Monday, October 10, 2016

दसैंमा रम्दै मधेस

मधेसवासीले झरीबीच हर्षोल्लासकासाथ दसैंको स्वागत गरिरहेका छन् । दसैंमा तीन दिन छुट्टि पाएकोमा युवा बुद्धि चौधरी खुशीले गदगद छन् । ‘लुगा किन्छु, आमालाई मठ, मन्दिर र मेला घुमाउँछु,’उनले भने । मोरंग तेतरिया–६ का उनी विराटनगरको हस्पिटल चोकस्थित एक औंषधी पसलमा काम गर्छन् ।
‘सेवामुलक जागिर खाइएकोले अरु बेला फूर्सद हुन्न,’चौधरीले भने,‘लुगाफाटा किन्नलाई पनि दशमी नै आउनुपर्छ ।’अष्टमी, नवमी र दशमीसम्म आमासँग बस्ने र नातागोतालाई भेट्ने चौधरीले बताए ।
पिताको निधन भइसकेको र साख्खै दिदीबहिनी नभएकाले आमाको हेरचाहको जिम्मेबारी उनीमाथि छ । ‘एकादशीको बिहान काममा फर्किहाल्छु,’उनले भने,‘हस्पिटलको मुखमै पसल छ, धेरै दिन छुट्टि बस्नै मिल्दैन ।’
स्थानीय काली मन्दिरमा पुजा गरी फर्किरहेका सिराहा जिरोमाइल गाविस–८, धनगढी टोलका अर्का शैलेस सिंहले विजयादशमीको आगमनले राहत महसुस हुने गरेको बताए । उनी फुलपातीमा मन्दिर अघिल्तिर उभेर भक्तिमय माहौलको आनन्द लिइरहेका थिए ।
विराटनगरको एक प्राईवेट कलेजबाट कम्प्युटर विषयमा ओभरसियर सकेर थप अध्ययनकालागि भारत जाने तयारीमा रहेका उनले अरुबेला वर्षभरी अध्ययनमै व्यस्त हुने गरेको बताए । सिंहले बसबाट शनिबारै सिराहास्थित घर पुगि दसैंसम्म बा, आमा र भाइसँग वरिपरि लाग्ने मेला घुम्ने तथा मिठो परिकारहरुको आनन्द लिने बताए । ‘पढाईका कारणले विदा नमिल्ने हुनाले यस्तै चाँडबाँडमा मात्र बाआमासँग बस्न र उनीहरुको सेवा गर्न पाइन्छ,’उनले भने ।
कक्षा–१० सम्मको पढाई भारतको जयपुरमा गरेका उनले आफ्नो देशमा जस्तो दशहरामा कहि पनि रमाईलो नहुने गरेको सुनाए । ‘यहाँ त टोल र गली पिच्छैं रमझम छ, जहाँ पुगे पनि मजाले समय बित्छ,’ सिंहले भने ।
विराटनगर भानुटोलका बिकी ठाकुर र उनको मित्र मण्डलीले संगीत एवं नृत्यकासाथ दसैंको महत्वपूर्ण उत्सव फुलपातीको स्वागत गरिरहेका भेटिए । उनीहरु झरीमा रुझ्दै विच सडकमै कालीन ओछयाएर नृत्यमा मस्त थिए ।
आफ्नो समूहले दसैंको आगमनमा स्वत: स्फूर्त रुपमा सडकमा नृत्य शो गरिरहेको उनले बताए । एउटा व्यावसायिक नृत्य केन्द्रसँग आवद्ध उनीहरु २०/२५ जनाको समूह बनाएर दसैं, तिहार र छठलगायतका पर्वलाई संगीतमय बनाउँछन् ।
‘गीतसंगीत बिना चाँडपर्व खल्लो हुन्छ,’ठाकुरले भने,‘त्यही भएर निम्तो पाएको ठाउँमा गएर नृत्य कला देखाउँछौं, बोलाउनेको स्थिति हेरेर पैसा लिई वा नलिई कार्यक्रम गर्छौं ।’ यहाँस्थित भूमि प्रसासन चोकवासी व्यवसायी कृष्णपती लाल दास त घटस्थापनादेखि दसमीसम्मको अवधि पुजापाठमै बित्ने गरेको बताए ।
‘दशमीको मुख्य उद्देश्य नै दुर्गाको आराधना गर्नु हो,’उनले भने । नयाँ लुगा किन्न र मिठो खानलाई अचेलको समयमा दसैं नै कुर्नु नपर्ने बताए । ‘तर, नवरात्री पुजन त वर्षमा एक पटक मात्र हुन्छ,’उनले भने । यतिखेर चोरी बढ्ने हुनाले रमाईलोसँगै घरको सुरक्षा गर्नु उतिकै जरुरी भएको दासले बताए । 

