Monday, October 10, 2016

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहनुभएका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
यादवकी छोरी अनिता यादवले भनिन्, ‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।’
अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा  भनिन्, ‘अब बुबा क्यान्सरको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।’
गत अक्टोबर २ तारिखको दिन डा मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेको थियो ।
रोवोटिक सर्जरी प्रविधिमा आधारित उक्त शल्यक्रिया करिब चार घन्टामा सकिएको छोरी अनिताले जानकारी दिइन् ।। यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्किने कार्यक्रम रहेको छ ।

अप्ठेरोमा दसैंका लोक नर्तक

मोरङको ग्रामीण भेकका आदिवासी सन्थाल (सतार) र झाँगड समुदायकालाई विजयादशमीको सेरोफेरोमा परम्परागत पोसाकमा पस्कँदै आएको लोकनृत्यको तयारी गर्न कठिन भएको छ ।
मध्य असोजमा समेत जारी झरीले गाउँका कच्ची बाटो हिलामय भएर आवागमन असहज हुँदा उनीहरु अप्ठेरोमा परेका हुन् । दसैंमा साँस्कृतिक कार्यक्रम गर्नलाई ठाउँ छैन । उनीहरुले पुजा, भोज र लोक नृत्यकालागि सामग्री किन्नलाई समुदायका सदस्यहरुबाट चन्दा समेत उठाउन सकेका छैनन् । 
सन्थालकै मात्र ३५ घर रहेको मोरंगको थलाहा–८, विरटुलाको सवा सय मिटर बाटो त धानखेत जस्तै देखिन्छ । उक्त वडाको विरटुला, केशोरिया, बालुघाट, खाटोला र सिसुरटोलाका सय घरमा झन्डै ३ सय सन्थाल बस्छन् ।
ठाउँठाउँमा यस्तै समस्या हुँदा उनीहरु किनमेलकालागि सहरबजारसम्म पुग्न सकेका छैनन् । ‘झरी र गर्मीले आउन जान नसक्दा समुदायको भेला गर्न समेत मुश्किल छ,’ सन्थाल समुदायका २४ वर्षे शैला हेमरमले भने ।
झाँगड समुदायका अगुवा थलाहा–९, ढेलाखौकीका ६० वर्षीय रबिलाल उराँवले गाउँमा राम्रो बाटो नहुँदा र कतैबाट आर्थिक सहयोग नजुट्दा परम्परा जोगाउन हम्मे परेको बताए । ‘पानी पर्न छाडेको छैन, हिलोले गर्दा छिमेकीको घरसम्म जान सकिन्न,’उनले भने,‘स्वजातीबाट पुजा खर्च उठाउन पनि सकिएको छैन ।’ आफ्ना समुदायका सबैलाई निम्तो दिएर एक थलोमा भेला पारी झाँगड समुदायले गर्ने नृत्यलाई कर्माधर्मा भनिन्छ । उक्त गाविसका १ सय २ घरमा करिब ४ सय ३५ जना झाँगड जातीका बस्छन् ।
रोचक के छ भन्ने सन्थाल र झाँगड वस्तीभन्दा थोरै दुरीमा ४० मीटर पक्की पुल छ भने छेउकै सवा सय मिटर मार्ग कच्ची छ । उक्त पुलले पूर्वको थलाहा, पश्चिमको कटहरी–९ र उत्तरको भौडाहा गाविसलाई जोड्छ ।
झन्डै ५ वर्षदेखि यति छोटो बाटो नबन्दा चाँडपर्व, विहे, ब्रतबन्ध र स्थानीयको उपचारमा समेत बाधा भइरहेको हुन्छ । एम्बुलेन्सलाई थोरै परको पुल छेउको सडकमा उभाएर विरामीलाई खाटमा राखेर पुरयाउनु परेको स्थानीय ५३ वर्षीय महेन्द्र महतोले पीडा सुनाए ।
