Monday, August 1, 2016

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी दिने, प्रचण्डसँग नेम्वाङ भिड्ने!



विपक्षमा बस्ने तयारीमा रहेको एमालेले संसदमा हुने प्रधानमन्त्री चुनावमा उम्मेदवारी दिने भएको छ। उम्मेदवार कसलाई बनाउने भन्ने अन्तिम निर्णय भने पार्टीले मंगलबार नै गर्ने तयारी गरेको छ। संसदमा मंगलबार प्रधानमन्त्री निर्वाचनका लागि मनोनयन गर्ने कार्यक्रम छ।
पार्टीले प्रधानमन्त्री चुनावमा उम्मेदवारी दिने निश्चित हो,’ कानुनमन्त्री समेत रहेका एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले भने, ‘कसले उम्मेदवारी दिने भन्नेचाहिँ टुंगिइसकेको छैन।पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उम्मेदवारीको विषयमा पार्टी स्थायी समिति संसदीय दलको औपचारिक बैठक सोमबारसम्म बोलाएका छैनन्। तर शीर्ष नेताहरूसँग अनौपचारिक परामर्श भने गरिरहेका छन्। मंगलबार उम्मेदवारी दिनुअघि पार्टीले औपचारिक निर्णय गर्ने सम्भावना छ।
प्रधानमन्त्रीको उम्मेदवारका रूपमा पूर्वसभामुख तथा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई अघि सार्ने सम्भावना प्रबल छ। संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओली वरिष्ठ नेताहरू झलनाथ खनाल माधव नेपालले उम्मेदवारी नदिने भएपछि अन्य दुई जना नेताको नाम एमालेभित्र उम्मेदवारका लागि चर्चामा आएको छ। उपाध्यक्ष वामदेव गौतमलाई ओलीले अनौपचारिक रूपमा प्रस्ताव गरे पनि गौतमले संसदीय दलको नेता दिने भए मात्र उम्मेदवार बन्ने जवाफ दिएका छन्।
गौतमलाई तत्काल संसदीय दलको नेता दिने सम्भावना छैन। संसदीय दलको नेता नपाउने अवस्थामा हार्ने चुनावमा मात्र उम्मेदवार बन्न गौतम इन्छुक छैनन्। त्यसैले ओली निकट नेम्वाङको सम्भावना बलियो छ। पार्टीको इज्जतसँग जोडिने भएकाले पनि प्रधानमन्त्रीको प्रतिस्पर्धामा उत्रिन सुहाउने खालको व्यक्तित्वलाई नै अघि सार्नुपर्ने भएकाले नेम्वाङको सम्भावना बलियो भएको हो।

कार्यदलमा सहमति जुटेन, प्रदेशको सीमांकन हेरफेर गर्ने सम्झौता गर्नु पर्ने मधेसी मोर्चाको माग

काठमाडौं । संघीयताबारे कांग्रेस, माओवादी र मधेसी मोर्चाको कार्यदलमा सहमति जुट्न सकेन । अब यसबारे शीर्ष तहमै सहमति खोज्ने सहमति भएको छ ।
सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीले मधेसी मोर्चाको पनि समर्थन खोजेको छ । तर, उसले आफ्ना माग पुरा गर्ने लिखित सहमति हुनु पर्ने शर्त राखेपछि सहमति खोज्न तीन दलबाट तीन तीन जना रहेको कार्यदल गठन भएको थियो ।
सोमबार राति अबेरसम्म कार्यदलको बैठक बसेपनि सहमति जुट्न नसकेको एक सदस्यले बताएका छन् । मधेसी मोर्चाका अधिकांश मागमा कांग्रेस र माओवादी सहमत देखिएका छन् । आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषण, घाइतेको उपचार खर्च, पीडित परिवारलाई क्षतिपूर्ति लगायतमा कार्यदलमा सहमति जुटेको छ ।
तर, राजनीतिक मुद्धामा सहमति हुन बाँकी छ । मधेसी मोर्चाका तर्फबाट कार्यदलमा रहेका राजेन्द्र श्रेष्ठका अनुसार अब शीर्ष तहमा नै सहमति खोजिनेछ । यसका लागि अहिले ९ बजे तीन पक्षका शीर्ष नेताहरुका बैठक बोलाइएको छ ।
स्रोतका अनुसार मधेसी मोर्चाले पहिचानका आधारमा संघीयता हुने भनेर सम्झौता गर्नु पर्ने माग गरेको छ । छलफलका क्रममा विगतमा भएको २२ र ८ बुँदे तथा अन्तरिम संविधानको धारा १३८ अनुसार प्रदेशहरुको सीमा र संख्या हेरफेर हुने उल्लेख गर्ने विकल्प पनि मधेसी मोर्चाको तर्फबाट पेश भएको थियो ।
तर, कांग्रेस र माओवादी सहमत भएको छैन । अब यसबारे शीर्ष स्तरमै सहमति खोजिनेछ ।

