Wednesday, September 14, 2016

संविधान संशोधन गर्न सरकार–मोर्चाबीच सहमति प्रयास

सत्तारुढ दल र मधेसी मोर्चाबीच संविधान संशोधनसम्बन्धी चारवटा मुद्दामा सहमतिको प्रयास भइरहेको छ ।
मोर्चाले राखेका ११ बुँदे मागमध्ये चारवटामा सहमतिको प्रयास भएको हो । मोर्चा र संघीय गठबन्धनका नेताहरूसँग अनौपचारिक छलफलमा सहमतिको मस्यौदा तयार गर्ने प्रयास प्रधानमन्त्री प्रचण्डले गरिरहेको खबर आजको नयाँ पत्रकामा छापिएको छ।
सत्तारुढ दलबाट कृष्णबहादुर महरा र विमलेन्द्र निधिले मोर्चाका नेताहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले मोर्चा र गठबन्धनका नेताहरूसँगको छलफलमा संविधान संशोधनको विधेयक केही समयभित्रै सबै दलसँग सहमति गरी संसद्मा दर्ता गर्ने बताएका छन् । प्रधानमन्त्रीले बुधबार मधेसी मोर्चा र संघीय गठबन्धनका नेताहरूसँग संविधान संशोधनबारे छलफलमा सो जानकारी गराएका हुन्।
प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका चारवटा विषयमा मोर्चा र गबठन्धनका नेताहरूलाई ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी नेताहरूका अनुसार प्रचण्डले प्रदेशको सिमाना, भाषा, नागरिकता र राष्ट्रिय सभाको बनोटको विषयमा सहमतिनजिक पुगेको बताएका थिए । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार प्रचण्डले प्रदेशको सिमाना हेरफेर गर्ने सहमति भइसको छ, तर आन्दोलनकारीले उठाएको जस्तो नहुने भएकाले बाँकी संघीय आयोगबाट टुंगो लगाउने बताएका थिए ।
संविधान संशोधनको मुद्दा भारतसँग जोडेर चर्चा गरिएकोप्रति प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरूसँगको छलफलमा गुनासो गरेका थिए । महासचिव झाका अनुसार भदौभित्र संशोधन विधेयक दर्ता गर्ने आफ्नो भनाइलाई अरूहरूले भारत भ्रमणअगाडि भनी प्रचार गरेकोप्रति प्रधानमन्त्रीको दुखेसो व्यक्त गरेका थिए ।
त्यसैगरी, छलफलका क्रममा स्थानीय तह पुनर्संरचना आयोगको कामप्रति मोर्चा र गठबन्धनका नेताहरूले आपत्ति जनाएका थिए । बैठकमा सहभागी नेता झाका अनुसार जवाफमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहलाई दिएको अधिकारबारे धेरैका कुरा नमिलेको, तर पुनर्संरचनाको सन्दर्भमा भने केही दिनभित्र दलहरूले एउटा खाका प्रस्तुत गर्ने बताएका थिए ।
 प्रधानमन्त्रीले मोर्चालाई के भने ?
प्रधानमन्त्री प्रचण्डले गठबन्धन र मोर्चाका नेताहरूसँगको छलफलमा भाषा आयोग गठन भइसकेको र प्रदेशका कामकाजी भाषाबारे आयोगले प्रतिवेदन दिने बताएका छन् ।
मोर्चासहितको संघीय गठबन्धनले राखेको नागरिकतासम्बन्धी मागमा भने अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार जान सकिने उनको भनाइ छ । उनले राष्ट्रिय सभा गठनमा प्रत्येक प्रदेशबाट आठजनाको संख्या कम गर्ने गरी प्रत्येक प्रदेशको संख्या निश्चित गर्ने र बाँकी जनसंख्याका आधारमा निर्वाचित गर्ने पनि बताएका छन् ।
 भदौभित्र संशोधन विधेयक दर्ता गराउन सरकारले चाहेको प्रचण्डले बताएका थिए । तर, समयको चापले गर्दा सहमति अन्तिम टुंगोमा नपुगेकाले विधेयक दर्ता हुन नसकेको प्रचण्डको भनाइ थियो । विधेयक दर्ता गरेर बन्धक बन्ने स्थिति आउन दिनुभन्दा केही दिन ढिला गरी सहमतिमा विधेयक दर्ता गर्नु उपयुक्त हुने उनले बताएका थिए ।