छुरा प्रहारबाट सिरहामा एक घाइते

युवाहरुको एक समूहले सन्हैठामा आइतवार राति गरेको छुरा प्रहारबाट कृष्णपुर ७ का २० वर्षीय सञ्जय यादव गम्भीर घाइते भएका छन् । यादवको लहानस्थित डिभाइन हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यादवले आफ्नो घरबाट स७प १२४८ नम्बरको मोटरसाइकलमा सिरहा आउने क्रममा सन्हैठा गाउँमा युवाहरुले छुरा प्रहार गरेको बताए । ६ वटा मोटरसाइकलमा आएका सिरहा १ का पंकज यादव, कृष्णपुर पूर्वटोलका वीरेन्द्र यादव, खजनपुरका रामप्रताप यादव, औरहीका रविन्द्र दासलगायतका १३ जना युवाहरुले घेरा हाली निर्घात कुटपिट गरेको उनले दाबी गरे ।
कुटपिट गर्ने क्रममा पंकजले पछाडिबाट छुरा प्रहार गरेको उनले बताए ।
कृष्णपुर पूर्वटोलका वीरेन्द्र यादवलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहनुभएका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
यादवकी छोरी अनिता यादवले भनिन्, ‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।’
अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा  भनिन्, ‘अब बुबा क्यान्सरको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।’
गत अक्टोबर २ तारिखको दिन डा मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेको थियो ।
रोवोटिक सर्जरी प्रविधिमा आधारित उक्त शल्यक्रिया करिब चार घन्टामा सकिएको छोरी अनिताले जानकारी दिइन् ।। यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्किने कार्यक्रम रहेको छ ।

