Tuesday, November 1, 2016

सत्ताका लागि हुने संविधान संशोधनमा एमालेले साथ दिँदैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता प्राप्तिका लागि हुने संविधान संशोधनमा एमालेले साथ दिन नसक्ने बताएका छन्। निवास बालकोटमा रिपोटर्स क्लबले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशका लागि आवश्यक परेमा मात्रै संविधान संशोधन गर्न एमाले तयार रहेको बताए। ‘देश र जनताको हितमा मात्रै संविधान संशोधन हुन्छ,’ उनले भने,‘सकरात्मक संशोधनका पक्षमा एमाले रहेको छ।’

संविधान संशोधन जरुरी भएमा संशोधन गर्न सकिने उनले बताए। कुनै प्रकारको दबाब र प्रयासबाट देशलाई अहित हुने गरि संविधान संशोधन नहुने उनले बताए।दलहरु मिलेर अघि बढेमा तीन वर्षमा नै देश सम्पन्न हुन सक्ने भन्दै उनले भने,‘त्यसका लागि दलहरुबीच उच्चस्तरको समझदारी हुन जरुरी छ। जात जातका नाममा क्षेत्रका नाममा हाम्रो विविधतालाई फुटाएर हुँदैन।’ 
जातको पहिचान, भूगोलको पहिचानका नाममा अनेक प्रकारका इन्जेक्सन दिएर मुलुकलाई प्रयोगको थलो बनाउन नहुने उनले बताए। उनले अहिलेसम्म सत्तापक्षसँग संविधान संशाेधनबारे छलफल नै नभएको बताए।
 
भारतबाट राजा जोगाउन खोज्ने जोगी आए
अध्यक्ष ओलीले पशुपतिको बनाकालीमा भएको हिन्दु सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्रलाई महाराज भनिएकोमा आपत्ति जनाए। ‘नेपाली जनताले फालेको राजतन्त्रलाई भारतबाट जोगीहरु आएर जोगाउन सकिन्छ?’ उनले भने, ‘रामनाम जपेर खरानी धसेर धर्म र संस्कृतिका नाममा राजतन्त्र फर्काउने प्रयास भइरहेको छ।’

आफूलाई निकै ठुला गणतन्त्रवादी ठान्नेहरुको सरकारले समेत यसबारेमा कुनै प्रतिक्रिया नदिएको भन्दै उनले आपत्ति जनाए। ‘विभिन्न नाउमा हाम्रो संस्कृती माथी हमला भएको छ,’उनले भने,‘परम्परा र संस्कृतिका नाममा प्रतिगामी कामलाई समेत छुट दिन सकिन्न।’

धर्म र संस्कृतिलाई राजनीतिमा प्रयोग गर्ने प्रवृत्तिलाई रोक्न पर्ने उनले बताए।  लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा कांग्रेसलाई कसरी मनाउदै हुनुहुन्छ? भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘तपाईँहरु देउसी खेल्नुस् त्यसपछि माहोल बन्छ। तपाईँहरुको देउसी शक्तिशाली छ।’

मुखर्जी एकैदिन जनकपुर र पोखरा जाने

भारतका राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षालाई हामीले मुख्य प्राथमिकता भएकाले त्यसको जिम्मेवारीका साथ सम्पूर्ण तयारी पूरा गरिएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। उनको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो। यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेका थिए।
भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ। उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन्। राष्ट्रपति मुखर्जीको स्वागतका लागि सबै प्रबन्ध पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछन्। परराष्ट्रमन्त्री डा महतका अनुसार राष्ट्रपति मुखर्जीको पुग्ने तथा सहभागी हुने सबै कार्यक्रम व्यवस्थित गरिएको छ। त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन्। उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।
भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ। भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ। उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन्।
राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उनीसँग शिष्टाचार भेट गर्नेछन्। भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ। सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानेछन्। राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