देउवामा साम, दाम प्रयोग गर्ने प्रवृत्ति मौलायो: पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्त राम्रो हुँदाहुँदै पनि पार्टी कमजोर बन्दै गएको भन्दै पार्टी कमजोर हुनुका कारण खोज्नका लागि समीक्षा र आत्मनिरीक्षण आवश्यक रहेको बताएका छन्। 
पौडेलले बुधबार नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा पार्टी सभापति शेरबहादुर देउवाका सामुन्ने पार्टीमा मूल्य मान्यताभन्दा साम, दाम, दण्ड र भेद प्रयोग गर्ने प्रवृत्ति मौलाएको बताए। उनले देउवाप्रति संकेत गर्दै पार्टीमा जसरी पनि कब्जा जमाउन आफूमात्र हावी हुने प्रवृत्ति मौलाएकाले कुन–कुन व्यवहारका कारण पार्टी कमजोर बन्दै गएको हो भन्ने कुरा खुट्याउन आवश्यक रहेको बताए।
कांग्रेस नेता पौडेलले पार्टी सभापति देउवामाथि पार्टीमा महिलाहरूलाई उचित स्थान नदिएको आरोप समेत लगाए। उनले संविधानले महिलाहरुको ३३ प्रतिशत स्थान सुरक्षित गरे पनि पार्टीले १५ जनालाई मन्त्री बनाउँदा एक जनाले मात्र मन्त्रिपरिषद्मा स्थान पाएको बारेमा महिला संघले लेखाजोखा गर्नुपर्ने बताए। 
जवाफमा पार्टी सभापति शेरबहादुर देउवाले महिलाहरुलाई पार्टीमा क्षमता अनुसार उचित स्थान दिने बताए। छोटो मन्तव्य राखेका देउवाले क्षमतावान नेतृहरूमाथि पार्टीमा अन्याय हुन नदिने बताए। 
कार्यक्रममा पार्टीका अर्का नेता कृष्णप्रसाद सिटौलाले संविधानले महिलाहरूलाई गृहणीबाट राजनेता बन्ने अवसर प्रदान गरेको भन्दै राजनीतिमा सक्रिय हुन महिला कार्यकर्ताहरुलाई आग्रह गरे। उनले महिलाको प्रतिनिधित्व सम्बन्धी व्यवस्था कार्यान्वयन गर्नका लागि पनि राजनीतिमा महिलाहरुको सक्रियता आवश्यक रहेको बताए। 
 

पत्रकार अपहरण गर्न खोज्ने कांग्रेस नेता पक्राउ

स्थानीय विकास निर्माणमा हुने आर्थिक अनियमितताविरुद्ध लेख्दै आएका पत्रकार राजकमल सिंहलाई अपहरण गर्न खोजेको भन्दै प्रहरीले धनुषा क्षेत्र नम्बर १ का कांग्रेस सभापति नवीन गोहिवारसमेत चार जनालाई पक्राउ गरेको छ।
अनलाइन खबर डटकम, न्यूज २४ टेलिभिजन लगायत सञ्चार माध्यममा आबद्ध पत्रकार सिंहले जिल्ला विकास समिति र सांसद विकास कोषको रकममा भएको भ्रष्टाचारसम्बन्धी समाचार लेख्दै आएका थिए। पछिल्लो समय क्षेत्र नम्बर १ स्थित गोठकोयलपुर सडक निर्माणमा आर्थिक अनियमितता भएको भन्दै उनले लेखेको समाचारले यहाँ चर्चा पाएको थियो। त्यही समाचारको विषयमा भएको विवादका कारण उनी अपहरणमा परेका हुन्।
बुधबार बिहान जनकपुरको भानुचोकमा उनलाई अपहरण गर्न खोजिएको थियो। त्यही बेला घटनास्थलबाटै नवीन गोहिवारसहित राजदेव गोहिवार, पुष्पेन्द्रा गोहित र सञ्जीवकुमार मण्डल पक्राउ परेका हुन्।
गाडीमा आएका सात–आठ जनाको समूहले भानुचोकमा पत्रकार सिंहमाथि हातपात गर्दै उठाएर लैजान खोजेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। स्थानीयकै सहयोगमा उनीहरूलाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका सबैविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण आजबाट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।दोस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो, जुन राजकीय हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड नेपाल वायुसेवा निगमको जहाजबाट बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।भ्रमण दलमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रहेश लेखकसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।नयाँ दिल्ली उत्रिएसँगै प्रधानमन्त्रीको टोली नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बस्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री असोज २ गते स्वदेश र्फकने कार्यतालिका रहेको छ ।

