन्टामा सकिएको छोरी अनिताले जानकारी दिइन् ।। यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्किने कार्यक्रम रहेको छ ।

अप्ठेरोमा दसैंका लोक नर्तक

मोरङको ग्रामीण भेकका आदिवासी सन्थाल (सतार) र झाँगड समुदायकालाई विजयादशमीको सेरोफेरोमा परम्परागत पोसाकमा पस्कँदै आएको लोकनृत्यको तयारी गर्न कठिन भएको छ ।
मध्य असोजमा समेत जारी झरीले गाउँका कच्ची बाटो हिलामय भएर आवागमन असहज हुँदा उनीहरु अप्ठेरोमा परेका हुन् । दसैंमा साँस्कृतिक कार्यक्रम गर्नलाई ठाउँ छैन । उनीहरुले पुजा, भोज र लोक नृत्यकालागि सामग्री किन्नलाई समुदायका सदस्यहरुबाट चन्दा समेत उठाउन सकेका छैनन् । 
सन्थालकै मात्र ३५ घर रहेको मोरंगको थलाहा–८, विरटुलाको सवा सय मिटर बाटो त धानखेत जस्तै देखिन्छ । उक्त वडाको विरटुला, केशोरिया, बालुघाट, खाटोला र सिसुरटोलाका सय घरमा झन्डै ३ सय सन्थाल बस्छन् ।
ठाउँठाउँमा यस्तै समस्या हुँदा उनीहरु किनमेलकालागि सहरबजारसम्म पुग्न सकेका छैनन् । ‘झरी र गर्मीले आउन जान नसक्दा समुदायको भेला गर्न समेत मुश्किल छ,’ सन्थाल समुदायका २४ वर्षे शैला हेमरमले भने ।
झाँगड समुदायका अगुवा थलाहा–९, ढेलाखौकीका ६० वर्षीय रबिलाल उराँवले गाउँमा राम्रो बाटो नहुँदा र कतैबाट आर्थिक सहयोग नजुट्दा परम्परा जोगाउन हम्मे परेको बताए । ‘पानी पर्न छाडेको छैन, हिलोले गर्दा छिमेकीको घरसम्म जान सकिन्न,’उनले भने,‘स्वजातीबाट पुजा खर्च उठाउन पनि सकिएको छैन ।’ आफ्ना समुदायका सबैलाई निम्तो दिएर एक थलोमा भेला पारी झाँगड समुदायले गर्ने नृत्यलाई कर्माधर्मा भनिन्छ । उक्त गाविसका १ सय २ घरमा करिब ४ सय ३५ जना झाँगड जातीका बस्छन् ।
रोचक के छ भन्ने सन्थाल र झाँगड वस्तीभन्दा थोरै दुरीमा ४० मीटर पक्की पुल छ भने छेउकै सवा सय मिटर मार्ग कच्ची छ । उक्त पुलले पूर्वको थलाहा, पश्चिमको कटहरी–९ र उत्तरको भौडाहा गाविसलाई जोड्छ ।
झन्डै ५ वर्षदेखि यति छोटो बाटो नबन्दा चाँडपर्व, विहे, ब्रतबन्ध र स्थानीयको उपचारमा समेत बाधा भइरहेको हुन्छ । एम्बुलेन्सलाई थोरै परको पुल छेउको सडकमा उभाएर विरामीलाई खाटमा राखेर पुरयाउनु परेको स्थानीय ५३ वर्षीय महेन्द्र महतोले पीडा सुनाए ।
‘धेरै पटक धाएँ, केन्द्रले बजेट नछुट्टयाएको सडक डिभिजन कार्यालय विराटनगरले जवाफ दिन्छ,’ उनले भने ।  सडक कार्यालयको भरमा पर्दा र स्थानीयवासी नजाग्दा नाला निर्माण एवं ग्राभलिंग हुन नसकेको थलाहा गाविसका सचिव भोजराज भुजेलले बताए । ‘अर्काले बनाएर दिन्न, आफैले बनाउने सोच राखेर अघि बढ्नुपर्छ,’उनले भने ।