‘धेरै पटक धाएँ, केन्द्रले बजेट नछुट्टयाएको सडक डिभिजन कार्यालय विराटनगरले जवाफ दिन्छ,’ उनले भने ।  सडक कार्यालयको भरमा पर्दा र स्थानीयवासी नजाग्दा नाला निर्माण एवं ग्राभलिंग हुन नसकेको थलाहा गाविसका सचिव भोजराज भुजेलले बताए । ‘अर्काले बनाएर दिन्न, आफैले बनाउने सोच राखेर अघि बढ्नुपर्छ,’उनले भने ।
गिलो माटो भएको हुनाले वर्षायाममा गल्ने र गर्मीमा पत्थरजस्ते हुनेहुनाले आफूहरुसँग भएको कोदालोले नाला समेत खन्न नसकेको महतोले बताए । ‘बिना नाला बाटोको अस्तित्व रहन्न, खन्नलाई स्काईभेटर नै चाहिन्छ,’उनले भने । कात्तिक/मंसिरमा मौसम अनुकुल र माटो पनि हल्का हुनेहुनाले सडक बनाउन सजिलो हुने महतोले जानकारी दिए ।
स्थानीयको श्रमदान र स्काईभेटरको प्रयोग गर्दा करिब डेढ लाख रुपैयाँमै यो कार्य सम्पन्न हुने सचिव भुजेलले जानकारी दिए । ‘म यस पटक बजेट छुट्टयाएर जसरी नि बनाउँछु,’ उनले कान्तिपुरसँग भने ।    
उल्लेखनीय के छ भने यी लोक साँस्कृतिक सम्पदाको संरक्षणकालागि सन्थाल र झाँगडले सरकारी वा गैर सरकारी निकायबाट अहिलेसम्म कुनै सहयोग पाएका छैनन् । ‘ब्यानर र परम्परागत नयाँ लुगा किन्न समुदायकै प्रति व्यक्तिबाट चन्दास्वरुप सय रुपैयाँ उठाउँछौं,’ सन्थाल हेमरमले भने ।
संस्कृति एवं परम्परा जोगाउनलाई जनजाती/आदिवासीको नाउँमा सरकारले छुट्टयाउने रकम आफूहरुले अहिलेसम्म नपाएको झाँगड उराँवले प्रष्ट पारे ।
यही प्रयोजनकालागि वार्षिक निश्चित रकम निकासा हुने गरेको गाविस सचिव भुजेलले बताए । ‘उनीहरुकै नेतृत्व गर्नेले लान्छन्, नपाएको सुन्दा अचम्म लाग्यो,’उनले भने,‘आफ्नो हककालागि स्थानीय आफैं अघि नसरेसम्म खाने प्रवृति रोकिन्न ।’
दसैं मेला आयोजकहरुले लोक नृत्य प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने टोलीलाई प्रोत्साहनकालागि केही नगद पुरस्कार र प्रमाणपत्र दिने गर्छन् । उराँवको टोली गत वर्ष ४ हजार रुपैयाँ नगद हात पारेको थियो । यी दुवै जातीले दसैंमा एक अर्काको हात समाएर परम्परागत लोकबाजाहरु र सिठीको धुनमा लोकदोहोरी शैलीमा गीत गाउँदै खुट्टा अगाडी पछाडी गरी नाँच्छन् ।
सन्थालले पृथ्वीको उत्पतिकालदेखि दुर्गा महिमासम्मको गीत गाउँछन् भने झाँगडले प्रेम, विहे र युवायुवतीको सम्बन्ध बारेको लोकगीत गाउँदै मनोरम नृत्य प्रदर्शन गर्छन् । २०/२५ जनाको समूहमा सन्थालले नवमीदेखि एकादसीसम्म र झाँगडले विजयादशमीपछि पुर्णिमामा नाँच्छन् ।
उनीहरु निम्तो आयो भने जहाँ पनि पुगेर लोकनृत्य प्रस्तुत गर्छन् । अन्य चाँडपर्वमा सन्थाल समुदायका महिलापुरुष मिलेर नाँच्छन् । दसैंमा भने पुरुष मात्र नृत्य गर्छन् । झाँगड समुदायका महिलापुरुष भने हरेक सांस्कृतिक मौकामा मिलेरै नाँच्छन् ।
गाउँको खुल्ला सार्वजनिक थलोमा नवमीमा पुजा गरेपछि सन्थाल समुदायका पुरुषहरुले साँस्कृतिक झाँकीसहित आदिवासी नृत्य प्रस्तुत गर्छन् । ‘दशमी र एकादशीमा मन्दिर एवं मेलामा नाँच्छौं,’ हेमरमले भने । उनीहरु वरिपरिको गाउँ सिसवनीजहदा–१ स्थित दुर्गा मन्दिर र कटहरी–९ स्थित बजारमा लाग्ने मेलामा नाँच्छन् ।

