Tuesday, November 1, 2016

सत्ताका लागि हुने संविधान संशोधनमा एमालेले साथ दिँदैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता प्राप्तिका लागि हुने संविधान संशोधनमा एमालेले साथ दिन नसक्ने बताएका छन्। निवास बालकोटमा रिपोटर्स क्लबले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशका लागि आवश्यक परेमा मात्रै संविधान संशोधन गर्न एमाले तयार रहेको बताए। ‘देश र जनताको हितमा मात्रै संविधान संशोधन हुन्छ,’ उनले भने,‘सकरात्मक संशोधनका पक्षमा एमाले रहेको छ।’

संविधान संशोधन जरुरी भएमा संशोधन गर्न सकिने उनले बताए। कुनै प्रकारको दबाब र प्रयासबाट देशलाई अहित हुने गरि संविधान संशोधन नहुने उनले बताए।दलहरु मिलेर अघि बढेमा तीन वर्षमा नै देश सम्पन्न हुन सक्ने भन्दै उनले भने,‘त्यसका लागि दलहरुबीच उच्चस्तरको समझदारी हुन जरुरी छ। जात जातका नाममा क्षेत्रका नाममा हाम्रो विविधतालाई फुटाएर हुँदैन।’ 
जातको पहिचान, भूगोलको पहिचानका नाममा अनेक प्रकारका इन्जेक्सन दिएर मुलुकलाई प्रयोगको थलो बनाउन नहुने उनले बताए। उनले अहिलेसम्म सत्तापक्षसँग संविधान संशाेधनबारे छलफल नै नभएको बताए।
 
भारतबाट राजा जोगाउन खोज्ने जोगी आए
अध्यक्ष ओलीले पशुपतिको बनाकालीमा भएको हिन्दु सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्रलाई महाराज भनिएकोमा आपत्ति जनाए। ‘नेपाली जनताले फालेको राजतन्त्रलाई भारतबाट जोगीहरु आएर जोगाउन सकिन्छ?’ उनले भने, ‘रामनाम जपेर खरानी धसेर धर्म र संस्कृतिका नाममा राजतन्त्र फर्काउने प्रयास भइरहेको छ।’

आफूलाई निकै ठुला गणतन्त्रवादी ठान्नेहरुको सरकारले समेत यसबारेमा कुनै प्रतिक्रिया नदिएको भन्दै उनले आपत्ति जनाए। ‘विभिन्न नाउमा हाम्रो संस्कृती माथी हमला भएको छ,’उनले भने,‘परम्परा र संस्कृतिका नाममा प्रतिगामी कामलाई समेत छुट दिन सकिन्न।’

धर्म र संस्कृतिलाई राजनीतिमा प्रयोग गर्ने प्रवृत्तिलाई रोक्न पर्ने उनले बताए।  लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा कांग्रेसलाई कसरी मनाउदै हुनुहुन्छ? भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘तपाईँहरु देउसी खेल्नुस् त्यसपछि माहोल बन्छ। तपाईँहरुको देउसी शक्तिशाली छ।’

No comments:

Post a Comment