गिलो माटो भएको हुनाले वर्षायाममा गल्ने र गर्मीमा पत्थरजस्ते हुनेहुनाले आफूहरुसँग भएको कोदालोले नाला समेत खन्न नसकेको महतोले बताए । ‘बिना नाला बाटोको अस्तित्व रहन्न, खन्नलाई स्काईभेटर नै चाहिन्छ,’उनले भने । कात्तिक/मंसिरमा मौसम अनुकुल र माटो पनि हल्का हुनेहुनाले सडक बनाउन सजिलो हुने महतोले जानकारी दिए ।
स्थानीयको श्रमदान र स्काईभेटरको प्रयोग गर्दा करिब डेढ लाख रुपैयाँमै यो कार्य सम्पन्न हुने सचिव भुजेलले जानकारी दिए । ‘म यस पटक बजेट छुट्टयाएर जसरी नि बनाउँछु,’ उनले कान्तिपुरसँग भने ।    
उल्लेखनीय के छ भने यी लोक साँस्कृतिक सम्पदाको संरक्षणकालागि सन्थाल र झाँगडले सरकारी वा गैर सरकारी निकायबाट अहिलेसम्म कुनै सहयोग पाएका छैनन् । ‘ब्यानर र परम्परागत नयाँ लुगा किन्न समुदायकै प्रति व्यक्तिबाट चन्दास्वरुप सय रुपैयाँ उठाउँछौं,’ सन्थाल हेमरमले भने ।
संस्कृति एवं परम्परा जोगाउनलाई जनजाती/आदिवासीको नाउँमा सरकारले छुट्टयाउने रकम आफूहरुले अहिलेसम्म नपाएको झाँगड उराँवले प्रष्ट पारे ।
यही प्रयोजनकालागि वार्षिक निश्चित रकम निकासा हुने गरेको गाविस सचिव भुजेलले बताए । ‘उनीहरुकै नेतृत्व गर्नेले लान्छन्, नपाएको सुन्दा अचम्म लाग्यो,’उनले भने,‘आफ्नो हककालागि स्थानीय आफैं अघि नसरेसम्म खाने प्रवृति रोकिन्न ।’
दसैं मेला आयोजकहरुले लोक नृत्य प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने टोलीलाई प्रोत्साहनकालागि केही नगद पुरस्कार र प्रमाणपत्र दिने गर्छन् । उराँवको टोली गत वर्ष ४ हजार रुपैयाँ नगद हात पारेको थियो । यी दुवै जातीले दसैंमा एक अर्काको हात समाएर परम्परागत लोकबाजाहरु र सिठीको धुनमा लोकदोहोरी शैलीमा गीत गाउँदै खुट्टा अगाडी पछाडी गरी नाँच्छन् ।
सन्थालले पृथ्वीको उत्पतिकालदेखि दुर्गा महिमासम्मको गीत गाउँछन् भने झाँगडले प्रेम, विहे र युवायुवतीको सम्बन्ध बारेको लोकगीत गाउँदै मनोरम नृत्य प्रदर्शन गर्छन् । २०/२५ जनाको समूहमा सन्थालले नवमीदेखि एकादसीसम्म र झाँगडले विजयादशमीपछि पुर्णिमामा नाँच्छन् ।
उनीहरु निम्तो आयो भने जहाँ पनि पुगेर लोकनृत्य प्रस्तुत गर्छन् । अन्य चाँडपर्वमा सन्थाल समुदायका महिलापुरुष मिलेर नाँच्छन् । दसैंमा भने पुरुष मात्र नृत्य गर्छन् । झाँगड समुदायका महिलापुरुष भने हरेक सांस्कृतिक मौकामा मिलेरै नाँच्छन् ।
गाउँको खुल्ला सार्वजनिक थलोमा नवमीमा पुजा गरेपछि सन्थाल समुदायका पुरुषहरुले साँस्कृतिक झाँकीसहित आदिवासी नृत्य प्रस्तुत गर्छन् । ‘दशमी र एकादशीमा मन्दिर एवं मेलामा नाँच्छौं,’ हेमरमले भने । उनीहरु वरिपरिको गाउँ सिसवनीजहदा–१ स्थित दुर्गा मन्दिर र कटहरी–९ स्थित बजारमा लाग्ने मेलामा नाँच्छन् ।