Saturday, October 8, 2016

दुर्गा भवनीकाे खाेइँछ भर्ने विधि गरिँदै

जनकपुरधाम, असोज २३ गते। बडादसैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवम् सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् ।
नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले दुबो अक्षता, फल, बेसारको गिँड, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत सो विधिलाई निरन्तरता दिंदै आएका हुन् ।
भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आएर नौ दिनसम्म बस्ने र दशमीका दिन ससुराली जाने धार्मिक मान्यताका कारण ‘खोइँछ’ भर्ने गरिएको पाइन्छ ।
मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिरमा विवाहित मैथिल महिलाको घुइँचो लागेको छ ।
यसैबीच देवी दुर्गाका नवनिर्मित प्रतिमामा आँखा उघार्ने विधिसमेत सम्पन्न गरिएको छ । मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको अष्टमीका दिन बेलको डाँठबाट आँखा उघार्ने प्रचलने छ ।

दुर्गाका प्रतिमामा आज आँखाको नानी थपिने

मिथिलाञ्चलका दुर्गा मन्दिरमा आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ ।मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन रहेको छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ ।प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । सप्तमीका दिन पूजा गरेपछि मात्र आँखा राखिने चलन छ ।यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रण गरिन्छ, जसलाई बेलनौती भनिन्छ । यसअन्तर्गत बेलका रुखको एउटै हाँगामा फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रण गरिन्छ ।सो विधिका लागि तय गरिएको बेलको रुखतिर बाजागाजाका साथ श्रद्धालुहरू गीतनाद भजन गाउँदै पुग्ने गर्छन् ।सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ । शिव, पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकैपटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजास्थलतिर लगिन्छ । पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखिन्छ ।अष्टमी प्रारम्भ भएपछि सोही बेलको डाँठबाट दुर्गाको आँखाको नानी थपिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।

Tuesday, September 27, 2016

हाल कायम इलाका नै स्थानीय तहको सीमाना र संख्या : मन्त्रिपरिषद

सरकारले हाल कायम इलाकाहरूलाई आधार मानेर स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको मंगलबार साँझ सिंहदरबारमा बसेको बैठकले प्रमुख तीन दलबीच गत आइतबार भएको सहमतिलाई आधार मानी इलाकालाई मुख्य आधार मानेर स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने निर्णय गरेको हो। हाल देशभर ९ सय २७ वटा इलाका कायम छन्।
बैठकले इलाकाभित्र रहेका नगरपालिकालाई नगरपालिकाको मान्यता दिने तथा भौगोलिक सुगमता र जनताले पाउने सुविधालाई ध्यान दिएर स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिए।
स्थानीय तहको पुनःसंरचना सम्बन्धि आयोगले आफ्नो काम अन्तिमतिर पुर्याएका बेला सरकारले गरेको यो निर्णयले पुनःसंरचनाको काम लम्बिने देखिएको छ। भौगोलिक क्षेत्र अनुसारको जनसंख्याको वितरण, क्षेत्रफल, जिल्लाको प्रकृति लगायतका विभिन्न पाँच वटा मापदण्ड बनाएर स्थानीय तहको संख्या ५ सय ६५ को आसपास हुने गरी काम गरिरहेको आयोगले यहि असोज मसान्तभित्र प्रतिवेदन बुझाउने तयारी गरिरहेको थियो।
मन्त्रिपरिषद बैठकले पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप दुर्घटना र मंगलबार धादिङमा भएको यात्रुबाहक बस दुर्घटनाको छानविनका लागि पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई मुग्लि–नारायणगढ सडकखण्डमा दुर्घटना न्यूनीकरण गर्ने तथा सवारी आवागन सहज बनाउने उपायबारे सुझाव दिने कार्यक्षेत्र पनि तोकिएको छ।