दाजुभाई–दिदीवहिनी सद्भावपूर्वक ‘भाईटीका’ मनाइँदै

नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि पाचाैं अर्थात् अन्तिम दिन भाईटीका। विशेषगरी दाजुभाई र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाईटीका लगाएर मनाउने दिन।
तिहारको पाँचौं दिन मंगलबार भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठापुर्वक सुखशान्ति दिर्घायु तथा श्रद्धा र ऐश्वर्यको कामना गर्दै चितवनमा पनि मनाईएको छ।धादिंङ गजुरीबाट चितवनमा भाईटीकाका लागि आउनुभएकी पार्वती अर्याल मुख्यगरी दाजुभाई र दिदी बहिनीको सम्बन्धको प्रतिक भाईटीका भएको बताए। परम्पराअनुसार दिदिवहिनीहरुले भाईलाई पूजा गरी सप्तरंगी टीका लगाएर मिष्ठान्न भोजन गराई भाईटीका मनाईन्छ ।यस्तै, दाजुभाईले पनि दिदी वहिनीलाई यसैगरी टीका लगाएर गच्छेअनुपार दक्षिणा तथा उपहार दिने र आपसी सौहार्द र खुसी साटेर भाइटीका मनाउने गरिन्छ।पंडित हरिप्रसाद शर्मा दाजुभाई दिदीवहिनीको सम्बन्धको प्रतिक नै भाईटीका भएको बताउँदै तिहारले सुखशान्ति, समृद्धि र भाईचाराको विकासको कामना गरेर मनाईने बताउँछन्। चितवनमा कतिपयले भाइटीकाको उत्तम समय ११ बजेर ५२ मिनेटमै लगाएका छन् भने कतिपय दिदीवहिनीहरुले केही अघि र केहीपछि पनि टीका लगाएका छन् । समयमै टीका लगाएको बताउनु हुने गोमा न्यौपाने दिदी बहिनी र दाजुभाईका लागि दर्शैं भन्दा पनि महत्वपूर्ण चाड तिहार भएको बताउँछन्।‘टाढा गएका दाईभाईहरु घरमा आउँछन्, दिदीवहिनीहरुको भेट हुन्छ, बर्षदिनभरीको सुखदुःख साट्ने दिन पनि तिहार हो,’ न्यौपाने भन्छन्, ‘दाजुभाईले दिदीवहिनी र दिदीवहिनीले दाजुभाईलाई टिका लगाएर पुज्ने दिन भएकाले भाइटिकाको महत्व ठूलो छ ।’बुधबार टीकाका बेला दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर पुजा गर्छन् । सप्तरंगी टीका लगाई मखमली, सयपत्री तथा गोदावरीको माला लगाइदिन्छन् । त्यसपछि मिष्ठान्नहरु विभिन्न प्रकारका मसला ओखर, कटुस, रोटी, चकलेट, फलफूल, नरिवल, मकैफूला तथा अन्य खानेकुराहरु दिईन्छ। चितवन शक्तिखोरमा पाँच दाजुभाईलाई टिका लगाउन आउनुभएकी अम्बिका घिमिरे अरु बेला माईत आउन नपाएपनि तिहारमा नियमित आउने गरेको बताउँछन्। यो पटक पनि उहाँले भाईलाई सप्तरंगी टीकाले रंग्याए। मखमली र सयपत्री माला लगाई दीर्घायु तथा सुस्वास्थ्यको कामना गरिएको घिमिरेले बताउनुभयो । दाजुभाईले पनि टिका लगाई गच्छे अनुसारको दक्षिणा दिएर शुभकामना साटासाट भएको उनी बताउँछन्। स्थानीय लोकनाथ ढुंगाना विहे गरेर टाढा गएका दिदीबहिनीहरु समेत आउने र दाजुभाई समेत कामको सिलसिलामा बाहिर भएपनि यो बेला आउने हुँदा तिहार आफैंमा सौहार्दताको चाडको रुपमा आफुले लिने गरेको बताउँछन्।

भारतीय राष्ट्रपति भ्रमण सवारी पूर्वाभ्यास

काठमाडौँ– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको मंगलबार पूर्व अभ्यास गरिएको छ।
मंगलबारको सवारी पूर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो।नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पूर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो।राष्ट्रिय सभागृहबाट लैनचौरस्थित भारतीय दूतावास तथा लैनचौरमै रहेको रेडिसन होटल पुगी राष्ट्रपति कार्यालय, शितलनिवासमा पूर्व अभ्यास सवारी चलाइएको थियो।पुर्व अभ्यास सवारी शितलनिवासबाट बत्तिसपुतलीस्थित होटल द्वारीकाज पुगी पशुपति मन्दिरसम्म गएको थियो । पशुपति मन्दिरबाट राष्ट्रपति मुखर्जी बस्ने भनिएको बौद्धस्थित होटल हायात पुगी मंगलबार सवारी पूर्व अभ्यास समापन भएको थियो । सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्सलगायतको व्यवस्था गरिनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले राष्ट्रपति मुखर्जी पुग्ने स्थानहरुमा आज सवारी आवागमनको पूर्व अभ्यास गरिएको जानकारी दिए। सवारी पूर्व अभ्यासका कारण केही समय सवारी अवरोध हुँदा तिहारमा टिका लगाउन हिँडेका सर्वसाधारणले कठिनाई भोग्नु परेको थियो । तिहारका कारण सडकमा कम सवारी गुडेकाले अन्य समयजस्तो लामो जाम भने सर्वसाधारणले भोग्नु परेन। भ्रमणको क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

राष्ट्रपति भण्डारीबाट भाइटीका प्रदान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिन्।भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो। सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई दिएका थिए।साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेलाई टीका तथा माला लगाई पूजा गरेका थिए। भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्। राष्ट्रपति भण्डारीले भनिन्– 'सबैकोे सुखशान्ति भएमात्र देशको समृद्धि हुन्छ ।'
मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्नेमा जोड दिइन्।