Saturday, October 8, 2016

दुर्गा भवनीकाे खाेइँछ भर्ने विधि गरिँदै

जनकपुरधाम, असोज २३ गते। बडादसैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवम् सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् ।
नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले दुबो अक्षता, फल, बेसारको गिँड, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत सो विधिलाई निरन्तरता दिंदै आएका हुन् ।
भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आएर नौ दिनसम्म बस्ने र दशमीका दिन ससुराली जाने धार्मिक मान्यताका कारण ‘खोइँछ’ भर्ने गरिएको पाइन्छ ।
मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिरमा विवाहित मैथिल महिलाको घुइँचो लागेको छ ।
यसैबीच देवी दुर्गाका नवनिर्मित प्रतिमामा आँखा उघार्ने विधिसमेत सम्पन्न गरिएको छ । मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको अष्टमीका दिन बेलको डाँठबाट आँखा उघार्ने प्रचलने छ ।

दुर्गाका प्रतिमामा आज आँखाको नानी थपिने

मिथिलाञ्चलका दुर्गा मन्दिरमा आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ ।मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन रहेको छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ ।प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । सप्तमीका दिन पूजा गरेपछि मात्र आँखा राखिने चलन छ ।यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रण गरिन्छ, जसलाई बेलनौती भनिन्छ । यसअन्तर्गत बेलका रुखको एउटै हाँगामा फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रण गरिन्छ ।सो विधिका लागि तय गरिएको बेलको रुखतिर बाजागाजाका साथ श्रद्धालुहरू गीतनाद भजन गाउँदै पुग्ने गर्छन् ।सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ । शिव, पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकैपटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजास्थलतिर लगिन्छ । पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखिन्छ ।अष्टमी प्रारम्भ भएपछि सोही बेलको डाँठबाट दुर्गाको आँखाको नानी थपिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।

Tuesday, September 27, 2016

हाल कायम इलाका नै स्थानीय तहको सीमाना र संख्या : मन्त्रिपरिषद

सरकारले हाल कायम इलाकाहरूलाई आधार मानेर स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको मंगलबार साँझ सिंहदरबारमा बसेको बैठकले प्रमुख तीन दलबीच गत आइतबार भएको सहमतिलाई आधार मानी इलाकालाई मुख्य आधार मानेर स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने निर्णय गरेको हो। हाल देशभर ९ सय २७ वटा इलाका कायम छन्।
बैठकले इलाकाभित्र रहेका नगरपालिकालाई नगरपालिकाको मान्यता दिने तथा भौगोलिक सुगमता र जनताले पाउने सुविधालाई ध्यान दिएर स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिए।
स्थानीय तहको पुनःसंरचना सम्बन्धि आयोगले आफ्नो काम अन्तिमतिर पुर्याएका बेला सरकारले गरेको यो निर्णयले पुनःसंरचनाको काम लम्बिने देखिएको छ। भौगोलिक क्षेत्र अनुसारको जनसंख्याको वितरण, क्षेत्रफल, जिल्लाको प्रकृति लगायतका विभिन्न पाँच वटा मापदण्ड बनाएर स्थानीय तहको संख्या ५ सय ६५ को आसपास हुने गरी काम गरिरहेको आयोगले यहि असोज मसान्तभित्र प्रतिवेदन बुझाउने तयारी गरिरहेको थियो।
मन्त्रिपरिषद बैठकले पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप दुर्घटना र मंगलबार धादिङमा भएको यात्रुबाहक बस दुर्घटनाको छानविनका लागि पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई मुग्लि–नारायणगढ सडकखण्डमा दुर्घटना न्यूनीकरण गर्ने तथा सवारी आवागन सहज बनाउने उपायबारे सुझाव दिने कार्यक्षेत्र पनि तोकिएको छ।

तमलोपा अध्यक्ष ठाकुरको घरमा डकैती गर्ने उनकै पूर्व चालक

काठमाडौं– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा लुटपाटगर्ने ब्यक्ती उनकै पूर्व गाडी चालक र नियमित आउजाउगर्ने कार्यकर्ता भएको खुलेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैतीको आरोपमा पक्राउ गरेका रन्जितप्रसाद गुप्ता ठाकुरको गाडी चालक र अर्का प्रमानन्द भन्ने प्रचण्डप्रताप सिहं नियमित सम्पर्कमा रहेका ब्यक्ती भएको खुलेको हो।
अध्यक्ष ठाकुरको भक्तपुर सानोठिमीस्थित घरमा भदौ २४ गते एकजना हतियार सहितको नकावधारी ब्यक्तीले डकैती गरेको थियो। डकैती गर्ने क्रममा ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुर(झा)लाई पूर्व चालक गुप्ताले घाईते समेत बनाएका थिए। गुप्ताले  घटनाका दिन साँझ पानी परिरहेको अवस्थामा अचानक झाको आँखामा खुर्सानीको धुलो छरेर ठाकुरको कोठाबाट एउटा ब्रिफकेश चोरी गरेका थिए।
महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले तीनपटकको प्रयासमा गुप्ता डकैतीमा सफल भएको बताए । उनका अनुसार भदौ २२ र २३ गते डकैतीको प्रयास गरेका गुप्ताले २४ गतेमात्र मौका पाएका थिए। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार २०७२ असोजदेखि फागुनसम्म अध्यक्ष ठाकुरका सवारीचालक रहेका गुप्ताले ब्रिफकेशमा धेरै रकम हुने अनुमानमा चोरी गरेका हुन । पक्राउ परेका सिंह जागिरको सिफारीस र पार्टी कार्यकर्ताका हैसियतले अध्यक्ष ठाकुरको घर आउजाउ गर्दै आएका थिए।
‘घरमै बसेको एकजना र नियमित आईरहने अर्कोले चोरी गरेको देखियो, घटनास्थलका बिषयमा पूर्व जानकारी भएकाले छोटोसमयमा डकैती सम्भव भएको रहेछ,’ एसपी कार्कीले भने। उनका अनुसार डकैती पछि गुप्ता र सिंह केही दिन सर्लाही र महोत्तरी बसेर केही दिन अघिमात्र काठमाडौं आएका थिए।
प्रहरीका अनुसार डकैती भएको अध्यक्ष ठाकुरको ब्रिफकेशमा करिब पचास हजार रकम र अन्य कागजपत्र रहेको परिवारले जानकारी दिएको छ।