Thursday, September 8, 2016

संविधान संशोधन गर्न मोदीलाई हैन, ओलीलाई पत्र लेख्नुपर्छ : भट्टराई

चिनियाँ राष्ट्रपतिको भ्रमण रद्ध हुनुले सरकारको कूटनीतिक अयोग्यतालाई प्रमाणित गरेको एमाले नेता योगेश भट्टराईले बताएका छन्।
 
सुनसरीको इटहरीमा बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार देशभित्रका साथै बाहिर पनि अलोकप्रिय रहेको पुष्टि भएको समेत आरोप लगाएका छन्। ‘उहाँहरूको लबिङ गर्ने क्षमता नै कमजोर छ,’ उनले भने, ‘हामीले बनाइदिएको आधारलाई टेकेर पनि काम गर्न सक्नुभएन।’
 
उनले छिमेकीलाई चित्त नबुझेका आधारमा संविधान संशोधन नहुने बताउँदै नरेन्द्र मोदीलाई पत्र लेखिएकोप्रति पनि रोष प्रकट गरे। ‘नरेन्द्र मोदीलाई पत्र लेखेर हुँदैन,’ उनले भने, ‘संविधान संशोधन गर्नु छ भने प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीलाई पत्र लेख्नुपर्छ।’ नेता भट्टराईले दुई तिहाइ पुर्याउनका लागि पनि विपक्षीलाई चित्त बुझाउनुपर्ने जिकिर गरे।
 
भट्टराईले सीमांकन फेरबदल नहुने र झापा, मोरङ र सुनसरी नटुक्रिने पनि स्पष्ट पारे। संशोधन प्रदेशसभाको सहमतिमा मात्र हुने बताउँदै व्यवस्थापिका संसदबाट कुनै हालतमा सीमांकन हेरफेर नहुने बताए। उनले आफैंले लेखेको संविधान पढ्न पनि कांग्रेस र एमाओवादीलाई आग्रह गरे। उनले सीमांकनको लागि जनमत संग्रहमार्फत् निर्णय गर्न सकिने बताए।
 
नेता भट्टराईले वर्तमान सरकारलाई पन्चर भएको टायरको उपमा दिएका छन्। ‘पन्चर भएको टायर कति दिन घिसार्नुहुन्छ, हामी पनि हेर्छौं,’ उनले भने, ‘सरकारलाई केही समय मौका दिएर हेरिरहेका छौं, संसदबाट खबरदारी गरिरहेका छौं, आवश्यक परे सडकबाट पनि खबरदारी गर्छौं।’

चटयाङ लागेर १२ वर्षीया बालिकाको मृत्यु

रंगेली नगरपालिका–२ मधुबनी बस्ने १२ वर्षीया चाँदनी शर्माको घाँस बोकी घरतर्फ आउने क्रममा चट्याङ लाग्दा बिहीबार घटनास्थलमै मृत्यु भएको छ ।
 
उनीसँगै आएकी १८ वर्षीया सोनम शर्मा चट्याङ लागेर घाइते भएकोले उपचारको लागि रंगेली अस्पताल लगिएको छ ।

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

रुपन्देही, सुनसरी र तनहुँमा आज तीन जना मृत फेला परेका छन्। 
रुपन्देही तिलोत्तमा नगरपालिका–४ सिमानगरस्थित तिनाउ खोलाकोबीचमा सिमानगर क्षेत्रमा मजदुरकाम गरी बस्ने सिपवा–७ की ५५ वर्षीया गुजराती भर बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
त्यस्तै गाईलाई चौरमा किला ठोक्न भन्दै भदौ १६ गते घरबाट हिँडेका चाँदबेला–२ बस्ने ३५ वर्षीय दिपक खवास घर नआएपछि खोजी गर्ने क्रममा बर्छवा–८ स्थित ईनरूवा दुहबी सडक खण्डको गडन पुलमुनि खोलामा उनका शव फेला परेको हो।
तनहुँ शुक्लागण्डकी नगरपालिका–१३ सुरौदीघाटमा हाल नाम, थर, वतन नखुलेका पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।