अप्ठेरोमा दसैंका लोक नर्तक

मोरङको ग्रामीण भेकका आदिवासी सन्थाल (सतार) र झाँगड समुदायकालाई विजयादशमीको सेरोफेरोमा परम्परागत पोसाकमा पस्कँदै आएको लोकनृत्यको तयारी गर्न कठिन भएको छ ।
मध्य असोजमा समेत जारी झरीले गाउँका कच्ची बाटो हिलामय भएर आवागमन असहज हुँदा उनीहरु अप्ठेरोमा परेका हुन् । दसैंमा साँस्कृतिक कार्यक्रम गर्नलाई ठाउँ छैन । उनीहरुले पुजा, भोज र लोक नृत्यकालागि सामग्री किन्नलाई समुदायका सदस्यहरुबाट चन्दा समेत उठाउन सकेका छैनन् । 
सन्थालकै मात्र ३५ घर रहेको मोरंगको थलाहा–८, विरटुलाको सवा सय मिटर बाटो त धानखेत जस्तै देखिन्छ । उक्त वडाको विरटुला, केशोरिया, बालुघाट, खाटोला र सिसुरटोलाका सय घरमा झन्डै ३ सय सन्थाल बस्छन् ।
ठाउँठाउँमा यस्तै समस्या हुँदा उनीहरु किनमेलकालागि सहरबजारसम्म पुग्न सकेका छैनन् । ‘झरी र गर्मीले आउन जान नसक्दा समुदायको भेला गर्न समेत मुश्किल छ,’ सन्थाल समुदायका २४ वर्षे शैला हेमरमले भने ।
झाँगड समुदायका अगुवा थलाहा–९, ढेलाखौकीका ६० वर्षीय रबिलाल उराँवले गाउँमा राम्रो बाटो नहुँदा र कतैबाट आर्थिक सहयोग नजुट्दा परम्परा जोगाउन हम्मे परेको बताए । ‘पानी पर्न छाडेको छैन, हिलोले गर्दा छिमेकीको घरसम्म जान सकिन्न,’उनले भने,‘स्वजातीबाट पुजा खर्च उठाउन पनि सकिएको छैन ।’ आफ्ना समुदायका सबैलाई निम्तो दिएर एक थलोमा भेला पारी झाँगड समुदायले गर्ने नृत्यलाई कर्माधर्मा भनिन्छ । उक्त गाविसका १ सय २ घरमा करिब ४ सय ३५ जना झाँगड जातीका बस्छन् ।
रोचक के छ भन्ने सन्थाल र झाँगड वस्तीभन्दा थोरै दुरीमा ४० मीटर पक्की पुल छ भने छेउकै सवा सय मिटर मार्ग कच्ची छ । उक्त पुलले पूर्वको थलाहा, पश्चिमको कटहरी–९ र उत्तरको भौडाहा गाविसलाई जोड्छ ।
झन्डै ५ वर्षदेखि यति छोटो बाटो नबन्दा चाँडपर्व, विहे, ब्रतबन्ध र स्थानीयको उपचारमा समेत बाधा भइरहेको हुन्छ । एम्बुलेन्सलाई थोरै परको पुल छेउको सडकमा उभाएर विरामीलाई खाटमा राखेर पुरयाउनु परेको स्थानीय ५३ वर्षीय महेन्द्र महतोले पीडा सुनाए ।
‘धेरै पटक धाएँ, केन्द्रले बजेट नछुट्टयाएको सडक डिभिजन कार्यालय विराटनगरले जवाफ दिन्छ,’ उनले भने ।  सडक कार्यालयको भरमा पर्दा र स्थानीयवासी नजाग्दा नाला निर्माण एवं ग्राभलिंग हुन नसकेको थलाहा गाविसका सचिव भोजराज भुजेलले बताए । ‘अर्काले बनाएर दिन्न, आफैले बनाउने सोच राखेर अघि बढ्नुपर्छ,’उनले भने ।
गिलो माटो भएको हुनाले वर्षायाममा गल्ने र गर्मीमा पत्थरजस्ते हुनेहुनाले आफूहरुसँग भएको कोदालोले नाला समेत खन्न नसकेको महतोले बताए । ‘बिना नाला बाटोको अस्तित्व रहन्न, खन्नलाई स्काईभेटर नै चाहिन्छ,’उनले भने । कात्तिक/मंसिरमा मौसम अनुकुल र माटो पनि हल्का हुनेहुनाले सडक बनाउन सजिलो हुने महतोले जानकारी दिए ।
स्थानीयको श्रमदान र स्काईभेटरको प्रयोग गर्दा करिब डेढ लाख रुपैयाँमै यो कार्य सम्पन्न हुने सचिव भुजेलले जानकारी दिए । ‘म यस पटक बजेट छुट्टयाएर जसरी नि बनाउँछु,’ उनले कान्तिपुरसँग भने ।    
उल्लेखनीय के छ भने यी लोक साँस्कृतिक सम्पदाको संरक्षणकालागि सन्थाल र झाँगडले सरकारी वा गैर सरकारी निकायबाट अहिलेसम्म कुनै सहयोग पाएका छैनन् । ‘ब्यानर र परम्परागत नयाँ लुगा किन्न समुदायकै प्रति व्यक्तिबाट चन्दास्वरुप सय रुपैयाँ उठाउँछौं,’ सन्थाल हेमरमले भने ।
संस्कृति एवं परम्परा जोगाउनलाई जनजाती/आदिवासीको नाउँमा सरकारले छुट्टयाउने रकम आफूहरुले अहिलेसम्म नपाएको झाँगड उराँवले प्रष्ट पारे ।
यही प्रयोजनकालागि वार्षिक निश्चित रकम निकासा हुने गरेको गाविस सचिव भुजेलले बताए । ‘उनीहरुकै नेतृत्व गर्नेले लान्छन्, नपाएको सुन्दा अचम्म लाग्यो,’उनले भने,‘आफ्नो हककालागि स्थानीय आफैं अघि नसरेसम्म खाने प्रवृति रोकिन्न ।’
दसैं मेला आयोजकहरुले लोक नृत्य प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने टोलीलाई प्रोत्साहनकालागि केही नगद पुरस्कार र प्रमाणपत्र दिने गर्छन् । उराँवको टोली गत वर्ष ४ हजार रुपैयाँ नगद हात पारेको थियो । यी दुवै जातीले दसैंमा एक अर्काको हात समाएर परम्परागत लोकबाजाहरु र सिठीको धुनमा लोकदोहोरी शैलीमा गीत गाउँदै खुट्टा अगाडी पछाडी गरी नाँच्छन् ।
सन्थालले पृथ्वीको उत्पतिकालदेखि दुर्गा महिमासम्मको गीत गाउँछन् भने झाँगडले प्रेम, विहे र युवायुवतीको सम्बन्ध बारेको लोकगीत गाउँदै मनोरम नृत्य प्रदर्शन गर्छन् । २०/२५ जनाको समूहमा सन्थालले नवमीदेखि एकादसीसम्म र झाँगडले विजयादशमीपछि पुर्णिमामा नाँच्छन् ।
उनीहरु निम्तो आयो भने जहाँ पनि पुगेर लोकनृत्य प्रस्तुत गर्छन् । अन्य चाँडपर्वमा सन्थाल समुदायका महिलापुरुष मिलेर नाँच्छन् । दसैंमा भने पुरुष मात्र नृत्य गर्छन् । झाँगड समुदायका महिलापुरुष भने हरेक सांस्कृतिक मौकामा मिलेरै नाँच्छन् ।
गाउँको खुल्ला सार्वजनिक थलोमा नवमीमा पुजा गरेपछि सन्थाल समुदायका पुरुषहरुले साँस्कृतिक झाँकीसहित आदिवासी नृत्य प्रस्तुत गर्छन् । ‘दशमी र एकादशीमा मन्दिर एवं मेलामा नाँच्छौं,’ हेमरमले भने । उनीहरु वरिपरिको गाउँ सिसवनीजहदा–१ स्थित दुर्गा मन्दिर र कटहरी–९ स्थित बजारमा लाग्ने मेलामा नाँच्छन् ।