भारतले सार्क सम्मेलन बहिष्कार गर्ने

काठमाडौं- भारतले कात्तिक अन्तिम साता पाकिस्तानको इस्लामाबादमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन बहिष्कार गर्ने जनाउ दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मंगलबार राति ट्विट गर्दै यसबारे सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराइसकेको खुलासा गरे । 
यस क्षेत्रमा सीमापार आतंकवादी आक्रमण बढेको र एक देशले अर्कोका आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको अवस्थामा इस्लामाबादमा हुने क्षेत्रीय सम्मेलन सफल हुन नसक्ने विदेश मन्त्रालयको भनाइ छ।
‘क्षेत्रीय सहयोग र आतंकवाद सँगसँगै हिँड्न नसक्ने भएकाले भारत इस्लामाबादमा हुने क्षेत्रीय सम्मेलनमा भाग लिन सक्दैन,’ स्वरुपले भनेका छन्, ‘केही अन्य देशले पनि इस्लामबादमा हुने सम्मेलनप्रति रिजर्भेसन राखेको जानकारी हुन आएको छ ।’
 भारतीय पत्रिका हिन्दुले पनि भुटान, बंगलादेश र अफगानिस्तानले पनि रिजर्भेसन देखाएको भारतीय विदेश मन्त्रालयको स्रोत उद्धृत गर्दै जनाएको छ ।
सम्मेलन कात्तिक २४ र २५ गते इस्लामाबादमा हुने तय भएको छ । १८औं शिखर सम्मेलन २०७१ मंसिर ९ र १० गते काठमाडौंमा भएको थियो ।
भारतीय विदेश मन्त्रालयको आरोपमा पाकिस्तानको नाम भने उल्लेख छैन।