खाल्डोमा डुबेर बालकको मृत्यु

सप्तरीको लालापट्टी गाविसमा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको लालापट्टी गाविस–७ बस्ने मुर्सिद मियाको १८ महिने छोरा जसिम मिया रहेको प्रहरीले जनाएको छ।मियाँको खेल्नेक्रममा आफ्नै घरको कलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु

नवलपरासीको देवचुली नगरपालिका–४ झाक्रेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 
आफ्नै घरमा बल्ब जोड्न खोज्दा करेन्ट लागेर स्थानीयवासी जगत तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।करेन्ट लागेर गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ।

महोत्तरीको कारागार कार्यालय शौचालय विहीन

महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागार कार्यालय शौचालयविहीन छ। 
जलेश्वर कारागारभित्र रहेका ३८० कैदीबन्दीका लागि शौचालय रहेपनि सो कारागारको दैनिक क्रियाकलाप सञ्चालन गर्ने प्रशासन अर्थात् कार्यालयमा शौचालय नरहेको जेलर शोभेन्द्र ठाकुरले बताए। 
दुई महिलासहित १५ जना कर्मचारी रहेको सो कार्यालयमा शौचालय नहुँदा त्यहाँका कर्मचारी छेउमै रहेको जिल्ला अदालत र कारागार कार्यालय बाहिर रहेको सार्वजनिक शौचालय प्रयोग गर्न बाध्य भएका छन्।
 
त्यस्तै, कारागार सुरक्षाका लागि मधेस आन्दोलनकै बेलादेखि त्यहाँ खटिएका ५० जना नेपाली सेना र सात जना नेपाल प्रहरी जवानलाई पनि शौचालयको अभावमा बाहिरै गएर दिसापिसाब गर्नुपरेको देखिएको छ। 
कारागार कार्यालयमा शौचालय नरहेको बारे कार्यालय प्रमुख ठाकुरले पटकपटक विभागमा भनिएको तर बजेट अभावका कारण भन्दै रकम प्राप्त नहुँदा आफ्नै शौचालय निर्माण गर्न नसकिएको र आफूहरु लाजै पचाएर पनि अरु कार्यालयको तथा सार्वजनिक शौचालय प्रयोग गर्न बाध्य भएको बताए।  
यसका अलावा कारागारभित्र पनि कैदीबन्दीको सङ्ख्या अनुसार पर्याप्त शौचालय, चापाकल, धारा नरहेको कारागार कार्यालय महोत्तरीका प्रशासन शाखा प्रमुख मकसुधन महासेठले बताए।