Saturday, October 8, 2016

दुर्गा भवनीकाे खाेइँछ भर्ने विधि गरिँदै

जनकपुरधाम, असोज २३ गते। बडादसैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवम् सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् ।
नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले दुबो अक्षता, फल, बेसारको गिँड, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत सो विधिलाई निरन्तरता दिंदै आएका हुन् ।
भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आएर नौ दिनसम्म बस्ने र दशमीका दिन ससुराली जाने धार्मिक मान्यताका कारण ‘खोइँछ’ भर्ने गरिएको पाइन्छ ।
मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिरमा विवाहित मैथिल महिलाको घुइँचो लागेको छ ।
यसैबीच देवी दुर्गाका नवनिर्मित प्रतिमामा आँखा उघार्ने विधिसमेत सम्पन्न गरिएको छ । मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको अष्टमीका दिन बेलको डाँठबाट आँखा उघार्ने प्रचलने छ ।

दुर्गाका प्रतिमामा आज आँखाको नानी थपिने

मिथिलाञ्चलका दुर्गा मन्दिरमा आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ ।मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन रहेको छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ ।प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । सप्तमीका दिन पूजा गरेपछि मात्र आँखा राखिने चलन छ ।यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रण गरिन्छ, जसलाई बेलनौती भनिन्छ । यसअन्तर्गत बेलका रुखको एउटै हाँगामा फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रण गरिन्छ ।सो विधिका लागि तय गरिएको बेलको रुखतिर बाजागाजाका साथ श्रद्धालुहरू गीतनाद भजन गाउँदै पुग्ने गर्छन् ।सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ । शिव, पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकैपटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजास्थलतिर लगिन्छ । पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखिन्छ ।अष्टमी प्रारम्भ भएपछि सोही बेलको डाँठबाट दुर्गाको आँखाको नानी थपिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।