विधेयक मस्यौदा मनपरी बदल्यो गृहले

काठमाडौं-सरकारले निर्वाचन आयोगद्वारा प्रस्तावित विधेयक कमजोर बनाई संसद्मा पेस गर्ने तयारी गरेको छ।
गृह मन्त्रालयले संसद्मा दर्ता गर्न पठाइएका निर्वाचनसम्बन्धी पाँचै वटा विधेयक मस्यौदामा निर्वाचन नै कमजोर हुने किसिमले हेरफेर गरेको आयोग स्रोतले जानकारी दिएको छ ।
विधेयक सम्भवतः बिहीबार दर्ता हुनेछन् ।
आयोग स्रोतअनुसार संसद् विघटन भएको अवस्थामा निर्वाचन मिति तोक्ने अधिकार राष्ट्रपतिमा हुने भए पनि अन्य सबै अधिकार निर्वाचन आयोगसँग मात्र हुनुपर्ने मस्यौदा पनि हेरफेर गरिएको छ ।
आयोगद्वारा प्रस्तावित मस्यौदाको दफा ५ मा संविधान र संघीय कानुन बमोजिम हुने निर्वाचन मिति आयोगले तोक्ने प्रावधान राखिएको थियो । मिति तोक्नुअघि आयोगले सरकारसँग परामर्श गर्ने व्यवस्थासमेत यसमा राखिएको थियो ।
भारतमा भने आयोगले सरकारसँग मिति तोक्नुअघि परामर्श गर्ने व्यवस्थासमेत छैन । आयोगले आवश्यकताअनुसार निर्वाचन मिति तोक्ने गरेको छ ।
परिवर्तित मस्यौदाको दफा ३ मा यो अधिकार सरकार आफैंले लिएको छ । ‘संघीय कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक नेपाल सरकारले आयोगको परामर्शमा संविधान र कानुनबमोजिम निर्वाचन गराउन मिति तोक्नेछ,’ सरकारद्वारा प्रस्तावित मस्यौदामा भनिएको छ ।
स्थानीय निकाय निर्वाचन हुन नसकेको करिब दुई दशक पुगिसकेको छ । दलहरूको अनुकूलतामा सरकारले निर्वाचन तोक्ने प्रावधान राख्दा समयमा निर्वाचनको सुनिश्चितता नहुने देखेर आयोगले यस किसिमको प्रस्ताव अघि सारेको हो ।
‘हामीभन्दा अघिका निर्वाचन आयुक्त र आयोगको अनुभवको निचोड नै हाम्रो मस्यौदा प्रस्ताव हो,’ आयोगका एक अधिकृतले नागरिकसँग भने, ‘हाम्रो यसमा कुनै स्वार्थ छैन, यो लोकतन्त्रका लागि धेरै महŒवको विषय हो ।’
आगामी वर्ष माघ ७ सम्म संसद्, प्रान्त र स्थानीय तहको निर्वाचन नगरी अहिलेको संविधानको कार्यान्वयनमा संकट पर्ने दलहरूले आफैं बताइरहेका छन् । त्यसका लागि आयोगले राजनीतिक दल सम्बन्ध ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह निर्वाचन कार्यविधि ऐन, प्रदेश सभा निर्वाचन ऐन, राष्ट्रपति उपराष्ट्रपति निर्वाचन ऐन र राष्ट्रिय सभा निर्वाचन ऐन तर्जुमा गर्नुपर्नेछ ।
त्यसै आधारमा आयोगले तत्कालका लागि प्रस्ताव गरेका पाँचै वटा ऐन मस्यौदामा गृह मन्त्रालयले कुनै न कुनै रुपमा सरकारअनुकूल हुने गरी हेरफेर गरेर प्रस्तुत गरेको पाइएको छ ।
स्थानीय तह निर्वाचन ऐन, राजनीतिक दल सम्बन्ध ऐन, निर्वाचन आयोग ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन कार्यविधि ऐन तत्काल आयोगले अघि बढाउन चाहेको हो ।
राजनीतिक सम्बन्ध ऐन अध्यादेशमा दलहरूलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा हुने मतदानको कुल सदर मतको कम्तीमा १ दशमलव ५ प्रतिशत मत प्राप्त गर्ने दललाई सरकारले तोकेबमोजिम अनुदान दिने प्रावधान राखिएको थियो । यस प्रयोजनका लागि सरकारले छुट्टै अनुदान कोष राख्न सक्ने व्यवस्था त्यसमा गरिएको थियो ।
सरकारलाई आर्थिक भार पर्ने तर्क गरेर अहिले त्यसलाई हटाइएको छ । खासमा निर्वाचनमा प्रयोग हुने कालोधनले ल्याउने दीर्घकालीन प्रभावभन्दा तत्कालको यो आर्थिक भार उपयुक्त हुने राय आयोगका पदाधिकारीले सरकारसँग राखेका थिए ।
दललाई यसरी दिइएको अनुदानको ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत आफूखुसी खर्च गर्न पाउने प्रावधानसमेत राखिएको थियो । अझ संविधानले तोकेभन्दा बढी महिला र दलितलाई उम्मेदवार बनउनेलाई थप अनुदान रकम प्रोत्साहनस्वरुप दिन पाउने व्यवस्थासमेत राखिएको थियो । तर, दलहरूले नियममा बाँधिनुपर्ला भनेर यो प्रावधान नै हटाउने काम भएको छ ।
दलहरूले संविधानअनुसार बर्सेनि बुझाउनुपर्ने लेखापरीक्षण प्रतिवेदन बुझाउनुपर्ने प्रावधानसमेत राजनीतिक दलसम्बन्धी ऐनको मस्यौदाबाट हटाइएको छ । अहिलेसम्म दलहरूले तीन वर्षसम्म लगातार प्रतिवेदन नबुझाए मात्र दल दर्ता खारेज हुने र प्रत्येक वर्ष नबुझाउनेलाई एक सय रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको थियो ।
नयाँ मस्यौदामा आयोगले दलहरूलाई जवाफदेही बनाउन प्रत्येक वर्ष लेखापरीक्षण प्रतिवेदन बुझाउने र त्यसो नगरेमा दल दर्ता खारेज गर्ने प्रावधान अघि सारेकोमा त्यसलाई हटाइएको छ । दलहरूका यस्ता कामको अनुगमन गर्ने जिम्मेवारी भएको आयोग आफैंले बर्सेनि लेखापरीक्षण गराउँछ तर उसले दलहरूलाई भने जिम्मेवार बनाउन नसक्ने भएको छ ।
संविधानको धारा २७१ अनुसार निर्वाचन प्रयोजनका लागि निवेदन दिँदा राजनीतिक दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने स्पष्ट उल्लेख गरेको छ । तर, मस्यौदामा यसलाई बेवास्ता गरिएको छ।
‘दलहरू मंगलग्रहबाट आएका होइन, जसले मुलुकका अन्य नागरिकभन्दा विशेष सुविधा पाउने व्यवस्था गर्न मिल्छ,’ ती अधिकृतले भने, ‘हामीले पठाएको मस्यौदाअनुसार नै विधेयक संसद् जान पाउनुपर्छ । त्यहीँबाट यसको छिनोफानो हुनेछ ।’
संवैधानिक निकायका लागि प्रधानमन्त्री कार्यालय सम्पर्क निकाय हुने गरेको छ । निर्वाचन आयोगको हकमा भने गृह मन्त्रालय सम्पर्क निकाय हो । निर्वाचन आदिमा सुरक्षालगायत कामको जिम्मेवारी यसको भए पनि सम्पर्क निकाय प्रधानमन्त्री कार्यालय हुनुपर्ने माग समेत आयोगको रहेको स्रोत जनाउँछ ।