तमलोपा अध्यक्ष ठाकुरको घरमा डकैती गर्ने उनकै पूर्व चालक

काठमाडौं– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा लुटपाटगर्ने ब्यक्ती उनकै पूर्व गाडी चालक र नियमित आउजाउगर्ने कार्यकर्ता भएको खुलेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैतीको आरोपमा पक्राउ गरेका रन्जितप्रसाद गुप्ता ठाकुरको गाडी चालक र अर्का प्रमानन्द भन्ने प्रचण्डप्रताप सिहं नियमित सम्पर्कमा रहेका ब्यक्ती भएको खुलेको हो।
अध्यक्ष ठाकुरको भक्तपुर सानोठिमीस्थित घरमा भदौ २४ गते एकजना हतियार सहितको नकावधारी ब्यक्तीले डकैती गरेको थियो। डकैती गर्ने क्रममा ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुर(झा)लाई पूर्व चालक गुप्ताले घाईते समेत बनाएका थिए। गुप्ताले  घटनाका दिन साँझ पानी परिरहेको अवस्थामा अचानक झाको आँखामा खुर्सानीको धुलो छरेर ठाकुरको कोठाबाट एउटा ब्रिफकेश चोरी गरेका थिए।
महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले तीनपटकको प्रयासमा गुप्ता डकैतीमा सफल भएको बताए । उनका अनुसार भदौ २२ र २३ गते डकैतीको प्रयास गरेका गुप्ताले २४ गतेमात्र मौका पाएका थिए। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार २०७२ असोजदेखि फागुनसम्म अध्यक्ष ठाकुरका सवारीचालक रहेका गुप्ताले ब्रिफकेशमा धेरै रकम हुने अनुमानमा चोरी गरेका हुन । पक्राउ परेका सिंह जागिरको सिफारीस र पार्टी कार्यकर्ताका हैसियतले अध्यक्ष ठाकुरको घर आउजाउ गर्दै आएका थिए।
‘घरमै बसेको एकजना र नियमित आईरहने अर्कोले चोरी गरेको देखियो, घटनास्थलका बिषयमा पूर्व जानकारी भएकाले छोटोसमयमा डकैती सम्भव भएको रहेछ,’ एसपी कार्कीले भने। उनका अनुसार डकैती पछि गुप्ता र सिंह केही दिन सर्लाही र महोत्तरी बसेर केही दिन अघिमात्र काठमाडौं आएका थिए।
प्रहरीका अनुसार डकैती भएको अध्यक्ष ठाकुरको ब्रिफकेशमा करिब पचास हजार रकम र अन्य कागजपत्र रहेको परिवारले जानकारी दिएको छ।

भारतले सार्क सम्मेलन बहिष्कार गर्ने

काठमाडौं- भारतले कात्तिक अन्तिम साता पाकिस्तानको इस्लामाबादमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन बहिष्कार गर्ने जनाउ दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मंगलबार राति ट्विट गर्दै यसबारे सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराइसकेको खुलासा गरे । 
यस क्षेत्रमा सीमापार आतंकवादी आक्रमण बढेको र एक देशले अर्कोका आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको अवस्थामा इस्लामाबादमा हुने क्षेत्रीय सम्मेलन सफल हुन नसक्ने विदेश मन्त्रालयको भनाइ छ।
‘क्षेत्रीय सहयोग र आतंकवाद सँगसँगै हिँड्न नसक्ने भएकाले भारत इस्लामाबादमा हुने क्षेत्रीय सम्मेलनमा भाग लिन सक्दैन,’ स्वरुपले भनेका छन्, ‘केही अन्य देशले पनि इस्लामबादमा हुने सम्मेलनप्रति रिजर्भेसन राखेको जानकारी हुन आएको छ ।’
 भारतीय पत्रिका हिन्दुले पनि भुटान, बंगलादेश र अफगानिस्तानले पनि रिजर्भेसन देखाएको भारतीय विदेश मन्त्रालयको स्रोत उद्धृत गर्दै जनाएको छ ।
सम्मेलन कात्तिक २४ र २५ गते इस्लामाबादमा हुने तय भएको छ । १८औं शिखर सम्मेलन २०७१ मंसिर ९ र १० गते काठमाडौंमा भएको थियो ।
भारतीय विदेश मन्त्रालयको आरोपमा पाकिस्तानको नाम भने उल्लेख छैन।