कार्यदलमा हिजो मध्यरातसम्म कुरो मिलेन, शीर्ष नेताहरुको बैठक केही बेरमा बस्दै

मधेसी जनजातीको संघिय गठबन्दनसँग सहमतिको साझा राडम्याप तयार पार्न हिजो मध्य रातसम्म बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा तथा संघिय गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएपछि अहिले साढे ९ बजे तीनै पक्षका शीर्ष नेताहरु बैठक बस्ने भएका छन् ।
कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चा तथा संघिय गठबन्धनका उपेन्द्र यादव, महन्तथ ठाकुर लगायतका शीर्ष नेता बसी सहमतिको मस्यौदालाई अन्तिम रुप दिने कोशिस गर्ने छन् ।गठबन्धनले मस्यौदामा सहमति जुटेपछि मात्रै बुधबार हुने प्रधानमन्त्री निवार्चनमा दाहाललाई समर्थन गर्ने अडान लिँदै आएको छ । ‘संघिय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सिमांकनमा आफूहरु सहमतिको नजिक नजिक पुगे पनि पहिचान सहितको संघियता, राज्यको भाषा नीति तथा न्यायपालिकाको स्वरुप बारे सहमति जुट्न नसकिरहेको कान्तिपुरलाई बताए । ‘हामीले मध्य रातसम्म बसेर कतिपय विषयमा सहमतिको नजिक पुगेपनि तीनवटा विषयमा मतान्तर कायम नै रह्यो । अब सहमति जुटाउने जिम्मा अब शीर्ष नेतृत्वलाई नै,’ उनले भने ।
मधेसको मागमा समझदारी जुटाएर मस्यौदा बनाउन तीन पक्षबाट तीन/तीन सदस्य रहेको कार्यदल बनाइएको थियो। मधेस आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार, मृतक र उनका आश्रित परिवारका सदस्यलाई क्षतिपूर्ति तथा राहत, झुटा मुद्दा लगाइएकाहरूको मुद्दा फिर्ता गरी थुनामा रहेकालाई रिहा गर्ने र मधेस आन्दोलनका क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नेलगायतका माग मन्त्रिपरिषद्बाट सम्बोधन सम्झौतामा उल्लेख गरिने भएको छ।
त्यस्तै संविधान संशोधनसँग जोडिएका संघीय प्रदेशका सीमांकन, समावेशी समानुपातिक, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र स्थानीय निकायको पुन:संरचनाका विषयमा राजनीतिक सहमति खोज्ने समझदारी भएको छ।

प्रधानमन्त्रीका लागी मनोनय दर्ता हुँदै

ब्यवस्थापिका संसदमा भोली हुने प्रधानमन्त्री निर्वाचनका लागी आज मनोनयन दर्ता हुँदैछ । संसद सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको हो । संसद सचिवालयले आजै अपरान्ह साढे ४ बजे उमेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने छ । संसदमा हाल कायम ५ सय ९५ सदस्य संख्याको बहुमत अर्थात २ सय ९८ मत प्राप्त गर्ने ब्यक्ति भावी प्रधानमन्त्री बन्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा उमेद्वारी दिने तयारी गरेको छ । भोलीसम्ममा चमत्कारीक रुपमा राजनीतिक उथलपुथल नभए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने लगभग पक्का छ । यसैबीच, प्रधानमन्त्रीमा उमेद्वारी दिने नदिने बिषयमा निर्णय गर्न एमाले स्थायी समितिको बैठक बस्दैछ । बिहान ९ बजेपछि प्रधानमन्त्री निवासमा बस्ने बैठकले उमेद्वारी दिने भए उमेद्वारको समेत टुङगो लगाउने सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । एमालेले उपनेता सुवास नेम्बाङ्गलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने चर्चा छ । यस्तै बर्तमान सत्ता गठबन्धनमा कायम रहेका साना दलहरुले भने एमाले उमेद्वारलाई समर्थन गर्ने भएका छन् । नेकपा मालेका महासचिव समेत रहेका उपप्रधानमन्त्री सीपी मैनालीले संख्यात्मक हिसावमा आफुहरुको उमेद्वारको औचित्य नहुने भएकाले बर्तमान गठबन्धनलाई कायम राख्दै एमालेको उमेद्वारलाई समर्थन गर्ने बताउनुभयो ।