पूर्व गृहमन्त्री घिमिरे सवार कार दुर्घटनाको छानविन गर्न समिति गठन

काठमाडौं- मन्त्रिपरिषद बैठकले पूर्व गृहमन्त्री माधव घिमिरे सवार कार दुर्घटना र धादिङ लपाङको बस दुर्घटनाबारे छानविन गर्न पूर्व प्रहरी प्रमुख कुवेर रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ।
पूर्व मुख्य सचिव तथा गृहमन्त्री घिमिरे सवार कार आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो।  घिमिरेसहित उनका तीन दाजुभाइको अवस्था अझै अज्ञात रहेको छ। दुर्घटनामा परी घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी घिमिरे, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक (सई) रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको थियो।
सरकारले छानविन समितलाई पृथ्वी राजमार्ग र मुगलिन नारायणगढ सडक खण्डमा आवागमनलाई सरल बनाउन र सवारी दुर्घटनालाई न्युनीकरण गर्न के उपाय अवलम्वन गर्न सकिन्छ भन्नेबारे सुझाव पेस गर्न समेत भनेको छ।
यस्तै मन्त्रिपरिषदले यातायात सुरक्षाबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल आवश्यक व्यवस्था गर्न भनेको छ।
मन्त्रिपरिषदले स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्दा पहिला जिल्लामा कायम रहेका इलकाहरुलाई मुल आधार बनाउने निर्णय गरेको छ। यस अघि आइतबार तीन दलबीच सीमाङकनमा पुराना इलाकालाई आधार बनाउने सहमति भएको थियो।  इलाकामा नगरपालिका भइसकेको छ भने त्यसलाई नगरपालिका कायम गर्ने र त्यसमा अरु केही क्षेत्रहरु थप गर्न सकिने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ। इलकालाई आधार बनाउँदै सुगमता अनुसार गाउँपालिका निर्धारण गर्ने भनेको छ। 

Tuesday, September 20, 2016

मधेश आन्दोलनका शहिदहरूको श्रद्धाञ्जली कार्यक्रम

कालो दिवस कार्यक्रमको तेश्रो दिन आज मधेश आन्दोलनका शहिदहरूको श्रद्धाञ्जली कार्यक्रम कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा संघीय गठबन्धन मधेशी युवाको आयोजन, युवा नेता दिपक पाण्डेयको अध्यक्षता तथा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झा, संघीय समाजवादी फोरमका के स सहसराम यादव, तमलोपाका के स मधुसुदन चौधरी, नेसपाका सह-महासचिव निसार अहमद खाँ, के स रवीन्द्रनाथ मिश्रा, तमसपा के के स मोहम्मद हई, नयाँशक्ति नेपालका के स राम लौटन तिवारी, नेसपा का जिल्ला अध्यक्ष कालीपद शर्मा सहितका नेताहरूले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झाले मधेश आन्दोलन सहित देश र मधेशका सबै आन्दोलनका अमर शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अधिकार प्राप्ति नभएसम्म, देशमा शहिद हुनेहरूको क्रम बन्द नहुने तथ्य स्पष्ट गर्नु भयो । वहांले आफ्नै देशमा मधेशीहरुको "अंश र वंश" माथी राज्यपोषित षड़यन्त्र र आक्रमण भैरहेको कुरा बताउनु भयो । वहांले मधेशीको पहिचान, पहूंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वमा समुचित हिस्सेदारी नदिइएसम्म तथा संबिधान संसोधन गरी नागरिकता, संघियता, समानुपातिक समावेशिकरण, समान जनसंख्याको अनुपातमा प्रतिनिधित्व, मधेशको भाषा हिन्दी, अवधी, भोजपुरी र मैथिलीलाइ मान्यता नदिइएसम्म जारी रहने बताउनु भयो । वहाँले बर्तमान प्रधानमन्त्री प्रचण्डले संबिधान संसोधन गरी मधेशीको मांग सम्बोधन गर्ने आश्वासन र सम्झौता गर्नु भएकोले केहीं समय आन्दोलन स्थगित गरिएको बताउनु भयो ।

Sunday, September 18, 2016

संविधान दिवसको अवसरमा निकाएलिएको र्‍यालीमा मोर्चाको हस्तक्षेप

रौतहट- संविधान दिवसको अवसरमा रौतहट सदरमुकाम गौरमा निकालिएको र्‍यालीमा मधेसी मोर्चाका कार्यकर्ताले हस्तक्षेप गरेका छन्। प्रमुख जिल्ला अधिकारी नरहरि बराल र जिल्ला प्रहरी प्रमुख डा. गणेश रेगमी सहभागी उक्त र्‍यालीमा मोर्चा कार्यकर्ताले हस्तक्षेप गरेका हुन्।
मोर्चाका कार्यकर्ताले हस्तक्षेप गर्न खोज्दा प्रहरीसँग सामान्य झडप पनि भएको थियो। उनीहरुले नयाँ संविधान मुर्दावाद भन्दै नारबाजी गरेका छन्।
सद्‍भावनाका केन्द्रीय सहमहासचिव अजय गुप्ता, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनिवास यादव र तमलोपाका नेता अनिल सिंहलगायतको उपस्थितिमा नेपालको संविधान २०७२ जलाइएको थियो।

Saturday, September 17, 2016

धुमधामका साथ विश्वकर्मा पूजा गरियो

प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज जनकपुरमा सुनचाँदी कालिगढ संघ तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइएको छ । 
जनकपुर उपमहानगरपालिका वडा नं. ४ स्थित सुनचाँदी बजारमा एक सप्ताह पहिलादेखि विश्वकर्मा पूजाको तयारीमा जुटेका थिए । सुनचाँदी बजार विश्वकर्मा पूजामा निक्कै सजाइए बाबा विश्वकर्माको प्रतिमा बनाएर पूजा आजा गरिएको छ । त्यस्तै जनकपुरको विभिन्न चौक चौराहामा धातुजन्य कलकारखाना व्यवासायीहरुले भव्यता पूर्वक पूजा गरिएको छ । विश्वकर्मा पूजाका दिन दिनभरि भक्तिमय गीतले जनकपुर गुन्जमय देखिएको छ । विशेष गरी आजैकैदिन अधिकांश उद्योगीहरुले आआफ्ना उद्योगको उद्घाटन समेत गरेको छ ।
विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रङ्गीचङ्गी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ । सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिवन तथा विभिन्न ध्वजापताका लगाएर सिङ्गारिएको छ ।
गाडी मर्मत सम्भार गर्ने ग्यारेजलगायत प्रत्येक सानाठूला उद्योगमा आजै मर्मत सामग्रीको टिकाउ र मुनाफाको कामना गर्दै पूजा गर्ने प्रचलन रहेको छ । 
बाबा विश्वकर्माको पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । विश्वकर्मा पूजाका अवसरमा जनकपुर तथा ग्रामीण क्षेत्रमा पछिल्ला वर्ष विभिन्न उद्योग तथा कलकारखानामा विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि विसर्जन गर्ने प्रचलन रहेको छ ।विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको देखिएको छ ।

डिएफओलाई न्याय सम्पादन सम्बन्धी तालिमको आभाव

सरकारले जिल्ला वन अधिकृतलाई न्याय सम्पादन गर्नको लागि अर्धन्यायिक निकायको गठन गरिएको भएको यस सम्बन्धी तालिमको आभाव रहेको कारणले न्याय सम्पादन सम्बन्धी समस्या आएको छ। न्याय सम्पादन गर्नको लागि तालिमको आभाव देखिएको कारणले गर्दा समस्या आएको    हो । जिल्ला वन कार्यालय धनुषामा समेत न्याय सम्पादन सम्बन्धी तालिमको आभाव देखिएको कारणले गर्दा समस्या आएको    हो ।
जिल्ला वन अधिकृत विरेन्द्र साहले केही दिन सम्म निमित्त कार्यालय प्रमुख मात्रै रहेको कारणले काम गर्न समस्या आएको थियो । उनिहरुले मुद्दा दर्ता गरेपछि न्याय सम्पादन गर्ने अधिकार नरहेको कारणले गर्दा समस्या आएको     हो । अहिले आएर वन अधिकृतलाई न्या सम्पादन सम्बन्धी तालिम दिएको कारणले गर्दा न्याय सम्पादनमा सहज भएको साहले बताए । त्यस कारणले गत वर्ष आफुहरुले १८ थान मुद्दाको फर्छौट गरेको समेत जानकारी दिए ।
वन कार्यालय धनुषालेगत आर्थिक वर्षमा १३ जना पक्राउ परेको र जस मध्ये ३० जनालाई अभियुक्त बनाएको र ४ जना फरार रहेको जानकारी दिइएको छ। त्यसैगरि गत आर्थिक वर्षमा जिम्मेवारी सरेको मुद्दाको संख्या ४८ रहेको छ । जस मध्ये ३९ जना अभियुक्तको मुद्दा फर्छौट गरेर १८ थान मुद्दा फर्छौट गरेको जानकारी दिएको छ ।
वन कार्यालय धनुषाले कुनैकिसिमको आर्थिक लाभ नलिएको निष्पक्ष रुपमा न्याय सम्पादन गरिएको जानकारी दिएको छ ।

डेली एक्सपे्रस राष्ट्रिय दैनिक २०७३ आश्विन २ गते

डेली एक्सपे्रस राष्ट्रिय दैनिक २०७३ आश्विन २ गते




Friday, September 16, 2016

यो उपाय अपनाएमा शिघ्रपतनको समस्या समाधान हुन्छ



यौनसम्पर्क गरेलगत्तै वा गर्नुभन्दा पहिला नै वीर्य स्खलन भएमा त्यसलाई शिघ्रपतन भनिन्छ यसको ९५ प्रतिशत कारण भनेको मानसिक समस्या हो यौनसम्पर्क गर्दा के हुने होला ?, मैले सन्तुष्टि दिन सकिन भने के हुने होला ?, मेरो छिट्टै वीर्यस्खलन भईहाल्छ होला, बच्च पेटमा आएमा के गर्ने होला भन्ने खालको सानोसानो कुराहरुले पनि शिघ्रपतनलाई सघाईराखेको हुन्छ सबैभन्दा पहिलो कुरा मानसिक रुपमा चिन्ता नगर्ने, दुईजना यौनसाथीहरुबीचमा सहज ढङ्गले यौनसम्बन्धी कुराहरु गरेमा मात्र यसको समाधान केही सहजता आउनसक्छ अर्को बुझ्नैपर्ने कुरा के हो भने पहिलोपटक यौनसम्पर्क गर्दा सबैलाई शिघ्रपतन हुन्छ तर शिघ्रपतनको समस्या यौनसम्पर्क गर्दै जाँदा बिस्तारै ठिक हुदैँ जान्छ त्यसकारण ९५ प्रतिशत कारण मानसिक समस्या नै हो अरु प्रतिशत कारण भनेको संक्रमण वा अन्य कुनै समस्याले गर्दा पनि हुनसक्ने संभावना हुन्छ
लामो समयसम्म हस्तमैथुन नगरेको, लामोसमयसम्म यौनसम्पर्क नगरेको तर यौनसम्पर्क गर्न मन लागेको ब्यक्तिलाई पनि शिघ्रस्खलनको समस्या आउन सक्छ यसलाई कम गर्नको लागी हस्तमैथुन गर्न सकिन्छ, त्यसैगरि अर्को उपाय भनेको यौनसाथीले गर्ने सहयोग हो यौनसम्पर्क गदैजाँदा जव स्खलन हुन लाग्छ तव योनीबाट लिङ्ग निकालेर यौनसाथीले लिङ्गलाई च्याप्प समात्ने, एकछिन समातेपछि फेरी यौनसम्पर्क गर्ने, यो उपायलाई यौनसम्पर्क गर्दा अपनाउँदै गएमा बिस्तारै शिघ्रस्खलनको समस्या घटेर जान्छ तर सबैकुराको पछाडी मानसिक समस्या नै हो मानसिक तनावबाट मुक्त रहनुभयो भने शिघ्रपतनको समस्या बिस्तारै समाधान हुदैँ जानेछ




विश्वकर्मा पूजा आज, वास्तु दिवस पनि मनाइँदै

काठमाडौँ, असोज आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन्
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमाभेद द्वारकाबनाइ लुकाएको धार्मिक विश्वास एकै रातमा समुद्रका बीचमाभेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ
प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ विश्वकर्माले निर्माण गरेकोभेद द्वारकाअहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ब्रह्माका पुत्र विश्वकर्माले लङ्कालगायत दैवीकालका सबै संरचनाको निर्माण गरेको विश्वास
यही सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन्
आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन्

काठमाडौँ, १ असोज । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । ब्रह्माका पुत्र विश्वकर्माले लङ्कालगायत दैवीकालका सबै संरचनाको निर्माण गरेको विश्वास छ ।
यही सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् ।
आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।
- See more at: http://www.sambadmedia.com/?p=286900#sthash.BBurf0Pj.dpuf